Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

सेलरोटी ‘कोसेली’ बाट सम्पन्नता तर्फ

पहिले हाङ सेकुवा चलाएँ, ठिकै भयाे । मैले थोरै लगानीबाट नयाँ काम गर्नु थियो । त्यसपछि सेलरोटी बनाउँने निधो गरेँ। बनाउँन त बनाउँने तर, कहाँ र कसरी बेच्ने ? धेरै सोचे । आफन्तबाट सुरु गर्ने योजना बनाएँ । २ किलो चालम मिक्सरमा पिसे । त्यसबाट ५ प्याकेट सेलरोटी तयार भयो । आफन्त र दाइका साथीलाई हाङ स्टोरमा आउन अनुरोध गर्दै फोन गरेँ ।

सबैको एउटै प्रश्न थियो, किन ?
घरमा तयार गरेको सेल स्कुटरमा बोकेर दाजुको पसलमा पुगेँ । सधैँझै दाजुको पसलमा ग्राहकको भिड थियो ।
मैले लगेको पाँच पोका सेल एकै छिनमा सकियो । ओहो ! कस्तो राम्रो सेल भन्दै पसलमा आएका ग्राहकहरूले हारालुछ गरे । त्यो देखेपछि आत्मविश्वास बढ्यो ।

‘सरप्राईज’ दिन बोलाएको दाइका साथी र आफन्तले सेलरोटी देख्न समेत पाउनु भएन । खै त ‘सरप्राइज’ भन्दै आउनुभयो । उहाँहरूलाई अर्को दिन ल्याईदिने बाचा गर्दै बिदा गरेँ ।

आफ्नै प्रशंसा सुनेर हौँसिएकी म अर्को दिन साथीको सुपर मार्केटमा सेलरोटी बोकेर गएँ । तर, साथीले मेरो कुरा सुन्दै नसुनी भन्यो, पसल गरेको मान्छेले के को सेल व्यापार गर्न आँटेको ?
साथीलाई अनुरोध गर्दै भनेँ ‘पहिला सेल हेर र खाउ, विक्री भए हुन्छ नभए म लैजान्छु अनि भनौँला ।’ त्यहाँबाट पनि प्रशंसा नै मिल्यो । कोसेलीको सेलरोटी तयार गरेको मितिले ५ दिनसम्म खान मिल्छ ।
त्यो बेला म बालुवाटारमा भाडाको घरमा बस्थेँ । तेस्रो दिन सेल रोटी लिएर नजिकैको किराना पसलमा पुगेँ। त्यहाँबाट पनि सामान फर्केर आएन ।

चौथो दिनदेखि पसलबाट आफै फोन आउन थाल्यो, भोली मलाई पाँच प्याकेट, छ प्याकेट …. ।
सेल बनाउन र बेच्न सुरू गर्दा मेरो कान्छो छोरा ४ महिनाको थियो । राती नै उठेर सेल पकाउँथे, बिहान पाँच बजे बजार पुगिसक्थेँ । कामको प्रशंसा चारैतिरबाट हुनथाल्यो । बजारमा माग पनि बढ्यो ।
केही समय दर्ता नगरी चलेको मेरो व्यवसायलाई कोशेली नाम दिएँ । सेल हाम्रो परम्परा अनुसार कोसेलीकै रुपमा प्रयोगमा आउँछ ।

यो सीप मैले साथीहरूबाट सिकेको हो । सुरूका दिनको सम्झना अहिले आउँछ, सेल स्कूटरमा बोकेर पसल पसल हिँडदाको । बजार चार तिर थियो । बीस प्याकेट सेल स्कूटरमा बोकेर दुई ठाउँ पुग्दासम्म ठिकै हुन्थ्यो, तेस्रो पसल पुग्दा सेल भाँचिएर टुक्राटुक्रा हुन्थ्यो र फिर्ता ल्याउनु पथ्र्यो ।


मेरो जुन ठाउँमा बजार थियो त्यो ठाउँको बाटो पीच थिएन । यसले गर्दा ठूलो नोक्सानमात्र होइन आएको अर्डर पनि पु-याउन मुश्किल हुन्थ्यो । लगानी अनुसार गाडी किन्न आर्थिक अवस्था थिएन । तर, मैले गाडीलाई भाडामा ल्याउने विचार गरे । भ्यानवालासँग कुरा भयो । भ्यानचालकले भने पहिला ‘बाटो हेर्छु अनि मात्र भन्छु ।’ उनी मेरो सेलरोटी बेच्ने बजारको बाटो सुन्दै आनाकानी गर्न थाले । एउटा सरस्वती नगर, अर्को नारायण थान र बालुबाटार उनले हामीलाई विश्वास नगरे जस्तो गरी प्रश्न गरे । त्यसपछि मैले भनेँ ‘तपाई रुट कता के भन्नु भन्दा पैसा कति चाहियो भन्नुस् ?’ चालकले केही समय सोचे अनि भने ‘तपाई दिनको हजार सेल बेच्नुहुन्छ मलाई पनि हजार रुपैयाँ नै चाहिन्छ ।’ मैले हजार रुपैयाँ नै दिन्छु भनेँ । उनले मलाई अविश्वास गरेको देखेपछि भनेँ ‘सेल कति बिक्री हुन्छ वा हुँदैन त्यसमा सरोकार भएन । तपाईलाई दिनको एक हजार रुपैयाँ दिन सकिन भने एक महिनापछि तपाईले गाडी नदिनु होला ।’ सुरूमा एकदिनमै १५ देखि २० हजार रुपैयाँको सेलरोटी विक्री हुन्थ्यो । त्यसपछि अर्को गाडी थपेँ । उपत्यकाका एकसय भन्दा धेरै सुपरमार्केटमा कोसेलीले सेल वितरण गर्दै आएको थियो । त्यति बेला होलसेल पसलहरू कोसेलीको सेलका लागि लाइनमा बस्थे । हामीलाई भ्याई नभ्याई थियो । उनीहरू आफ्नै रेट लिस्ट लिएर आउँथे । उनीहरूसँग कारोबारको बारेमा छलफल गर्दागर्दै अरु काम गर्ने मौका हुँदैनथ्यो मलाई । नभएको दिनमा पनि ४० देखि ४५ हजार रुपैयाँको व्यापार हुन्थ्यो ।

कोसेली लेखेको भ्यान बजारमा घुम्न थाल्यो । मैले सोच्दै नसोचेको सफलता हात प-यो । म सञ्चार माध्यममा कहिल्यै आइन । किनकी प्रचार भन्दा काम नै मेरो लागि ठूलो थियो । एकजना कर्मचारीले काम हेरी महिनामा १५ देखि २० हजार रुपैयाँ तलब खान्थे । तर, बिचमा मैले समय दिन नसक्दा व्यापारमा केही समस्या आयो । किन ? अहिले नभनौ होला । मेरो त्यो बेला दशा नै विग्रेको मान्नुपर्छ ।

आफ्नो घर नहुँनु अर्को बिडम्बना थियो भनौं । घर कालो हुन्छ भन्दै पहिलो घरबेटीले सेल पकाउन दिएनन् । अर्को घरमा सरेँ । त्यहाँ पनि सेल किन्ने ग्राहकहरू घरमै आउँन थाले । घरबेटीले टहरा नै बजार हुन थाल्यो अब दिदैँनौ भने, त्यहाँबाट पनि हिड्नु प-यो । कर्मचारी पनि बढाउँदै लगे । त्यो बेलासम्म मेरोमा काम गर्ने २२ जना थिए ।

पहिला कोसेलीका तीन वटा फ्याक्ट्री थिए । केही समयको अन्तरालपछि अहिले फेरी बजारमा आएकी छु । यात्रा हो, कहिले उकालो त कहिले ओरालो । विचलन नभई यात्रा गर्ने नै सफल हुन्छ ।

अहिले मैले सबै कुरा छोडेर ४ वर्षदेखि सेलकै काम गरेकी छु । कोसेलीमा ११ जना कर्मचारी छन् । माग धेरै छ, तर, पुरा गर्न सकिएको छैन ।

म खोटाङमा जन्मिएकी हुँ । नेपालीको बानी अगाडी कति राम्रो भन्छन् तर, भित्रबाट नकारात्मक दृष्टिले हेरेका हुन्छन् । कामलाई हेर्ने दृष्टिकोण हाम्रो समाजमा अत्यन्तै भेदभावपूर्ण छ । सुरुमा पसलेहरूलाई सम्झाउँन निकै कठिन भएको थियो । कुनै ग्राहकले सेलको बोरमा केही भन्यो कि अर्को दिन त्यही पसलेले मलाई एकदमै ‘डोमिनेट’ गरेर बोल्थ्यो ।

यहाँसम्मकी तपाईको सेल अबदेखि नल्याउनु भन्ने पनि नभेटिएका होइनन् । मानौं उसले सेल राखिदिएन भने मेरो गाँस नै खोसिन्छ जस्तो । बजार व्यवस्थापनमा दिनरात नभनी आफैँ खटेँ ।


कतिपय मानिसहरूले मैले खानै नपाए जस्तो गरेर हेर्ने र हेप्ने पनि गर्थे ।
म आफैँ स्कुटर चलाएर जान्थेँ । कामको सम्मान नगर्ने र सेल बेच्ने मान्छे खानै नपाएको भन्ने सोच राख्ने मान्छेको मुखमा ताल्चा लगाउन कहिले काँही महङ्गा घडी र सुनका गहना लगाएर पनि मार्केटिङ गरेँ ।

सेल बेच्ने केटी भन्दै कतिपयले खिल्ली उडाउँथे । तर, मैले मेरो कामलाई सँधै अगाडी राखेँ र ती मान्छेको वास्तै गरिनँ । काम गर्दै जाँदा पहिला मलाई निरुत्साहित गर्ने मान्छेले अहिले प्रोत्साहन् गर्छन् ।
अचम्मको कुरा मलाई सबैभन्दा छिःछि गर्ने पसलेले अहिले सबैभन्दा धेरै सेल बेच्छन् । यसमा आफूलाई सफल भएको ठान्छु ।

हाम्रो समाजले अहिले पनि महिलाले फ्याक्ट्री चलाउँछन् भन्ने सोच्दैन । म बजारमा जाँदा ग्राहकले ‘समयमा अर्डर पुरा गर्न तिम्रो साहुलाई भनिदिनु’ भन्छन् । त्यो बेला मैले कहिल्यै पनि ‘साहु मै हो’ भनिन् । अहिले भने त्यस्तो मेहनत गर्नु पर्दैन कोसेली भन्ने वितिकै बोलाउँछन् ।

मेरो ४ महिनाको बच्चा छोडेर म सेलको बजार प्रबद्र्धनका लागि विहानदेखि बेलुकासम्म हिँड्थे । साथीहरूले सुत्केरी पनि यतिबेलासम्म बजारमा भनेर गाली गर्थे । बजारबाट  नौ बजे घर फर्किन्थेँ । चार महिनाको बाबु सुतिरहेको हुन्थ्यो ।
तपाईंलाई विश्वास लाग्दैन होला । मैले मेरो छोरालाई स्कुल ड्रेसमा स्कुल भर्ना भएको तीन महिनापछि मात्रै देख्न पाएँ । म राती फ्याक्ट्रीबाट घर जाँदा छोरा सुतिसक्थ्यो । बिहान उ नउठ्दै हिँड्थे । घर पुग्दा स्कुल गईसक्थ्यो ।

एक दिन म एउटा चिया पसलमा चिया खाइरहेकी थिएँ । मेरो भन्दा अघिल्लो टेबलमा बसेका अन्दाजी ४५ वर्षका एकजना पुरुषले कोसेलीको बारेमा कुरा गरिरहेका थिए । मानाैँ उनले मलाई चिन्छन् जस्तो गरी । तर, उनले मलाई चिनेका थिएनन् । उनी भन्दै थिए ‘धुम्बाराहीमा एउटी केटी छे, एकदमै राम्रो सेलरोटीको फ्याक्ट्री चलाएकी छे, मान्नुपर्छ त्यसलाई ।’

उनले मलाई गरेको प्रशंसा सुनेपछि मैले सारा दुःख विर्से । पसलबाट बाहिर निस्कदा ठूलो भारी बिसाए जस्तो भयो । घरमा आएर श्रीमानलाई सुनाएँ । यसले मलाई आफ्नो बाटो देखाईदियो ।

श्रीमानको ठूलो सहयोग र मेरो मेहनतले कोसेली तपाईहरूसँगै छ । पाईपाई गरेर हिसाब गर्ने हो भने विदेशमा राम्रो कमाउने बराबरको कमाइ मेरो पनि हुन्छ । पैसा मात्र होइन, म त आफ्नै परिवारसँग बसेर आफ्नै देशमा काम गरिरहेकी छु ।

विदेश जान लिएको एक लाख ऋणबाटै ६ होटलको मालिक

शंकर भण्डारी होटल व्यवसायी हुन् । गुल्मीको रुपाकोट–३ मा जन्मेका भण्डारी, उमेरले भर्खरै ३३ टेकेका छन् । भण्डारीले ०६३ सालमा काठमाडौंको सुन्धारामा किराना पसलबाट सुरु गरेका थिए । यो नौ वर्षमा उनले काठमाडौं र लुम्बिनीमा ६ वटा स्तरीय होटल सञ्चालन गरिरहेका छन् । यसबाहेक सेकुवा रेस्टुरेन्ट र ट्राभल एन्ड टुर्स पनि सञ्चालन गरेका छन् । उनै भण्डारीसँग रातोपाटी सहकर्मी भरत पाण्डेयले गरेको कुराकानीको सम्पादित अंश :

होटल व्यवसायमा कसरी प्रवेश गर्नुभयो ?
गाउँमा द्वन्द्व चर्किएको थियो । हामीलाई कि त माओवादी बनेर युद्धमा जानुपर्ने कि गाउँ छाड्नुपर्ने अवस्था आयो । त्यो अवस्थामा म २०/२२ वर्षको अल्लारे केटो थिएँ । जनयुद्धतिर मन गएन । घरबाट पनि दबाब आयो, गाउँ छाड्ने । आफन्तको सहयोगमा कैलाली पुगेँ । त्यहाँ होटलको अनुभव गरेँ । होटल व्यवसायको अनुभव पछि ०६०/६१ तिर पार्टनरसिपमा होटल गरियो । केही समय पार्टनरसिपमा गरेपछि मैले असहज महसुस गरेँ । ममा जुन क्षमता र रुचि थियो, उत्साह थियो, त्यो पार्टनरमा गर्न सकिनँ । त्यहाँ मैले अरुको अधिनमा रहेको जस्तो लाग्यो । अनि, आफ्नै किराना पसल सञ्चालन गरेँ । सुरुमा जम्मा एक लाख रुपैयाँमा किराना पसल सुरु गरेको हुँ । मलाई होटल व्यवसायमा अनुभव भएकाले पर्यटन सेक्टरमै लाग्न मन लाग्यो । अर्को वर्ष सुन्धारा बागदरबारमा होटल दर्ता गरेर सुरु गरेँ ।
खासमा मेरो नातेदार होटललाइनमा भएकाले मैले सुरुमा काम सिक्ने मौका पाएँ । कामको अनुभव बटुलेपछि होटल व्यवसायमै लागेँ । मैले जुन सोँच बनाएको थिएँ, पार्टनरसिपमा गर्दा त्यो सोँचअनुसार गर्न सकिनँ, त्यसैले सुरुमा पैसा जम्मा गर्न एक वर्ष किराना पसल गरेँ । पछि चाहिँ होटल व्यवसायमै लागेँ ।

तपाईंले आफैँ व्यवसाय सुरु गरेको नौ वर्ष भयो, कति सफल भएजस्तो लाग्छ ?
मैले कमाएको जति होटल व्यवसायमै लगानी गर्दै गरेँ । मैले आज १० हजार कमाएँ भने भोलि २० हजार लगानी कसरी गर्ने होला भनेर सोच्छु । यी ६ वटा होटलमा पछिल्लोपटक साझेदारीमा शाखा खोल्ने योजनामा छु ।
सुरुमा मैले बागदरबारमा होटल प्रेसिडेन्ट दर्ता गरेर सुरु गरेको अहिले सुन्धारामा चारवटा होटल, बुद्धजन्मस्थल लुम्बिनीमा एउटा, काठमाडौं नयाँ वसपार्कमा एउटा गरी ६ वटा होटल र सुन्धारामा आधुनिक सेकुवा कर्नर छ । मैले २०६४ वैशाख २७ गते आफ्नै होटल सुरु गरेँ । करिब डेढ वर्षको अवधिमा त्यसलाई पूर्ण रूपमा स्थापित गरिसेकको थिएँ । त्यसपछि ग्राहकलाई पर्याप्त सेवा दिन नसकेपछि अर्को थपेँ । त्यतिबेला सुन्धारामै सबैभन्दा बढी कोठा भएको होटल दी प्रेसिडेन्टलाई अपरेटिङमा ल्याएँ र सेवा प्रदान गरेँ । त्यसको एक डेढ वर्षपछि मलाई के लाग्यो भने हामी काठमाडौंमा मात्र सीमित भएर हुँदैन, देशका विभिन्न ठाउँमा पर्यटकलाई पनि सेवा दिनुपर्छ भनेर भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ०६७ सालमा होटल सुरु गरेँ, होटल प्रेसिडेन्टकै नामबाट । त्यसपछि सुन्धारामै मेरो व्यवसाय विस्तार गर्न २०६८ सालमा होटल भ्यु रोड सोबाट सेवा थप गरेँ । २०७० सालमा सुन्धारा क्षेत्रमै स्तरीय सेकुवा कर्नर सुरु गरेँ, पूरै पारिवारिक वातावरण र एकदम नेचुरल स्वादमा । मुख्य रुपमा सेकुवा भए पनि रेस्टृुरेस्टमा खाजाका अन्य आइटमहरू पनि । त्यसपछि २०७२ वैशाखमा छैटौँ शाखाको रूपमा काठमाडौंको बालाजु क्षेत्रलाई मध्यनजर गरी नयाँ होटल सुरु गरेको छु । अहिलेसम्म मानिसलाई बसपार्कमा स्तरीय होटल छैन÷चाहिँदैन भन्ने जुन मानसिकता छ, त्यो मानसिकता अन्त्य गर्न बसपार्क क्षेत्रमा स्तरीय होटल आवश्यक छ र हुनुपर्छ भनेर सुरु गरेको हुँ ।
भारतीय ठूला गाडीहरू उपत्यका प्रवेशपछि बसपार्कमा बाहेक अन्यत्र राम्रो पार्किङको सुविधा छैन । अन्य ठाउँमा ती गाडी जान नसक्ने भएकाले भारतीय आगन्तुकलाई लक्षित गरेर बालाजुमा स्तरीय होटल सुरु गरेको हुँ । मेरो मुख्य उद्देश्य व्यवसायसँगै पर्यटन विकासलाई पनि टेवा पु¥याउनु हो । त्यसैले २०६९ सालमै पर्यटन विकासका लागि सहयोग पुगोस भनेर ठमेलमा एस नेपाल टुर्स एन्ड ट्राभल्स पनि सुरु गरेको छु ।

यो छोटो अवधिमै होटल व्यवसायको क्षेत्रमा राम्रै उपलब्धि कमाउनुभयो, यो अवधिमा कस्ता–कस्ता अप्ठेरा सामना गर्नुप¥यो ?
नेपालको परिवेश, यहाँको अर्थनीति आदि यहाँका व्यवसायीका लागि प्रतिकूल नै छन् भन्नुपर्छ । राज्यले व्यवसायीलाई न्यूनतम सेवा–सुविधा पनि उपलब्ध गराएको छैन भन्दा हुन्छ । २४ घन्टामा १८ घन्टा लोडसेडिङको भार छ । सुन्धारा क्षेत्रमा पानीको पाइपलाइन छैन । दैनिक रुपमा ट्यांकरबाट पानी सप्लाई गर्नुपर्छ । त्यही पनि कहिले पानी ट्यांकरहरूको आन्दोलन, कहिले मजदुर हडताल, होटल व्यवसाय हरबखत सफा सुग्घर हुनपर्छ, यहाँ धेरैजसो सरसफाई मजदुरको आन्दोलन । आन्दोलन नै आन्दोलनको मारमा होटल व्यवसाय परेको छ । यस्तो अवस्थामा पनि हामीले आफ्नो व्यवसायलाई कसरी जोगाइराख्ने भन्ने समस्या भएको छ । चुनौतीसँग लड्दै–भिड्दै सामना गरेर अगाडि बढिरहेका छौँ ।
राज्यले आधारभूत सुविधा दिँदैन तर कसरी बढी कर उठाउने मात्रैमा सरकारको ध्यान छ । होटल व्यवसाय भएपछि जे–जस्तो पनि सहनुप¥यो । उपत्यकामा कुनै घटना घट्यो भने रातको १२ वा १ बजेपछि चेकिङ गर्नुपर्ने भन्दै पुलिसले होटल खोल्न आउँछ । अनि साधु, सन्त, महन्त, गुन्डा, चोर, डाँका सबै किसिमका मान्छे आउँछन् । सबैको फेस गरेर व्यवसाय सञ्चालन गर्नुपर्छ । अहिलेको महँगी उस्तै छ । अहिले युवाहरू विदेश जाने लहर पनि उस्तै छ जसले गर्दा हामीजस्ता मध्यमवर्गका होटलहरूलाई कामदारको अभाव । म्यानपावरमा पासपोर्ट बुझाएर जागिर खोज्न आउँछन् युवाहरू । पहिला त १÷२ वर्ष गर्छु भन्दै आउँछन् । अनि जब काम सिक्छन्, तब मेरो त भिसा आयो भनेर हिँडिहाल्छन् ।
होटलका कामदार त नेपालमा रेल–वे स्टेसनमा झोला समाएर उभिएको यात्रुजस्तै छन् । एकैछिन उभिरहने, रेल आयो कि टाप । चुनौती नै चुनौतीको बीचमा रहेको होटलमा उनीहरूलाई यहीँ राख्न नसक्नु हाम्रो पनि विवशता छ । किनकि अलि राम्रो सेवा–सुविधा भएन भने बन्द–हडताल गरिरहन्छन् । जसोतसो म्यानेज गरेर चुनौतीको सामना गरेर उनीहरूलाई दक्ष बनायो हिँडिहाल्छन् ।

अहिले युवाहरू विदेश जाने लहरजस्तै छ । तर, तपाईं यसरी नेपालमै होटल व्यवसाय गरेर सफल हुनुभयो, सफलताको कारण ?
जुनसुकै काम गर्ने पनि पैसा कमाउनका लािग हो । त्यसमा पनि हाम्रो व्यवसाय सेवाग्राहीलाई खुवाउने, बास बसाउने गरेर खुसी बनाएर बल्ल अन्त्यमा पैसा लिने हो । होटल क्षेत्रको सूत्र नै यही हो । मैले यसैभित्र रहेर सफा, सुग्घर राखेर सेवा–सुविधा दिएर ग्राहकलाई एकदम खुसी बनाएर, मिजासिलो व्यवहार गरेकाले मेरो होटलहरू ग्राहकको रोजाइमा परेका हुन् । त्यसैअनुसार मैले सेवा विस्तार गर्दै गएँ । नेपाली समाजमा २÷४ पैसा कमाएपछि जग्गा किन्ने, घर किन्ने बानी छ । तर मैले त्यसो गरिनँ । कमाएको पैसा थप उत्पादनमूलक कामका लागि होटलमै लगानी गरेँ ।
अर्को कुरा मेहनेत हो । मेहनेतका लागि पनि क्षेत्र चयन गर्न सक्नुप¥यो । मेरो क्षमता, रुचि, सक्षमता अनुसार क्षेत्र चयन गरेर व्यवसाय सुरु गर्नुप¥यो । मैले अहिले पनि आफैँ काम गर्छु । म काममा आफैँ कस्सिएको देखेर मेरा कर्मचारी साथीहरू पनि उत्साही भएर काम गर्नुहुन्छ ।
हो सबै क्षेत्रमा नकारात्मक कुराहरू पनि छन् । पुलिसले छापा हानेर दुःख दिने, चोर, फटाहा, अपराधी पनि पहिला चिनिँदैनन् । तर लुक्न, ज्यान जोगाउन होटलमै आउने, अझ कतिसम्म भने आत्महत्या गर्नेहरू पनि होटलमै पुग्ने अवस्था छ । मजदुर पाइँदैन, पानीको अभाव, बन्द, हडताल, आन्दोलन पनि यही क्षेत्रमा बढी । तर यी सबै नकारात्मक कुराहरूलाई पनि सकारात्मक तरिकाले सोँचेर आँट र साहस गरियो भने सफल हुन सकिन्छ । त्यही नकारात्मक कुरालाई मैले सकारात्मक तरिकाले सोँचेर फेस गरेँ र अहिले यहाँसम्म आएको छु । भोलि चुनौती कसरी सामना गर्ने र बढीभन्दा बढी नेपालीलाई यहीँ नै रोजगारी कसरी दिने भन्ने कुरा मेरो पहिलो प्राथमिकतामा छ ।

काम ग¥यो भने त सफल भइँदो रहेछ, विदेश जाने युवालाई के भन्नुहुन्छ ?
खासमा भन्ने हो भने म पनि विदेश जानका लागि लिएको ऋणबाट व्यवसाय सुरु गरेको मान्छे हुँ । हाम्रो गाउँ समाजको संस्कार अनुसार म पनि विदेशको लाइनमा थिएँ । गाउँमा व्यवसाय गर्छु भन्दा कसैले सहयोग नगर्ने, तर भिसा लाग्यो भनेपछि जति पनि ऋण दिने अवस्था छ । ठूलाबडाका नाउँमा साहु–महाजनले गाउँमा त्यो परिपाटी बसाएका छन् । किनकि आफ्नो लगानी सुरक्षित र बढी प्रतिफल दिने होस् । त्यो अवस्थामा मैले बुबासँग सल्लाह गरेर व्यवसायका लागि भनेर ऋण माग्दा पाइनँ । तर बुबाले छोराको भिसा लाग्यो भनेर ऋण खोज्नुभएको पाउनुभयो । हामीले पनि त्यही भनेर ऋण खोज्यौँ । त्यही एक लाख रुपैयाँबाट मैले व्यवसाय सुरु गरेको हुँ ।
अहिलेको अवस्थामा झन्डै दैनिक १७ सय युवाहरू खाडी मुलुक जान्छन् । अहिले मेरो व्यवसाय जुन अवस्थामा छ, योभन्दा सुरु गर्ने बेला झन् ठूलो समस्या थियो । भर्खरै द्वन्द्व सकिएको थियो । तर फेरि दीर्घकालीन शान्ति हुने हो वा फेरि युद्ध हुने हो भन्ने अवस्था थियो । ठूला होटल, उद्योग, कलकारखाना बन्द हुँदै थिए । त्यो बेला मैले व्यवसाय गर्नुपर्छ भनेर एक लाख ऋण खोजेर सुरु गरेँ । तर अहिले धेरै पूर्वाधार विकास भएको छ । सहज छ ।
तर अध्ययनमा तगडा युवाहरू युरोप अमेरिका जान्छन् । ताकत भएका तर शिक्षा नभएकाहरू खाडी मुलुक । यसलाई रोक्न के गर्ने भनेर नीति बनाएर लागिएन भने देशमा समस्या आउँछ । शान्ति प्रक्रियाले गति लिएको अवस्थामा देशमा वृद्धवृद्धा र काम गर्न नसक्ने मात्र छन् । यो अवस्थामा जोश, जाँगर भएका युवाहरू यहीँ आफ्नै माटोमा रमाउनुपर्छ ।
अहिले त युवालाई विदेश पठाउने र रेमिट्यान्समा राजनीतिक दलहरू रमाइरहने चलनको अन्त्य हुनुपर्छ । पछिल्लोपटक निःशुल्क भिसा प्रक्रिया भन्ने कुराले पनि युवालाई यहीँ बसेर केही गर्ने होइन, जति सक्यो विदेश पलायन गराउने भन्ने जस्तो लाग्छ ।

विदेश जान छाडेर यहीँ व्यवसाय गर्न चाहने युवालाई तपाईंको सहयोग, सुझा कस्तो रहन्छ ?
वास्तवमा धेरैभन्दा धेरै युवा मजस्तै स्वरोजगार बनून भन्ने म चाहन्छु । त्यसका लागि आफ्नो तर्फबाट गर्न सक्ने सहयोगका लागि म तत्पर छु । यसका लागि जुनसुकै व्यवसाय गर्न चाहना भए पनि पहिला आफ्नो सीप, क्षमता र रुचिअनुसारको व्यवसाय रोज्नुस् । यदि होटल व्यवसाय नै गर्न चाहनुहुन्छ भने पनि आउनुहोस् । यो अरु व्यवसायभन्दा अलि फरक हो । कति कुरा सार्वजनिक गर्न मिल्छ कति मिल्दैन । यदि तपाईँ इच्छुक हुनुहुन्छ भने आउनुस् । म हरतरहले सहयोग गर्न तयार छु । आफूले सिकेको अनुभवबाट सहयोग गर्न तयार छु् । यसले मलाई आत्मसन्तुष्टि पनि हुन्छ । किनकि म धेरैभन्दा धेरै युवा साथी आफ्नै देशमा स्वरोजगार भएको देख्न चाहन्छु । अर्कोतर्फ तपाईंलाई नयाँ आइडिया पनि हुन्छ ।

तपाईंको सफल बनाउन सघाउने कोही छ कि ?
मैले बिजनेस सुरु गरेदेखि नै भाइ कृष्णले सघाए । अहिले पनि हामीबीच सल्लाह हुन्छ ।
त्यसैगरी श्रीमती लक्कीको पनि प्रत्यक्ष सहयोग छ । भाइ–बुहारी देवीले पनि हाम्रो म्यानेजमेन्ट तहमा सघाउँछिन् । हामीले यसरी मिलेर व्यवस्थापन गरेका छौँ ।
त्यसपछि हाम्रा एक सय जनाभन्दा बढी कर्मचारी छन् । विदेशमा काम गरेर दक्षता हासिल गरेका कर्मचारीहरु काशी भण्डारी, समिर लामा, चेतन लामिछाने लगायतको एउटा समूह छ । उहाँहरू सबैको मलाई प्रत्यक्ष सहयोग छ ।
अहिले प्रत्यक्ष रूपमा झन्डै एक सय जनालाई रोजगारी दिएको छु भने अप्रत्यक्ष रुपमा पार्ट टाइमको रुपमा पनि ५०–६० जनाले काम गरिरहनुभएको छ । उहाँहरू सबैको प्रत्यक्ष–अप्रत्यक्ष सहयोगले म यो अवस्थामा छु ।

तपाईं होटल व्यवसाय मात्र हो या अन्य कुनै क्षेत्रमा पनि संलग्न हुनुहुन्छ ?
मान्छे जन्मजात सामाजिक प्राणी हो । त्यसैले सामाजिक सेवामा संलग्न हुनु सामान्य कुरा भइहाल्यो । म थुप्रै सामाजिक संघ–संस्थामा आबद्ध छु । गुल्मीबासी भएकाले गुल्मीबाट आउने असहाय, गरिव, बिरामी जनतालाई सहयोग गर्ने संघ–संस्थामा छु । आफूले एक सय रुपैयाँ कमाउँदा कम्तीमा १०÷१५ रुपैयाँ सहयोग पनि गर्नुपर्छ भनेर लागेको छु ।
व्यवसायको काम पनि एउटा सिस्टममा गएको छ । त्यसैले सिस्टमअनुसार सबै काम फत्ते गर्नुपर्ने हुन्छ । केही समस्या व्यवस्थापनमा देखियो भने मात्रै म आफू संलग्न भएर समाधान गर्छु । अन्यथा मैले सामाजिक क्षेत्रमै समय दिएको छु ।

व्यवसाय बढाउने सोचमा हुनुहुन्छ कि ?
मेरो उद्देश्य सेवासँगै पर्यटन प्रवद्र्धन पनि हो । त्यसका लािग हामी सेवा विस्तारको तयारीमा छौँ । तत्काल हामी काठमाडौंमै थप शाखासहित चितवन र पोखरामा पनि हाम्रो शाखा विस्तार गर्ने योजना छ । यो भूकम्पका कारण पर्यटन क्षेत्रमा असर परेकाले अलिकति ढिला भएको हो । उद्धार र राहतका काममा आफैँ पनि खट्नुपर्ने भएकाले पनि ढिला भयो । त्यसले गर्दा ढिला भए पनि अब छिटै शाखा विस्तार गर्ने कार्यक्रम छ ।
साभार: रातोपाटि 

स्टीव जबको सर्वश्रेष्ठ प्रेरणादायक भाषण

Steve Jobs Best Inspirational Speech Ever In Nepali

 



Steve Jobs Best Inspirational Speech Ever In English


 

आठ रूपैयाँका ज्यामी बाट, प्रतिभाशाली उद्योगी


सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यापारी अधिकांशको परिचय आफ्ना पुर्खा (बाबुबाजे)सँग जोडिन्छ। आफैंले आफ्नो परिचय स्थापित गर्ने उद्योगीको सूची अत्यन्तै न्यून छ यो क्षेत्रमा।
स्व. रामलाल गोल्छाको व्यापारिक जीवनबाट धेरैले पाठ सिकेका छन् यहाँ। गोल्छा विराटनगरमा खाली खुट्टा हिँड्थे। सानो व्यवसाय सुरू गरेर उनले आफ्नो परिचय देशलाई चिनाए।
जुट संकलन गरेर, धान संकलन गरेर व्यवसाय सुरू गरेका उनी सफल उद्योगपतिमात्र भएनन्, उनको नेतृत्वमा स्थापित भएको गोल्छा अर्गनाइजेशन अहिले नेपालको एउटा ठूलो व्यापारिक घराना बनेको छ।

गोल्छाका साखासन्तान प्रतिष्ठित उद्योगपति सूचीकृत छन्।
***
सुनसरी–मोरङ सिञ्चाई आयोजनाको नहर त्यतिबेला बन्न थालेको थिएन भने सायद भीम घिमिरेको परिचय आज गुमनाम हुन्थ्यो होला। साधारण परिवारमा हुर्किएका घिमिरे सिञ्चाई आयोजनाको नहर बन्दा श्रमिक भएर छिरेका थिए। बेल्चा चलाउने, सिमेन्ट बोक्ने ज्यामी उनै घिमिरे अहिले सफल युवा उद्योगीको रूपमा परिचित छन्।

‘संघर्ष गर्ने इच्छाशक्ति र धैर्यता अपनाउन सकियो भने साधारण किसानको छोरो पनि सफल उद्योगी बन्न सक्दोरहेछ,’ सेतोपाटीले समय लिँदा उनी आफ्नो उद्यमशीलताबारे खुल्न अफ्ठेरो मानिरहेका थिए, ‘अझै धेरैथोक गर्न बाँकी नै छ, मेरो परिचय पूर्ण बनिसकेको छैन।’
उद्यमीदेखि सामाजिक क्रियाकलापको नेतृत्वपंक्तिमा रहेर संघर्ष गर्दा उनले धेरै भोगेका छन्, देखेका छन्, अनुभव हासिल गरेका छन्। उनीद्धारा स्थापित उद्योगमा अहिले सयौंले रोजगारी पाएका छन्, आफूले रोजगारी दिएका मजदुर र कर्मचारी देख्ता उनी आफ्नो विगत सम्झिन्छन्।

‘मैले अरूलाई सधैं भन्नेगर्छु कि तपाईं एउटा जागिरमात्र खाएर आफ्नो सिर्जनशीलतालाई साँघुरो नपार्नूस्,’ उनी भन्छन्, ‘सानोतिनो, जस्तोसुकै सानो व्यवसाय गर्ने हिम्मत गरे जीवन सफल हुन्छ।’
***
उदयपुर फलाँटे गाविसमा २०२३ सालमा घिमिरेको जन्म भएको थियो। खोटाङ चुइचुम्बा गाविसका गरिब किसान उनका बाबुआमा उदयपुर आइपुग्दा उनको जन्म भएको रहेछ।

जन्मिनेवित्तिकै बाबुआमा उदयपुरबाट सुनसरी चक्रघट्टी बसाइँ सरेका रहेछन्।

गाउँकै बसन्तऋतु प्राथमिक विद्यालयमा उनको पढाइ सुरू भयो। माध्यमिक शिक्षाका लागि टाढा जानुपरेन, चक्रघट्टीकै महेन्द्र माध्यमिक विद्यालय थियो।

२०४० सालमा एसएलसी दिए। यतिबेलासम्ममा घरको दुःख बुझिसकेका घिमिरेलाई केही काम नगरी फगत बस्न मन लागेन।

सुनसरी मोरङ सिञ्चाई आयोजनाको नहर खन्ने काम चताराधाममा सुरू भइरहेको थियो। चिनियाँ कम्पनी सीडब्लूईले नहर खन्ने ठेक्का लिएको रहेछ।

काम खोज्ने सिलसिलामा उनी नहर पुगेछन्।

भर्खर एसएलसी दिएको व्यक्ति, कुनै आयोजनाका निमिक्त काम गर्ने अनुभव हासिल भइसकेको थिएन।

‘नहर खन्नका लागि ज्यामी आवश्यक रहेछ,’ उनले आफ्नो श्रमिक जीवनबारे खुलाए, ‘म बेल्चा चलाउने र सिमेन्ट बोक्ने काम गर्न थालें।’

एउटा श्रमिकको दैनिक ज्याला त्यतिबेला सात रूपैयाँ रहेछ। उनी आठ रूपैयाँका ज्यालादारी श्रमिक भएर छिरे।
...

श्रमिक भएर छिरेको तीन दिनमात्रै बितेको थियो। चिनियाँ कम्पनीले उनलाई सुपरभाइजरको जिम्मेवारी दिएछ। तीन दिनको फरकमा उनले दैनिक १२ रूपैयाँ पाउन थाले।

सुपरभाइजरको काम गर्दागर्दै एसएलसी रिजल्ट आयो। सेकेन्ड डिभिजन ल्याए।

रिजल्ट आएपछि कहाँ पढ्ने उनलाई समस्या प¥यो। उच्च शिक्षा हासिल गर्न उनले विराटनगर महेन्द्र मोरङ क्याम्पस आउनुपर्ने भयो।

चिनियाँ कम्पनी छोड्ने तयारी गर्दैथिए, तर उक्त कम्पनीले उनलाई जागिर छोड्न दिएन। बरू त्यही कम्पनीको गाडीले उनलाई कलेज छोड्ने, घर पु¥याइदिने ग¥यो।

‘डेरा बस्नुनपर्ने, गाडीले नै ल्याउने पु¥याउने गरेपछि जागिरलाई निरन्तरता दिन सजिलो भयो,’ उनी भन्छन्, ‘आइकम पास गरूञ्जेल उसले सहयोग गरिरह्यो।’

यतिञ्जेलमा त उनले एउटा जागिरका लागि योग्यता हासिल गरिसकेका रहेछन्।

बिकम सुरू गर्नलाग्दा उनलाई त्यही कम्पनीले ‘दोभाषे’ नियुक्ति गरेछ। चिनियाँहरूको दोभाषे भएर काम थाले।
***
२०४४ सालतिरको कुरा हो।
औद्योगिक घराना वैद्य गु्रपसँग सीडब्लूई कम्पनीको सम्बन्ध जोडिन पुग्यो। दुबैको लगानीमा मोरङको टंकिसिनुवारीमा इँटा उद्योग खोल्ने सम्झौता भयो।
चिनियाँ कम्पनीमा निकै योगदान गरिसकेका घिमिरेको नाम त्यहाँ सिफारिस भयो। उनलाई १३ जना चिनियाँ प्राविधिकको नेतृत्व दिएर सीडब्लूई कम्पनीले टंकीसिनुवारी पठाइदियो। उनी आफू पढ्दै उक्त कम्पनीमा काम गरिरहेका थिए, बस्नका लागि कम्पनीले निवास दिएको थियो।

जिम्मेवारी बढ्दै जाँदा उनले अलिअलि पैसा पनि बचत गरेका रहेछन्। वैद्य ग्रुपका डा. गजानन्द वैद्यको सहयोगमा विराटनगर–६ मा उनले घर बनाए।

व्यापारिक लाइन अलिअलि बुझेका उनलाई उत्साह छुटेर आउन थालेको थियो।

***
२०४८ सालमा। चिनियाँ कम्पनीबाट सिकेको व्यापारिक अनुभव आफ्नै उन्नतिका लागि प्रयोग गर्ने अठोट लिए। घर वाणिज्य बैंकमा राखे। सात लाख रूपैयाँ हात प¥यो। त्यो सात लाखले उनी निर्माण व्यवसाय क्षेत्रमा हाम्फाले। सँगसँगै जग्गाको कारोबार पनि गर्न थाले।
त्यही सिलसिलामा उनले २०५३ सालमा जागिर छोडे। जागिर छोड्नुको एउटै कारण थियो – सिकेको सीप आफ्नो उन्नतिका लागि खर्चिने।
सात÷आठ वर्ष त्यसरी काम गर्दा त्यतिधेरै नाफा त थिएन, तर आफ्नो लागि एउटा छुट्टै व्यवसाय गर्न बाटो खुलिसकेको थियो। २०५६ सालदेखि उनले कोल्डड्रिङ्स सप्लायर्स खोले।

एबी ढुवानी सेवा नामक कोल्डड्रिङ्स राम्रै चलिरहेको थियो।

***
जागिर छोडे पनि चिनियाँ र वैद्य गु्रपले उनलाई बीचमै रोकेछ। सल्लाहकार भएर पनि बस्नुपर्ने अफर आयो।
वैद्य ग्रुपको सल्लाहकार बस्नु नै उनका लागि उद्योगी बन्ने बाटो बनेछ। टोयटा कम्पनीको मोटरको पूर्वाञ्चलमा बिक्रेता कोही थिएन। वैद्य ग्रुपले उनलाई बिना लगानी आधिकारिक बिक्रेता राख्यो।
टोयटाका सयौं गाडी पूर्वमा बिक्री गर्न सफल भए। त्यसबाट मनग्गे आम्दानी भयो।

‘कसैको भाग्यको फैसला उसको इच्छाशक्ति त छँदैछ,’ उनी भन्छन्, ‘सहयोगी हात पनि महत्वपूर्ण बन्दोरहेछ।’

२०५६ सालमा त्यही कम्पनीले सुनसरीको सिमरियामा इँटा कारखाना खोल्ने तयारी ग¥यो। उनी त्यस उद्योगका १२ प्रतिशत लगानीकर्ता भएर छिरे। उनलाई त्यहाँको मेनेजिङ डाइरेक्टरको जिम्मा दिइयो।

‘त्यहीबीचमा पढाइ पूरा भयो,’ घिमिरे भन्छन्, ‘डिग्री पास गरें, एउटा व्यापारिक लाइनमा आफ्नो योग्यता स्थापित भयो।’

***
टोयटा कम्पनीको गाडी बिक्रीको अद्भुत सफलताबाट आर्जेको पैसा र पार्टनरसिपको फाइदा उनलाई भयो। अब भने आफैं उद्योग चलाउँछु भन्ने हिम्मत जुट्यो।

उनले सिमरियामै आफ्नै लगानीमा एबी नामक इँटा उद्योग स्थापना गरे।

२५ लाख रूपैयाँ व्यापारिक कर्जा लिएर इँटा उद्योग खोलेका थिए। अहिले त्यो उद्योगमा सिजनमा तीन सयसम्म श्रमिकले रोजगारी पाएका छन्।

‘अफसिजनमा कम्तीमा ५० जनाले रोजगारी पाएकै छन्,’ घिमिरेले भने।

२०६३ साल सुरू हुँदै थियो। एयरपोर्ट मोडमा एउटा पेट्रोल पम्प थियो। काठमाडौंका व्यापारीले त्यो बेच्न चाहिरहेका थिए। उनले सस्तो मूल्मै त्यो खरिद गर्न पाए। नबिल बैंकबाट थप कर्जा लिएर त्यसलाई मजबुत पारे।

मुनालपथमा रहेको टोयटा गाडीको स्वरुम त्यहीँ सारे। सर्भिसिङ सेन्टर पनि त्यहीँ बनाए।

सर्भिसिङ सेन्टरमा अहिले २० जनाले रोजगारी पाएका छन्, पम्पमा दस जना स्टाफ जागिरे छन्।

‘दुःख, सुख भन्नेकुरा जीवनको पाटो हो,’ व्यापारिक लाइनमा इमानदारितामा विश्वास गर्ने घिमिरे भन्छन्, ‘कालाबजारी, दुई नम्बरी, तस्करी केही नगरी राज्यलाई व्यापारको कर तिर्दा पनि फाइदा हुँदोरहेछ, जो मैले आफ्नो उद्यमशीलतामा देखेको छु।’

कुनैबेला श्रमिक भएर छिरेका घिमिरे अहिले लाखौं÷करोडौंमा खेल्ने उद्योगपति भएका छन्। श्रमिकबाट उद्योगी बन्नेको नाम लिनुपर्दा विराटनगरमा घिमिरे चिनिन्छन्।

‘किसानको छोरो पनि चाह्यो भने उद्योगी बन्छ, त्यही हो मेरो परिचय।’

***
२०५१ सालमा इनरुवामा उनको विवाह भएको थियो। अजिता बरालसँग उनको मागी बिहे भएको थियो। उनका जेठा छोरा अविज्ञा अहिले स्नातह गर्दैछन्। कान्छा छोरा अन्विद प्लस टुको फाइनल परीक्षा दिने तयारी गर्दैछन्।

बुबा मित्रलालको २०६८ सालमा निधन भयो। आमा कक्षरुपा उनको साथमा छिन्।

‘म यसरी सफल हुनुमा श्रीमतीको ठूलो साथसहयोग छ,’ उनी भन्छन्, ‘सँगसँगै असल साथीभाइको सल्लाहसुझाव र सहयोग बिर्सिनसक्नुको छ।’
***
एउटा किसानको छोरोले गरेको प्रगति देखेर विराटनगरका उद्योगपति चकित परेका थिए।

२०५० सालतिरको कुरा हो। विराटनगरमा महेन्द्र गोल्छा प्रतिष्ठित उद्योगपति थिए। श्याम पौडेल, अशोक मुरारका, सुशील धनावत, किशोर प्रधानलगायतले उनलाई साँघुरो घेरामा मात्र बसेर उद्योगपतिको भूमिका निर्वाह हुन्न भनेर सल्लाह दिए।
उद्योग संगठन मोरङ नामको व्यापारिक संगठनका हस्ती थिए उनीहरू। उनीहरूकै सल्लाहमा संगठनमा आवद्ध भए।

२०५२ सालमा विराटनगरमा बृहत महोत्सवको तयारी थियो। राजपरिवारसँग नजिकको सम्बन्ध भएका महेन्द्र गोल्छाले महोत्सवको नेतृत्व गरेका थिए। राजा वीरेन्द्र महोत्सव उद्घाटन गर्न आएका थिए।

घिमिरेलाई स्टल बिक्रीको नेतृत्व दिइएको रहेछ। उनले आफ्नो क्षमता त्यहीँ प्रदर्शन गरे।

‘महोत्सवमा स्टलहरू धेरैभन्दा धेरै बिक्री भए,’ घिमिरे सम्झन्छन्, ‘मेरो क्षमता साथीभाइले त्यहीँ जाँचे।’

***
विगत ११ वर्षदेखि उनी उद्योग संगठनको बोर्डमा छन्। एकपटक उनी संगठनका उपाध्यक्षसमेत भएका थिए।
समय बित्दै जाँदा र नेतृत्व तहसम्म बुझ्दा उनले यो क्षेत्रमा विकृति विसंगतिको उर्लंदो भेल देखेका छन्।
बाहिरबाट हेर्दा व्यापारिक संगठन भए पनि त्यहाँभित्रको अपारदर्शी गतिविधिले उनले भोगेका छन्। सार्वजनिक संगठन होस्, सबैको पहुँच पुगोस् भन्ने भावना राख्ने घिमिरे त्यही कुरा राख्दा घेराबन्दीमा परे।

वर्षअघि उनले उद्योग संगठन छोडेका छन्
‘सार्वजनिक पद दुरूपयोग भएको छ, नेतृत्वको दुरूपयोग भएको छ,’ उनी भन्छन्, ‘नेतृत्वको असीमित चाहना छन्, आफ्नो लागि कानुनविपरीत काम गर्ने, सोर्सफोर्समा सुविधा लुट्ने तर इमानदार र सज्जन उद्योगीको हितमा कहिल्यै केही नगर्ने परिपाटी छ।’

औद्योगिक क्षेत्रले रोजगारीको ठूलो बाटो खोलेको छ। देशको अर्थतन्त्रमा टेवा पु¥याएको छ। कतिपय उद्योगले स्थानीय ‘र’ मेटेरियल प्रयोग गरेका छन्। यसले स्थानीयको जीवनस्तरमा टेवा पनि पु¥याएको छ।

तर सँगसँगै कर छल्ने, तस्करी गर्ने, कानुन मिचेर उद्योग खोल्ने, देशको अर्थनीतिलाई आफ्नो प्रभावमा पार्ने उद्योगपति प्रशस्तै देखेका छन् घिमिरेले।

‘मैले नेतृत्वको दुरूपयोग भनेको यही हो, नेतृत्वमा हुनेले नेता, मन्त्री रिझाएर यहाँ धेरै खेल खेलेका छन्,’ उनी भन्छन्, ‘त्यसैले हो, सुनसरी–मोरङ करिडोर सोचेअनुसार विकास हुन नसकेको, उता वीरगञ्जले कतिधेरै फड्को मारिसकेको छ।’

मुलुकको हित र अर्थतन्त्रको हितका निम्ति काम गर्नेको संख्या दिनानुदिन घट्दा उनलाई चिन्ता लागेको छ।

***
सामाजिक क्षेत्रमा पनि उनी त्यति नै अग्रसर छन्
 सन् १९९० मा विराटनगर जेसिजमा नेतृत्व विकासका लागि भन्दै छिरेका उनले टंकिसिनुवारीमा जेसिजकै भवनसँग सामुदायिक भवन निर्माण गराएका छन्।
बिहे, ब्रतबन्ध इत्यादिका लागि विराटनगर धाउनुपर्ने बाध्यता हटेको अनुभव उनी गर्छन्। त्यही सामुदायिक भवनमा बिहेबटुलो हुने गरेको छ।

सन् १९९९ मा उनी लायन्स क्लबको सदस्य बनेका थिए। लायन्सको विराटनगर अध्यक्ष हुँदै भाइस गभर्नर, फस्ट भाइस गभर्नर र सन् २०१४ मा उनी डिस्ट्रिक गभर्नर भए।

लायन्सको इन्टरनेशनल पंक्तिमा भर्खरै उनी उत्कृष्ट गर्भनर घोषित भएका छन्।

‘लायन्स, जेसिजजस्ता संस्था भनेको हामी आफैंले लगानी गरेर दिनदुखीलाई सहयोग गर्ने संस्था हुन्,’ उनी भन्छन्, ‘कतिपयले यस्ता संस्थालाई बुर्जुवा वर्गका भने पनि त्यस्तो मैले देखेको छैन।’
***
युवा उमेरमै सफल उद्योगी कहलिएका उनी औद्योगिक क्षेत्रमा चन्दा चिठ्ठीले हैरानी पा¥यो भन्ने खबर सुन्दा अचम्मित हुन्छन्। भूमिगत पार्टीदेखि, सिभिलियन पार्टीका नेता, कार्यकर्ता सबै देखेका बुझेका उनले आजसम्म कसैलाई चन्दा दिनुपरेको दिन नआएको दाबी गर्छन्।

‘चन्दा चिठ्ठाका निम्ति छलफल र बहस भयो होला, तर मैले कसैलाई चन्दा दिइनँ,’ उनी भन्छन्, ‘कसैले गैरकानुनी तरिकाले माग्दा दिइहाल्ने प्रवृत्तिले हाम्रो औद्योगिक क्षेत्र दुनियाँको कमाइखाने ठाउँ भइरहेको छ।’

औद्योगिक क्षेत्र, औद्योगिक संघ संगठनलाई सबै सानाठूला व्यापारीको सहज पहुँचको क्षेत्र बनाउनुपर्ने धारणा भएका उनी त्यसका निम्ति पनि संघर्ष गर्दैछन्।

‘मेरो उद्यमशीलता छँदैछ,’ कुराकानीको अन्त्यतिर घिमिरेले भने, ‘निमुखा उद्योगीको भविष्यका निम्ति लड्दैछु।’
साभार: सेतोपाटी

मेरो हात उसले समायो, म अरूको हात समाउँदैछु

बाहिरबाट हेर्दा शेरबहादुर परियार सामान्य पर्यटन व्यवसायी हुन् । सौराहास्थित आफ्नै घरमा फेमिली होटल पार्कसाइड, पोखरामा ३५ कोठाको मध्यम स्तरको पोखरा इको रिसोर्ट एवं एउटा चलेको ट्राभल एजेन्सी । सबै व्यवसाय जोड्दा उनको कुल सम्पत्ति करोडौंको देखिन्छ । तैपनि उनको जति निजी सम्पत्ति छ, त्योभन्दा बढी सम्पत्ति बराबरको समाजसेवा उनले गरेका छन् । परियारकै अगुवाइमा सयौंको जीवन परिवर्तन भएको छ । परियारले सौराहामा एउटा सुविधासम्पन्न आँखा अस्पताल खोलेका छन् । जहाँ आँखासम्बन्धी सम्पूर्ण परीक्षण नि:शुल्क हुन्छ । २७ कठ्ठा जग्गामा गरिबहरूका लागि सुविधासम्पन्न आवासीय विद्यालय बन्दैछ । उनकै अगुवाइमा खुलेको गि्रन सोसाइटी नेपाल नामक सामाजिक संस्थामार्फत हात्तीको लिँड (गोबर) बाट कागज बनाउने कारखाना खुलेको छ । उक्त कागजबाट बनेका हस्तकलाका सामग्री जर्मनी निर्यात भैरहेको छ । यही संस्थाअन्तर्गत एउटा पुस्तकालय तथा सहकारी पनि चलेका छन् । ती सबैको आम्दानी आवासीय विद्यालय र अस्पताल चलाउन खर्च भैरहेको छ ।

धेरैजसो मानिस नामका लागि समाजसेवा गर्छन्, तपाईं केका लागि गर्नुहुन्छ ?


आफ्नो ऋण चुक्ता गर्न । म पनि सामान्य नेपाली केटाकेटी जस्तै पढाइलाई महत्व नदिने मानिस थिएँ । सौराहा घुम्न आएका एक जना जर्मन पर्यटक हेन्ज किञ्जलले मेरो अध्ययनको सबै खर्च जुटाइदिए । नेपाल मात्र होइन, भारतका चर्चित कलेजहरूमा ठूलो खर्च गरेर पढाइदिए । जब म आफ्नो खुट्टामा उभिएँ, मलाई लाग्यो, एकजना विदेशी जोसँग नेपालको कुनै साइनो थिएन, त्यस्तो व्यक्तिले त मेरा लागि लाखौं खर्चिए भने म नेपाली भएर नेपालीहरूका लागि किन केही नगर्ने ? मेरो आफ्नो गाउँका भाइ-बैनीहरूका लागि किन केही नगर्ने ? वास्तवमा मेरो सारा काम त्यही ऋण तिर्न केन्दि्रत छ ।

तपाईंको समाजसेवालाई कसले सहयोग गरिरहेका छन् ?


सुरुमा मैले स्थानीय चेपाङ बालबालिकाहरूलाई आफ्नै होटलको आम्दानीले पढाउन थालेको हुँ, तर एउटा व्यक्तिले कुनै काम गर्दा धेरै आरोप लाग्दो रहेछ । हामी नेपालीहरूको सोच धेरै परम्परागत छ । विदेशबाट डलर ल्याएर आफू खान्छ, देखाउन केटाकेटी पढाउँछ भन्ने आरोप लाग्न  थाल्यो । मैले केटाकेटी पढाएको देखेर कतिपय पर्यटकले तिमीले गरेको काम राम्रो छ, हामी के सहयोग गर्न सक्छौं भनेर सोध्न थाले । त्यसका लागि पनि संस्था बनाएरै काम गर्ने योजना बनाएँ अनि ग्रीन सोसाइटी नेपाल नामक संस्था खोलियो । उक्त संस्थालाई बासु ढुंगाना, वीरेन्द्र चौधरी, प्रमोद खकुरेल तथा भाइ श्रीलाल परियारले चलाइरहनुभएको छ । मचाहिँ संस्थामार्फत अझ व्यापक रूपमा बढीभन्दा बढी मानिसको जीवनमा परिवर्तन ल्याउन स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुटाउने काममा लागेको छु ।

तपाईंले हात्तीको लिँड (गोबर) बाट कागज बनाइरहनुभएको छ । यो सोच कसरी आयो ?

मेरो रिसोर्टमा आएका पर्यटकलाई जंगल घुमाउन २ वटा हात्ती पालेको थिएँ । एउटा हात्तीले दिनको २ सय किलो खाना खान्छ । जति ठूलो खाल्डो खनेर हात्तीको मल व्यवस्थापन गर्दा पनि अपुग हुने अवस्था आयो । हात्तीको मलको व्यवस्थापन कसरी गर्ने भनेर खोज्दै जाँदा थाइल्यान्डमा त्यसको कागज बन्ने कुरा पत्ता लाग्यो । मैले थाइल्यान्ड गएर हात्तीको मलबाट कसरी कागज बन्छ भनेर तालिम लिएँ । फर्केर आएपछि केही बेरोजगार गाउँले भाइ-बैनीलाई घरेलुमार्फत तालिम दिलाएर यो काम सुरु गरेको हुँ ।

कसरी बन्दो रहेछ, मलबाट कागज ?

हात्तीले जति खाना खान्छ, त्यसको ४० प्रतिशत मात्र पच्छ, बाँकी बाहिर निकाल्छ । त्यसलाई धोएर, छानेर पेल्दा २० प्रतिशत खेर जान्छ । बाँकी कागजको कच्चापदार्थ निस्कन्छ अर्थात् एउटा हात्तीले दिनभरि खाएको २ सय किलोग्राम खानेकुरामध्ये ८० किलोग्राम सामग्री कच्चापदार्थ बन्छ । त्यसबाट हातले, मेसिनले आफ्नो पुँजीअनुसार कागज बनाउन सकिन्छ । अहिले हामीले ८ वटा हात्तीको मल मात्र सदुपयोग गरिरहेका छौं । जबकि सौराहा क्षेत्रमा मात्र १ सय ५० भन्दा बढी हात्ती छन् ।

ती सबै हात्तीको मलबाट कागज बनाउन सकिन्छ भने किन काम नभएको ?

एक त यो प्रारम्भिक प्रयोग हो जुन हामीले सफल रूपमा गरिरहेका छौं । त्यसबाट बनेका सामग्री जर्मनीलगायत विभिन्न देशमा निर्यात भैरहेका छन् । जब यो काम सफल भयो, मैले नेताहरूलाई आफ्नो काम देखाएँ । नजिकैको जिल्लामा  भृकुटी कागज कारखाना छ, उक्त कारखानाले सौराहाको जंगलबाट मान्छे लगाएर घाँस कटाउँछ । त्यसलाई फ्याक्ट्रीमा लगेर पकाउँछ अनि कच्चापदार्थ बनाउँछ । जबकी हात्तीले घाँस खाने, त्यसलाई पेल्ने र कच्चापदार्थ तयार गर्ने तीनवटै काम गरेको हुन्छ । पर्यावरणको हिसाबले यो अनुकूल छ भने आर्थिक रूपले सस्तो पनि । सम्भवत:  विस्तारै काम अघि बढ्छ ।

तपाईं आफैंले फ्याक्ट्री खोले भैहाल्यो नि ?

मैले सुरुदेखि नै यो कामलाई सामुदायिक हितमा प्रयोग गरें, व्यवसाय बनाउने प्रयास गरिन् । किनभने मेरो व्यवसाय पर्यटन हो । म अरूतिर बाँडिदा काममा समस्या उत्पन्न हुनसक्छ । तैपनि हाम्रो काम देखेर विश्व वन्यजस्तु कोषले १० लाख रुपैयाँ पर्ने सामान्य मेसिन पठाइदिएको थियो । यद्यपि पार्टीगत राजनीतिका कारण हाम्रो संस्थामा आउनुपर्ने मेसिन अर्कै संस्थामा पुग्यो ।

कसरी ?
हाम्रो संस्थाका अध्यक्ष एउटा पार्टीसँग नजिक हुनुहुन्छ । अर्को संस्था वामपन्थी विचारधारा नजिक । यही जुँगाको लडाइँमा विदेशीले पठाएको मेसिन अर्को संस्थामा पुग्यो । त्यहाँ प्राविधिकहरू नभएका कारण मेसिन चलेन अनि त्यत्तिकै थन्कियो । अहिले मेसिन बिग्रन थालेको छ । हामी अहिले पनि हातैले कागज बनाइरहेका छौं ।

विरोध गर्नुभएन ?

(हाँस्दै) नेपालमा यस्तो राजनीति त सबैतिर छ नि । सबैको सोच कमिसन र पार्टीगत हित केमा हुन्छ भन्नेमा अडेको छ । संविधान त पार्टीगत सोचका कारण अड्किएको छ भने १० लाख रुपैयाँको कुरा कसले सुन्ने ? त्यसका लागि कुद्न थाल्यो भने थप पैसा खर्च हुन्छ । कुनै असल नेताले तिमीहरूले गरेको काम ठीक छ, हिजो गल्ती भएको हो भनेर मेसिन दिन्छन् भने लिन्छौं, होइन भने हामी आफैं काम गर्न सक्षम छौं ।

तपाईंले काठमाडौंको फोहोर व्यवस्थापन गर्न पनि निवेदन दिनुभएको छ रे । काठमाडौंको फोहोर व्यवस्थापन गर्ने के छ योजना ?


जर्मनीमा ३० करोड रुपैयाँ पर्ने एउटा मेसिन छ, जसलाई सरकारले अनुरोध गर्‍यो भने आधा रकम वा नि:शुल्क काठमाडौं आइपुग्छ । उक्त मेसिनमा फोहोर हाल्यो भने त्यसले प्लास्टिक, सिसाजस्ता कुरालाई सडकको अलकत्रा बन्ने सामग्री बनाइदिन्छ । सडेर जाने फोहोरलाई कम्पोस्ट मल बनाइदिन्छ । मैले दिएको प्रस्तावमा हामीलाई जग्गा र काठमाडौंको फोहोर दिने ग्यारेन्टी गर्ने हो भने काठमाडौंको फोहोर मात्र व्यवस्थापन हुँदैन, त्यसबाट उत्पादित सामग्री चीन र नेपालमा बिक्री गरेर राम्रो पैसा कमाउन सकिन्छ । सरकार आफैंले गर्दा पनि हुन्छ, निजी क्षेत्र र सरकार मिलेर गर्दा पनि हुन्छ ।

काम अघि नबढ्नुको कारण के होला ?


अरू पनि प्रस्ताव परेका होलान् । छलफल पनि भैरहेको होला । मुख्य कुरा कुन संस्थाले हालेको प्रस्ताव राम्रोभन्दा पनि यो कमाउने क्षेत्र हो, कसरी काम गर्दा बढी पैसा आफ्नो हात पार्न सकिन्छ भन्ने चलखेल हो कि भन्ने लागेको छ । नत्र यत्रो वर्षदेखि काठमाडौंमा फोहोर व्यवस्थापनको समस्या छ । त्यसबाट ठूलो आम्दानी हुन्छ, जुन खेर गैरहेको छ । महानगरपालिकाले वाषिर्क करोडौं रुपैयाँ खर्च गरिरहनुपरेको छ । वातावरण प्रदूषण पनि भैरहेको छ । तैपनि दर्जनौं संस्थाले हामी आफैंले फोहोर व्यवस्थापन गछौर्ं भन्दा किन पाइरहेका छैनन् ?

तपाईं दलित परिवारबाट आउनुभयो, दलित भएकै कारण केही समस्या भोग्नुभयो ?


मेरो विचारमा गरिब दलितले ठूलो समस्या भोगे । मेरो बुवा भारतीय सेनामा काम गर्ने भएकाले हामी हेपिने खालका गरिब थिएनौं । नेपालमा दलितको समस्या त छ तर त्यो समस्या गरिब भएकाले बढी छ । गरिब बाहुन पनि प्रसस्तै हेपिएका छन् । त्यही भएर म शिक्षा र सम्पन्नतामा जोड दिन्छु । मानिस सम्पन्न हुने बित्तिकै उसलाई समाजले सम्मान दिन्छ ।  अझ समाजका लागि केही गर्न थाल्ने हो भने उसलाई समाजले ठूलो इज्जत दिन  थाल्छ । मेरो हकमा पनि त्यही भयो ।

तपाईं गरिब परिवारबाट आउनु भएको होइन भने जर्मन नागरिकले कसरी सहयोग गर्ने अवस्था आयो ? तपाईं आफै पनि पढ्न सक्नुहुन्थ्यो, विदेशीको सहयोग किन लिनुभयो ?


यसको एउटा कथा छ । करिब १३-१४ वर्षको उमेरमा कक्षा ८ मा विद्यालय भर्ना गर्न बुवाले पैसा दिनुभएको थियो, तर त्यो पैसाले हामी चार जना साथी काठमाडौं घुम्न गयौं । बुवाले दिएको पैसा सकियो । उक्त कुरा बुवाले थाहा पाउनुभयो । त्यसपछि बुवाले स्कुल भर्ना हुने पैसा दिनुभएन । बरु भन्नुभयो, 'तैंले पैसाको महत्व बुझिनस् । अब विद्यालय भर्ना हुने पैसा आफैं जम्मा गर । तँलाई एक वर्षको समय भयो ।'

मेरो विद्यालय छुट्यो । म पैसा कमाउन ठाउँ-ठाउँ गएँ । १४ वर्षको ठिटोले कसरी पैसा कमाउने ? अन्तिममा एउटा रिसोर्टमा सामान्य काम पाएँ । त्यही बेला जर्मन पर्यटक उक्त रिसोर्टमा आए । उनीहरूले मेरो कथा थाहा पाए । जर्मनी फर्किएपछि हेन्ज किञ्जलले मलाई काठमाडौं गएर पढ्न सल्लाह दिए र उनैले खर्च पठाए । त्यसपछि उनैले मलाई स्नातकोत्तरसम्म अध्ययन गराए । उनले जर्मन भाषा पढेर पर्यटनको क्षेत्रमा काम गर्न पनि सुझाए ।

वास्तवमा बुवाले पढाउनु भएको भए, म बढिमा आइएसम्म पढ्थे हुँला । किनभने म सरकारी विद्यालयमा पढेको मानिस, अंग्रेजी उति राम्रो थिएन । जब म काठमाडौंको आवासीय विद्यालयमा पढ्न थाले, सुरुका तीन महिना १३ वटा विषयमध्ये १२ वटामा अनुत्तीर्ण भएको थिएँ । यसबाट पनि मेरो पढाइ अनुमान गर्न सकिन्छ । अरूले ममाथि लगानी गरिरहेको छ भनेपछि मैले केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसमाथि शिक्षकहरूले मलाई साह्रै सहयोग गर्नुभयो । सरकारी विद्यालयका शिक्षकहरूले मेरो त्यो समस्या कसरी बुझ्न सक्थें र ?
साभार: साप्ताहिक

नेपालमै प्रसस्त सम्भावना छ

चितवनको फूलबारीमा जन्मिएका मानबहादुर खड्काको जीवन चलचित्रको कुनै पात्रको जस्तै लाग्छ । बाल्यकालमा चुलबुले र झगडालु प्रवृत्तिका खड्का कालान्तरमा सोचेभन्दा बेग्लै भएर निस्किए । चितवनको शिवनगरमै ६ कक्षासम्मको अध्ययन गरेका मानबहादुरलाई ०४२ सालमा मुम्बई पुर्‍याइयो ।

मुम्बईमा भिनाजुसँग बसेर अध्ययन गर्दा मानबहादुरको दैनिकी फेरियो । नयाँ परिवेश, नयाँ भाषा, नौला साथीहरू । काम गर्दै अध्ययन गरेर उनको स्कुले जीवन बित्यो । 'मुम्बईमा सुरुवातका दिनमा मैले टेबल पुछ्ने, चिया सर्भ गर्ने काम पनि गरें ।' लेकसाइडस्थित फ्रिडम क्याफेमा उनले निर्धक्क सुनाए, 'मैले पहिलो जागिर १ सय भारतीय रुपैयाँमा गरेको हुँ ।'  सन् १९९१ मा मुम्बई छोडेर उनी बैंगलोर पुगे ।

पुना विश्वविद्यालयबाट टेलि कम्युनिकेसनमा इन्जिनियरिङ गरेका खड्काले दूरसञ्चार कम्पनी एयरटेलमा जागिर पाए । नेटवर्क राम्रो बनाउनु, सिस्टम चेक गर्नु तथा फोनमा कुराकानी गर्दा आइपर्ने विविध प्राविधिक समस्या समाधान गर्नु उनको प्रमुख जिम्मेवारी थियो । एयर टेल, एसर, एरिक्सन जस्ता भारतीय दूरसञ्चार कम्पनीमा काम गरेपछि उनी ट्रान्समिसन स्वीचिङ स्पेसलिस्ट भए ।

त्यो दिन उनलाई सपनाझैँ लाग्यो, जब उनको इमेलमा नाइजेरियाको एरिक्सन कम्पनीबाट एउटा इमेल आयो । तपाईंलाई टेक्निकल सुपरभाइजरका रूपमा काम दिन चाहन्छौं,  तलब ६ हजार अमेरिकी डलर, स्थानीय तलब ५ सय अमेरिकी डलर । त्यसका साथमा हवाईजहाजको टिकट नै उनको ठेगानामा आइपुगेको थियो । खड्का छक्क परे, विश्वासै लागेन । साथीभाइहरूलाई उक्त इमेल देखाए, तर कसैले पनि पत्याएनन् । यद्यपि खड्काले मोटोरोला एसर टेलिकममा खाइपाइ आएको जागिर छाडे । छाड्ने बेला उनको तलब ६० हजार भारु थियो । नाइजेरियाको  एरिक्सन कम्पनीलाई पछ्याउँदै उनी सपनाको उडान भर्न थाले । मनमा अनेक तर्क, वितर्कहरू खेलिरहे, कुन संसारमा जाँदैछु जस्तो लागिरहेको थियो । संयोगवश त्यही जहाजमा थिए, एक भारतीय मूलका नागरिक । उनले आफूलाई जागिरको अवसर दिने कम्पनी, तलब आदिका सम्बन्धमा बताउँदा ती भारतीयले विश्वासै गरेनन् । बरु उल्टै जवाफ दिए- म नाइजेरिया बसेको १५ वर्ष भयो, मेरो तलब जम्मा १ हजार ५ सय डलर छ । तिमीलाई कहाँबाट ६ हजार डलर दिन्छ ?

 नाइजेरियाको लागोस विमानस्थल ओर्लंदा मानबहादुरका आँखा एउटा प्लेकार्डमाथि परे । लेखिएको थियो— मिस्टर मानबहादुर खड्का वेल्कम टु नाइजेरिया । जुन कम्पनीले उनलाई इमेल गरेको थियो, त्यही कम्पनीका म्यानेजरले उनलाई स्वागत गरे । 'सँगैका साथीहरू गाउँमा हलो जोतिरहेका बेला, म आमाको आशीर्वादले त्यहाँसम्म पुगें ।' एरिक्सन कम्पनीमा मानबहादुरले टेक्निकल सुपरभाइजरका रूपमा ११ वर्ष बिताए । अफ्रिकन मुलुक घाना, केन्या, अल्जेरिया, जिम्बाबे, नाइजर, कंगो तथा टोगोका कुना-कुना चहारे । १ सय रुपैयाँ भारुबाट सुरु भएको उनको तलब पछिल्लो समयमा ८ हजार डलर पुगेको थियो । नाइजेरियाबाहिर कुनै दोस्रो मुलुकमा पाइलो टेक्नेबित्तिकै कम्पनीले दिनको २ सय डलर दिन्थ्यो । त्यति हुँदाहुँदै पनि मनमनै उनले योजना बुने— म नेपाल फर्कन्छु, आफ्नै देशमा केही व्यवसाय गर्छु ।

अन्तत: मानबहादुरले एक वर्षअघि एरिक्सन कम्पनीको जागिर छोडे । त्यतिबेला उनको तलब १० हजार डलर प्रतिमहिना थियो । पैसाको लोभभन्दा उनलाई नेपाल फर्कन हतार भयो । उनको ध्यान निजी व्यवसायतर्फ मोडिँदै गएको थियो । उनी विदेशको रमझमभन्दा नेपालको प्रकृतिसँगै रमाउन चाहन्थे । त्यही सोचको उपज हो, अहिले उनले सञ्चालन गरिरहेको कास्कीको घान्दु्रकस्थित एग्रो भिलेज रिसोर्ट । अन्नपूर्ण बेस क्याम्प जाने बाटैमा पर्ने उक्त रिसोर्टलाई उनले नमुना बनाएका छन् । खड्का आफ्नो रिसोर्टमा ६ जनालाई रोजगारी दिएका छन् । खड्काले रिसोर्टसँगै त्यहाँ भेडा पाल्ने तयारी पनि गरिरहेका छन् ।

मानबहादुर डाँडाकाँडा एवं गाउँघर घुम्न मन पराउँछन् । प्रकृतिको अध्ययन गर्नु उनको सोख हो । उनी कहिले घान्द्रुक, कहिले अन्नपूर्ण बेसक्याम्प त कहिले पर्वततिर पुगिरहेका छन् । बिहानै गाडी हाँक्दै फेवातालको किनारतर्फ लाग्छन् । ४२ देश घुमेका खड्का नेपाली परिकार चाख्न मन पराउँछन् । उनी ढिंडो र माछा भनेपछि हुरुक्कै हुन्छन् । चलचित्र हेर्ने खासै बानी छैन । बरु उनी पुराना गीत सुन्न रुचाउँछन् । खड्का आफ्नो बाँकी जीवन सहरमा होइन गाउँघरमै बिताउन चाहन्छन् ।
साभार: साप्ताहिक

सफलता...


व्यवस्थित नभए - Steve Jobs


प्रेरक भिडियो



भोको, विवस र लाचार भए पनि दया मायाको धनि यो भिडियो हेर्दा साचिकै आँखामा एक पटक आँशु आउँछ...

प्रेरक भिडियो



भोको, विवस र लाचार भए पनि दया मायाको धनि यो भिडियो हेर्दा साचिकै आँखामा एक पटक आँशु आउँछ...

प्रेरक भिडियो



भोको, विवस र लाचार भए पनि दया मायाको धनि यो भिडियो हेर्दा साचिकै आँखामा एक पटक आँशु आउँछ...