Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » ग्यास्टिक/ ग्यास्ट्राइटिसको नालीबेली

ग्यास्टिक/ ग्यास्ट्राइटिसको नालीबेली

नेपालीहरुलाई चिनाउने रोगको रुपमा ग्याष्टिक रोग परिचित छ। नेपाली नागरिकता नै ग्याष्टिक रोग भए नभएको अनुसार दिनुपर्छ भनेर ठट्टा गरेर भन्ने गरेको पनि पाइन्छ। आज म यहि ग्याष्टिक रोगको बारेमा वृस्तित रुपमा जानकारी गइरहेको छु।

मेडिकल भाषामा ग्यास्ट्राइटिस (Gastritis) भनेर चिनिने यो रोगलाई साधारण बोलीचालीको भाषामा ग्याष्टिक वा ग्याष्ट्रिक भनिन्छ। ग्याष्ट्राईटीस शब्दलाई हाम्रो जीब्रोले पुरै उच्चारण गर्न नसक्दा ग्याष्ट्रिक भन्न पुग्यौँ, जसको आम अर्थ ग्यास्ट्राईटिस र ग्यास्ट्रिक अल्सर दुबै लागाईन्छ । चिकित्सकिए भाषामा आमासयका भित्ताहरुको ईन्फ्लामेसन (सुन्निएर रातो तातो भएर दुख्नु) लाई ग्याष्ट्राईटीस भनिन्छ भने रोग बढ्दै गई भित्ताहरुको श्लेश्म झिल्लि च्यातियर घाऊ भएको अवस्थालाई ग्याष्ट्रिक अल्सर भनिन्छ । अर्को शब्दमा भन्नु पर्दा ग्याष्ट्रिक रोगको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रुप । यो रोगमा पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना अरुची हुने, पेट ढुस्स फुलेको, भरिएको जस्तो लाग्ने हुन्छ। धेरै बढेको बेलामा खप्नै नसक्ने गरेर पेट दुख्ने, कालो दिसा हुने र कहिलेकाही पेट अर्थात आमाशयमा प्वाल परी त्यसको खराब असरले गर्दा ज्यानै जाने पनि हुन्छ।

किन र कसरी हुन्छ यो ग्याष्टिक रोग?
हामीले खाएको खाना पचाउनका लागि शरीरभित्र विभिन्न प्रकारका पाचन रसहरुका साथसाथै हाइड्रोक्लोरिक एसिड (Hydrochloric acid) भनिने एक खालको कडा अम्ल पनि हुन्छ। यो अम्लको उत्पादन हाम्रो आमाशयभित्र हुन्छ र यसको काम खाना पचाउनलाई सहयोग गर्नुका साथै आमाशय भित्रका किटाणुहरुलाई मार्ने काम पनि गर्छ। अब प्रश्न उठ्छ कि यस्तो कडा अम्ल हाम्रो आमाशय भित्र हुँदा पनि आमाशयलाई किन केही असर नपरेको होला। किनभने आमाशयलाई यो अम्लबाट बचाउनका लागि हाम्रो शरीरमा विभिन्न प्रकि्रयाहरु हुन्छन्। जस्तै आमाशयका भित्री सतहका कोषहरुले बाक्लो जेली जस्तो अर्धतरल पदार्थ म्युकस (Mucus) निकालिरहेको हुन्छ जसले उक्त अम्लबाट आमाशयलाई बचाउने काम गरिरहेको हुन्छ। त्यस्तै उक्त अम्लको असरलाई कम गर्नको लागि बाइकारबोनेट (Bicarbonate) एक प्रकारको क्षार पनि उत्पादन भइरहेको हुन्छ। यी ग्यास्ट्राइटिस गराउन सक्ने र त्यसबाट बचाउने प्रकि्रयाहरुको सन्तुलनमा गडबडीका कारण तपाईहामीलाई ग्याष्टिक वा ग्यास्ट्राइटिस रोग लाग्छ।
यसका कारणहरुमा हेलिकोब्याक्टर पाइलोरी (Helicobacter Pylori) भन्ने किटाणुको संक्रमण अग्रपंक्तिमा पर्छ। नेपाल जस्ता अविकसित देशहरुमा ८०% भन्दा बढि मानिसहरुमा यो किटाणुको संक्रमण भएको अध्ययनहरुमा देखिएको छ। त्यस्तै धुम्रपानको कारणले पनि यो रोग हुने सम्भावना बढ्न जान्छ। NSAIDs (Non-Steroidal  Anti-Inflammatory Drugs) जस्तै ब्रुफेन निम्स आदि दुखाइ कम गर्ने औषधीहरुको अत्यधिक सेवनले पनि यो समस्या हुनेगर्छ।

ग्याष्ट्राईटीसलाई तिव्र तथा दीर्घ/जिर्ण गरेर दुई समुहमा बाडिएको छ ।
तिव्र ग्यास्ट्राईट्रिस:-
पेटका भित्ताहरुमा भएका कोषहरुका लागी हानि गर्ने पदार्थहरुको सेवनले गर्दा हुन्छ । यि पदार्थहरुमा ः दुखाई कम गर्ने (एस्प्रिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधि, विष सेवन, मसला, खुर्सानि र नुन ज्यादा हालेको खानेकुरा जाँड, रक्सि र कोकिन जस्ता मादक पदार्थहरु पर्दछन् । आमाशयमा एच.पाईलोरि लगाएत अन्य ब्याक्ट्रेरिया भाईरस, कृमी वा फङ्गसहरुको संक्रमणले पनि ग्याष्ट्राईटीस हुने गर्छ ।

दीर्घ/जिर्ण ग्याष्ट्राईटीस:-
जिर्ण ग्याष्ट्राईटीसकोे कारणहरु भने हाम्रो जीवनशैली, खानपान शैली, मानसिकता र शरीर प्रकृतिसँग जोडिएको छ । तारे भुटेका मसालादार खानेकुरा खानेहरु, खुर्सानी र नुनको अत्याधिक सेवन गर्नेहरु जाँड रक्सी, चुरोट, कोकीन र टैनिनका नशेडीहरु, तातो र अती चिसो खाद्य पदार्थ तथा वोतल र वट्टामा संरक्षित खाद्य–पदार्थहरुको सेवन गर्नेहरु, फास्ट तथा जंक फुड खानेहरु यो रोगका शिकार हुन पुग्दछन् ।

त्यसैगरी अनियमित जीवनशैली जीउनेहरु, जस्तैः भोकलागेको वेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठीन, बट्टावद्ध र संरक्षित खाद्यानहरु खाईरहने, खाएपछि र शारीरिक श्रम गरे लगत्तै सुत्ने तथा शारीरिक श्रम गरे लगत्तै खानेहरुमा यो रोग ज्यादा देखिएको छ । व्यश्तता र भागदौडले भरिएको जीवन ज्युनेहरु, मानशिक तनावको चपेटामा परेकाहरु, मनोरञ्जन नगर्नेहरु, भय, चिन्ता, शोक उदाशिनता र अनिन्द्राका रोगीहरु, शारीरिक श्रम वा ब्यायम नगर्नेहरु पनि यो रोगका शिकार हुने गरेका छन् भने लामो समय सम्म जाँड रक्सी, चिया कफि, कार्वनिक पेय,(कोक–पेप्सी) आदीको सवनगर्नेहरुमा पनि यो रोग ज्यादा देखिएको छ । यसका अलाबा आत्मघाती प्रतिरक्षा प्रणाली (अटो–ईम्यून), पेटको अपरेशन, कलेजो, मृगौला, फियो तथा आंन्द्राहरुको संक्रमण, एचआईभी÷एड्स तथा विशेष मानसिक रोगावस्थाहरुको कारणले पनि ग्याष्ट्राइटिस हुने गर्दर्छ ।

लक्षणहरुः – 
छाती र पेटको विचको खाल्टो वरीपरी दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्ल पित बड्नु, मुख विग्रिनु, पेट भारीहुनु, आपनवायु बढ्नु, रिङ्गटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु, वाकवाकी लाग्नु वान्ताहुन, ढ्याउढ्याउ आउनु, वान्तामा रगत देखिनु कालो दिशा आउनु, खाना नपच्नु, पेट हुडेल्नु, तौल कम हुनु आदी


यो रोगको शंका लागेमा वा यो रोगको पहिचानका लागि के के जाँचहरु गर्न सकिन्छ?
साधारणतया यो रोग विरामीको समस्या सुनेर शरिरको जाँच गरेर नै पत्ता लगाउने गरिन्छ, यो तरिकालाई क्लिनिकल डायगनोसिस (Clinical Diagnosis) भनिन्छ। माथि भनिएका लक्षणहरु पेट पोल्ने, छाति पोल्ने, पेट फुलेको जस्तो हुने, खाना अरुची हुने आदी छन् र शरिर जाँचमा अरु खराबी देखिएनन् भने ग्याष्ट्रिक वा ग्यास्ट्राइटिस रोग भनी भन्ने गरिन्छ। तर कहिलेकाही अरु रोगहरुसंग झुक्किने हुँदा र यो रोगको अरु जटिल अवस्थाहरु भइसकेका छन् की छैनन् भनी थाहा पाउनका लागि केही जाँचहरु गर्ने गरिन्छ।

जस्तै- यो रोगमा कहिलेकाहीं छाति पोल्नुका साथै दुख्ने पनि हुन्छ र मुटुका रोगहरुसँग झुक्किने हुन्छ। त्यसैले त्यस्तो बेला मुटुको रोग हो होइन भनि छुट्याउनका लागि मुटु सम्बन्धि जाँचहरु (इसिजी, मुटुका इन्जाइमहरुको मात्रा आदि) गर्नुपर्ने हुन्छ। त्यस्तै कहिलेकाहीं पेटका अन्य रोगहरु जस्तै प्यान्क्रियाटाइटिस/ Pancreatitis (प्यान्क्रियाज/ Pancreas को इन्फ्लामेसन), एपेन्डिसाइटिस/ Appendicitis (एपेन्डिक्स/ Appendix को इन्फ्लामेसन), कोलेसिस्टाइटिस/ Cholecystitis (पित्तथैलीको इन्फ्लामेसन) आदि रोगहरुसंग झुक्किने हुन्छ।

त्यसैले ती रोगहरुबाट छुट्याउनका लागि रगतका विभिन्न जाँचहरु, पेटको भिडियो एक्स-रे आदि गर्नुपर्ने हुन्छ। साथै कुनैकुनै अवस्थामा ग्याष्ट्रिक/ ग्यास्ट्राइटिस रोगमा हुनसक्ने जटिल अवस्थाहरु जस्तै ग्याष्ट्रिक अल्सर (आमाशयको भित्री भागको सतह खिइएर घाउ हुनु), ड्युडेनल अल्सर (सानो आन्द्राको अल्सर), आमाशय वा आन्द्रामा प्वाल पर्ने (Perforation of peptic ulcer or duodenal ulcer) आदि भए नभएको थाहा पाउनको लागि अप्पर इन्डोस्कोपी/ Upper Endoscopy (मुखबाट पाइप छिराएर पेटमा घाउ भएनभएको हेर्ने जाँच गर्ने), पेटको एक्स-रे गर्ने आदि गर्नुपर्ने हुन्छ।

त्यस्तै हेलिकोब्याक्टर पाइलोरी/ H. pylori किटाणुले गर्दा भएको हो की भन्ने शंका लागेमा त्यस सम्बन्धि जाँचहरु पनि गर्न सकिन्छ। यसका जाँचहरु नेपालका सबै अस्पतालहरुमा उपलब्ध नहुन सक्छन्।
यी सबै जाँचहरु र आफूलाई गर्न लागिएका जाँचहरुका बारेमा आफ्नो चिकित्सकसँग राम्ररी छलफल गर्नुपर्छ।

जटिलताहरु : – 
यो रोगको समयमा नै उपचार नभए ग्याष्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर हुँदा बारम्बार रक्त स्रावले गर्दा सामान्य–रक्तअल्पताको समस्या देखा पर्नुका साथै भिटामिन बी–१२ को अबशोषणमा चाहिने तत्वहरुको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पताको लक्षणहरु जस्तै, स्नायु तथा नाडीहरुको क्षय, मांशपेशीहरुको कमजोरी, तातो चीसो थाहा नपाउने समस्या देखा पर्दछन् ।यसका अलावा, अन्ननली सुन्निने, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्राहरुमा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्काशनमा जटिलता आई कब्जियतका लक्षणहरु पनि देखा पर्न सक्छन ।

यो रोगबाट बच्न के गर्न सकिन्छ?
साधारणतया ठिक समयमा खाना खाने, पेट खालि नराख्ने, चिल्लो, पिरो अमिलो धेरै नखाने, पानी प्रशस्त मात्रामा पिउने आदि गर्नाले यो रोगबाट बच्न सकिन्छ। रक्सी चुरोटको सेवन कम गर्ने, मानसिक चिन्ता कम लिने गर्नाले पनि यो समस्याबाट बच्न सकिन्छ। साथै दुखाइ कम गर्ने औषधीहरुको अनावश्यक र अत्यधिक सेवन गर्नुहुदैन। र रोगको शंका लागेमा तुरुन्त डाक्टरलाई देखाइ औषधी सेवन गर्ने रोकथामका उपायहरु अपनाउने गर्नाले यसका जटिल अवस्थाहरुबाट बच्न सकिन्छ।

यसको उपचार के हो?
ग्याष्ट्राईटीस धेरै कारण ले हुने रोग हो । उपचार गर्दा विशेषतः रोगको कारण पत्ता लगाएर नै उपचार गर्नू पर्छ ।
घरेलु उपचारहरु जस्तै चिल्लो, पिरो, अमिलो कम खाने, पानी प्रशस्त मात्रामा पिउने, धेरै बेर खाली पेट नबस्ने आदि गर्नाले पनि यो रोगबाट धेरै छुटकारा मिल्छ। ग्याष्टिकको समस्या धेरै नै छ र घरेलु उपचारले मात्रै ठिक भएन भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।

यो रोगका लागि चिकित्सकले प्रायः प्रयोग गर्ने औषधीहरुमा एन्टासिड (Antacid) आमाशय भित्रको अम्लको असर कम गर्नका लागि,  रेनिटिडिन (Ranitidine) जुन एसिलक, आर-टिन आदि नाममा पाइन्छ र प्रोटोन पम्प इन्हिबिटर (Proton pump inhibitor) प्राजोल समुहका औषधीहरु जस्तै ओमेप्राजोल (Omeprazole), प्यान्टोप्राजोल (Pantoprazole), एस्मोप्राजोल (Esmoprazole) आदि, जुन प्यान्टोप, प्यान ४० आदि विभिन्न व्यापारिक नामहरुमा पाइन्छन्। साथै हेलिकोब्याक्टर पाइलोरी किटाणुको संक्रमणले गर्दा यो समस्या भएको हो भने ट्रिपल थेरापी (Triple therapy) भनिने उपचार पद्धति शुरु गरिन्छ, जसमा प्रायः क्लारिथ्रोमाइसिन/ Clarithromycin, एमोक्सीसिलिन/ Amoxicillin र ओमेप्राजोल/ Omeprazole गरी ३ औषधीहरु ७ दिनको लागि प्रयोग गरिन्छ। यी औषधीहरु हामीमध्ये धेरैजसोले साधारण ग्याष्टिकको औषधी त हो नि भनि चिकित्सकको सल्लाह विना प्रयोग गर्ने गर्छौं तर यिनका खराब असरहरु पनि हुन्छन् र चिकित्सकको सल्लाह विना यिनको प्रयोग गर्नु हानिकारक हुनसक्छ। अझ अरु रोगको औषधी पनि खाइरहनु भएको छ भने ती औषधीहरुसंग यसले प्रतिकि्रया (रियाक्सन/ reaction) गर्नसक्छ। त्यसैले यस्ता औषधीहरुको प्रयोग गर्नु अघि चिकित्सकसंग सल्लाह लिनु उचित हुन्छ।

दिर्घ/जीर्ण ग्याष्ट्राइटिसको ठूलो हिस्सा जीवनशैली सँग सम्वन्धित भएकाले जिवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जिवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम विचार र व्यवहारहरुलाई स्वस्थ्य मैत्री हुने गरी समायोजन गर्नु हो ।


भोजन व्यवस्थापनः 
१) बट्टा र बोतलमा संरक्षीत खाद्य–पदार्थहरु, फास्ट तथा जंक फुडहरु, ज्यादा मसला, खुर्सानी, नुन हालेको, अजिनोमोटो, सोडियमबाईकार्बोनेट, सोडियम बेन्जोएट जस्ता पदार्थ मिसाईएका खाद्य पदार्थहरु बाट पनि टाडै बसौं ।

२) अचार, कुरकुरे, आलुचिप्स, पाउ, चाउचाउ, बिस्कुट, नुडल्स, जस्ता खाद्यनले पनि ग्याष्ट्राइटिसलाई बढाउछ । चिया, कफि, कोल्डड्रिङ्कस जस्ता पेय, आइसक्रिम र चकलेट् जस्ता लेह, बेकरी तथा मैदाका उत्पादन जस्ता भोज्य र माछा–मासु जस्ता भक्ष्य पदार्थहरु पनि ग्याष्ट्राइटिसका लागी राम्रा होईनन् ।

३) चिल्लो–चाप्लो र धेरै बोसो भएको खानेकुरा नखाऔं। अमिलो र पिरो जातका फलफुलहरुको सेवन पनि नगरौं ।

४) भोजन गर्दा खुब चपाई चपाई खाउँ । याद राखौ पेटभित्र दाँत हुदैन नचपाई खाएको भोजनले पेटलाई भोजन पचाउन अतिरिक्त दबाव दिने हुँदा ग्याष्ट्राइटिसको सम्भावना ज्यादा हुन्छ ।

५) कुनै खाना खाए पछि अम्लपित्त बढ्न गएमा त्यस्ता भोजनलाई त्यागि दिउँ । ६) भोजन गर्दा पानीको प्रयोग यथा सम्भव कम होस ।

७) भोजनको समय निश्चित गरी दैनिक उसै समयमा भोजन गर्ने गरौं । दिनमा होस वा राती भोजन पछि लगत्तै सुत्ने बानी छ भने त्यागि दिऊ । भोजन र निन्द्राको बिचमा कम्तिमा पनि ३ घण्टाको अन्तर होस ।

८) भोक लाग्ने बित्तिकै हल्का फुल्का केही खाने गरौं, यहा बर्जित खानेकुरा बाहेक ।

९) अत्याधिक तातो र चिसो खाद्य बस्तुहरुको पहरेज गरौं । नुन चिनी, मैदाका परिकार पनि पेट मैत्री हैनन् ।

१०) नसालु पदार्थहरु जस्तैः– जाँड–रक्सी, सुर्ती–चुरोट, पान–गुठ्का, गाँजा–भाङ, कोकिन, क्याफिन, टेनिन जस्ता वस्तुहरुको सेवन नगरौं ।

११) रेशा र चोकरले युक्त खस्रामोटा खानेकुराहरु, साग–सब्जी, सलाद–फलफुल र अङ्कुरित अन्न, फलको रस, ताजा मोही, पखाले, लस्सीको सेवन ग्याष्ट्राइटिसमा स्वस्थकर छ ।

१२) फ्लेवेनाइड युक्त भोज्य पदार्थहरु जस्तैः स्याउ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ्ग, जिरा जस्ता खाद्य पदार्थलाई भोजमा समावेश गरौं ।

१३) पानी प्रशस्त पिऊ, यसो गर्दा ग्याष्ट्रिक एसिडले आमाशयलाई हानी पुर्याउन पाउदैन । व्यायम तथा


प्राकृतिक उपचारः 
१) अङ्गव्यायम, रिढव्यायम, शिथिलीकरण व्यायम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगअभ्यास, सुर्य–नमस्कार जस्ता व्यायम विधि ग्याष्ट्राइटिसमा स्वास्थ्यकर छन् ।

२) बज्राशन, पवनमुक्ताशन, सर्वाङ्गआसन, मत्स्यन्दासन, भुजङ्गासन, उदारकर्शासन र धनुरासन, ताडाशन र त्रियकताडाशन जस्ता आशन विधि, अनुलोमविलोम, सितली, सित्करी, बामनाकिा जस्ता श्वसन विधिले पनि यस रोगमा फाइदा पु¥याउदछ तर रोगको अवस्था तिव्र छ भने यी विधिहअरुको प्रयोग गर्न हुदैन ।

३) जलनेती (नाकको सफाई) कुन्जल (पेटको सफाई), एनिमा (ठुलो आन्द्राको सफाई), संखप्रक्षालन (सम्पुर्ण पाचन प्रणालीको सफाई) जस्ता उपचार पद्दतिले ग्याष्ट्राइटिस समनमा ठुलो सहयोग पुर्याउछ ।

४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो–हेपेटिक–प्याक, नौलि तथा गणेश क्रियाको अभ्यास र अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्याष्ट्राइटिसमा राम्रो गर्छ ।


बिश्राम व्यवस्थापनः 
१) ग्याष्ट्राइटिस, तनाव पुर्ण जीवन ज्यूउनेहरु, डर, चिन्ता, खिन्नता, उदाशिनता र अनिन्द्राको रोगीहरुलाई भै रहने रोग हो । तसर्थ तनाव व्यवस्थापन ग्याष्ट्राईटीस निवारणको कडी हो ।

२) शारिरिक तथा मानसिक रुपले विश्राम लिनका लागी योग आसन, योग निद्रा, माइन्ड– साउन्ड–रेसोनेन्स–टेक्निक, प्राणिक–इनरजाईजीङ्ग–टेक्निक, सेल्फ– मेनेजमेन्ट–अफ–एक्सेसिभ –टेन्सन, जेकब्सन–प्रोग्रेसिभ–मसल्स्–रिल्याक्सेसन टेक्निक, डिप–रिल्याक्सेसन्–टेक्निक, क्विक–रिल्याक्सेसन–टेक्निक, ईन्स्टेन्ट–रिल्याक्सेसन्–टेक्निक जस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ ।

३. सम्पूर्ण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले पनि बिश्रामलाई बढाउँछ ।


साबधानीहरुः 
१) दुखाई कम गर्ने तथा अन्य दवाईहरु चिकित्सकको परामर्शमा मात्र लिने गरौं ।

२) माथि बताईएका लक्षणहरु देखा पर्न गए चिकित्सक सँग आवश्यक परामर्श लिऔं

३) ग्याष्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पुर्णरुपले खाने गरौं ।

४) कलेजो, मृगौला, फियो र आन्द्राका रोग भएकाहरुले रोगको हेरचाहमा सावधानी अपनाऔं ।

५) पेटको तथा छातिको अप्रशेन गर्दा ग्याष्ट्रिक हुने सम्भावना ज्यादा रहने हुँदा सावधानी अपनाऔं ।


र अन्त्यमा,
ग्याष्ट्रिक रोगमा धेरैले पेटको माथिल्लो भागमा भुक्लुक भुक्लुक उफ्रने, गोला हिड्ने गरेको बताउने गर्छन्। तर चिकित्सा शास्त्रमा ग्याष्ट्रिक/ ग्यास्ट्राइटिसमा त्यस्ता लक्षणहरु हुन्छन् भनेर भनेको छैन। त्यसो भने ती लक्षणहरु के हुन् त?

डाक्टरको व्यक्तिगत अनुभवका आधारमा भन्ने हो भने पेटको माथिल्लो भागमा भुक्लुक भुक्लुक उफ्रने कुरा शरीरको सबैभन्दा ठूलो धमनी (रगत मुटुबाट शरीरका अन्य भागहरुमा लैजाने रक्तनली) एब्डोमीनल एओर्टा (Abdominal aorta) हो। यो मुटुको खुम्चने र फुक्ने प्रकि्रयासँगै खुम्चने र फुल्ने गर्छ। ग्यास्ट्राइटिसमा दुख्ने आमाशय, ड्युडेनमको ठिक पछाडी यो धमनी हुन्छ, त्यसैले ती ठाँउहरुमा दुख्ने बेलामा त्यहाँ छाम्दा उक्त धमनी चलेको छामिन्छ र ग्याष्ट्रिक रोगमा त्यो उफ्रेको जस्तो लाग्ने गर्छ। त्यस्तै गोला हिड्ने चाँही सानो आन्द्रा ठूलो आन्द्राहरुको नियमित चल्ने प्रकि्रया पेरिस्टाल्सीस (Peristalsis) हुनसक्छ। खाएको खाना पचाउनका लागि तलतल लैजानका लागि आन्द्राहरु नियमित रुपमा चलिरहने हुन्छन् र विरामीले त्यही चाल याद गरेको हुनुपर्छ।

ग्यास्ट्राइटिस (Gastritis) सम्बन्धि केहि भिडियो तल राखिएको छ :





अम्लियपन वा ग्यास्ट्रिक घटाउने केहि सजिलो उपायहरु ...



0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !