Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » , » बाख्रा पालनबाट आमुल परिवर्तनको सोंच

बाख्रा पालनबाट आमुल परिवर्तनको सोंच

भीमटारीका सुशील अर्याल (३९) को बाख्रापालन अभियानले सोच अनुसारको गति लिएको छ।
स्याङ्जा जिल्ला पशु स्वास्थ्य सेवा कार्यालयमा कार्यरत सुशीलले तीन वर्षअघि युट्युबमा कतार एअरवेजकी परिचारिकाले 'नेपाली युवकको शव बोकेको विमानमा काठमाडौं जान नपरोस्' भन्दै प्रार्थना गरेको देखे। उनलाई त्यो भिडियोले निकै बेचैन बनायो। त्यही तोडमा उनले नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाटै रोक्न सामूहिक बाख्रापालनको जुक्ति निकाले, जसले अहिले अभियानको रूप लिएको छ। “हुनलाई त्यो नयाँ जुक्ति थिएन”, सुशील भन्छन्, “तर पनि, यो अभियानले स्वरोजगारको वातावरण बनाएको छ।” उनले रु.१०–१५ हजार कमाउन डेढदेखि दुई लाख खर्चेर विदेश जाने युवालाई नेपालमै महीनाको रु.१६ हजारसम्म कमाउन सकिन्छभन्नेमा विश्वस्त पार्न व्यावसायिक बाख्रापालनको सोच कार्यान्वयन गरेका हुन्। घरपरिवार र आफन्तकै माझमा कमाएको रु.१६ हजार विदेशमा कमाएको रु.३२ हजार भन्दा बढी हुन्छ भनेर बुझाउन आफू सफल हुन थालेको सुशील बताउँछन्। तुलसी भञ्ज्याङमा १०९ रोपनी जग्गामा बाख्रा फार्म चलाएका उनी अहिले स्याङ्जाको प्रत्येक गाविसमा कम्तीमा एउटा 'नमूना बाख्रा गाउँ' बनाउन लागिपरेका छन्। गाउँका कम्तीमा १५ युवक–युवतीले १० माउ भन्दा बढी बाख्रा पाल्दा ६ महीनापछि प्रतिव्यक्ति रु.११ हजार आम्दानी हुन थाल्ने प्रमाणित हिसाब उनीसँग छ। रु.२ लाख लगानी गरेर बाख्रा पाल्न तयार हुनेहरूलाई उनी निःशुल्क तालीम दिन्छन्।

उत्साही युवा समूहलाई गोठ बनाउनेदेखि मिनरल ब्लक उत्पादनसम्मको तालीम दिंदा बाटो खर्च समेत लिंदैनन्, सुशील। उनका अनुसार, बाख्रा गोठ नजिकको एक रोपनी जग्गाको अर्गानिक तरकारी खेतीबाट मासिक रु.४ हजार आम्दानी हुन्छ। बाख्राको संख्या र तरकारी खेती बढ्दा आम्दानी बढ्छ। परीक्षणबाट आएको उनको यो हिसाबलाई वालिङ, दर्सिङ दहथुम, एलादी र ढापुक सिमलभञ्ज्याङ गाविसका युवाले धमाधम व्यवहारमा उतारिरहेका छन्। सुशीलको अभियान अन्तर्गत वालिङ नगरपालिका,१० पेखुमा बाख्रापालन पाठशाला नै खुलेको छ।

पेखुका युवाले स्थानीय र बोयरको क्रसबाट पाठापाठी उत्पादन गरेर प्रतिव्यक्ति मासिक रु.२५ हजारदेखि रु.३० हजार आम्दानी गरिरहेको सुशीलले बताए। ढापुक् सिमल्भन्ज्याङगा बि स,८ ओकादी युवा समूहले दूध उत्पादनका लागि सानन् जातका बाख्रा पालेका छन्। त्यो फार्ममा पोखराका केही व्यवसायी र जापानका गैर–आवासीय नेपालीहरूले चासो देखाएका छन्। फार्मलाई ठूलो बनाएर चिज उत्पादन गर्ने योजना अगाडि बढ्दै गरेको सुशीलले बताए।

स्याङ्जामा तीन नगरपालिका र ५७ गाविस छन्। हरेक गाविसमा एउटा नमूना बाख्रा फार्म खोल्दा ९०० युवक–युवती स्वरोजगार हुने उनी बताउँछन्। स्याङ्जा बाहिर पनि ४३ वटा बाख्रापालन समूह उनकै निगरानीमा छन्। बाख्रापालन सम्बन्धी जानकारी फेसबुक र युट्युबबाट पनि दिने गरेका सुशीलका अनुसार, यो अभियान बाहेक पनि स्याङ्जाको बाख्रापालनमा करीब रु.१८ करोड लगानी भएको छ, तर खासै फाइदा भएको छैन। कतिले बीचमै छोडेका छन्। “उनीहरूका लागि पनि मेरो अभियान सहयोगी भएको छ”, सुशील भन्छन्, “नेपाली युवाको शव पठाउने श्रमको क्षेत्र सुकाउँदै गाउँ–गाउँमा समृद्धि भित्र्याउने एउटा गतिलो जुक्ति हुनेछ, बाख्रापालन।

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !