Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » , » कोरियामा काम गरेर फर्केका युवाद्वारा अस्ट्रिच पालेर ३ वर्षमा सवा करोड

कोरियामा काम गरेर फर्केका युवाद्वारा अस्ट्रिच पालेर ३ वर्षमा सवा करोड

बुटवल, २३ असार : कोरियामा काम गरेर फर्केका युवा रुपन्देहीको सूर्यपुरामा  सामूहिक अस्ट्रिचपालन गरेर लाखौं कमाइरहेका छन् । करिब सवा अर्ब रुपैयाँ लगानी भएको नेपालकै एकमात्र अस्ट्रिच फार्म अस्ट्रिच नेपाल प्रालिले अघिल्लो वर्षबाट रुपन्देहीको सूर्यपुरामा सुरु गरेको ३ वर्षे ‘कन्ट्रयाक्ट फार्मिङ’मा १४ जना युवा सहभागी छन् । उनीहरू वार्षिक २० लाख रुपैयाँसम्म कमाउँछन् ।


रुपन्देही, नवलपरासी, स्याङ्जा, कैलाली र कञ्चनपुरसम्मका १४ जना युवाले ४ समूहमा बाँडिएर छुट्टाछुट्टै फार्म दर्ता गरेका छन् र अस्ट्रिच पालिरहेका छन् । ‘कन्ट्रयाक्ट फार्मिङ’ गरिरहेका १४ जनामध्ये १२ जना कोरियामा रहँदा बीबीसीको साझा सवाल कार्यक्रममा अस्ट्रिच नेपाल प्रालिका सञ्चालक सीपी शर्माको अन्तर्वार्ताबाट प्रभावित भएर स्वदेशमै केही गर्नुपर्छ भन्ने संकल्प गरेर फर्केका युवा हुन् ।
न्युज24 का प्रेम बानियाँले सीपी शर्मा संग लिएको अन्तरवार्ता हेर्न यहाँ क्लिक गर्नुहोस् ।

३/३ बिघा क्षेत्रफलका ४ वटा फार्ममा हरेक ३ महिनामा ४०० का दरले वर्षमा १२ सय चल्ला पाल्न सकिन्छ । आलमदेवी, युनाइटेड, पशुपति र नवलपरासी नामका ती फार्मलाई अस्ट्रिच नेपाल प्रालिले हरेक ३ महिनामा ४०० का दरले चल्ला दिन्छ ।  चल्ला पाल्न आवश्यक फार्मका लागि जग्गासहित दाना, घाँस, प्राविधिक सहयोग पनि सबै अस्ट्रिच नेपाल प्रालिले कृषकको फार्ममै पु¥याइदिन्छ । कृषकले चल्ला, दाना, घाँस, प्राविधिक पक्ष कुनैमा पनि लगानी गर्नुपर्दैन । चल्लाको बिमासमेत प्रालिले गरिदिएको छ ।

९ महिनासम्म पालेपछि कृषकले अस्ट्रिच नेपाल प्रालिलाई नै चल्ला फिर्ता गर्छन् । ९ महिना पालेबापत कृषकले प्रतिचल्ला १० हजार रुपैयाँ कमाउँछ । यो क्रम ३ वर्षसम्म दोहोरिरहन्छ ।
स्याङ्जा आलमदेवीका अर्जुन पाण्डे र भुमा द्वारे क्षत्रीसँग मिलेर अस्ट्रिचपालनमा रमाइरहेका आलमदेवी फार्मका धनपति पाण्डे ‘कन्टङयाक्ट फार्मिङ’ गरेको १ वर्षमा  ४० लाख रुपैयाँ कमाउन सफल भएको बताउँछन् ।  “आफ्नै देशमा काम गरेर वर्षमा ४० लाख कमायौं, योभन्दा खुसी अरु के हुनसक्छ ?” उनले भने, “स्वाभिमान बेचेर अरुको देशमा गएर कमाउनुभन्दा आफ्नै माटोमा उद्यम गर्न पाउँदा गर्व महसुस भएको छ ।”
धनपतिजस्तै नवलपरासीका नारायण न्यौपाने र रुपन्देहीका दुर्गेशकुमार यादवसँग मिलेर अस्ट्रिचपालन गरिरहेका चितवनका रमेश चापागाईं पनि ‘कन्ट्रयाक्ट फार्मिङ’को आम्दानीबाट सन्तुष्ट छन् । “कोरियाको भन्दा राम्रो कमाइ पनि हुन्छ । कमाइसँगै आफ्नै देशमा परिवारसँग बसेर काम गर्दै रमाउन पाउनु ठूलो कुरा हो,” उनले भने ।

नवलपरासीकै सन्दीप केसीको नवलपरासी फार्म र कैलालीका सन्तोष देउपाल र कञ्चनपुरका अनन्त खड्काको पशुपति फार्मले पनि वार्षिक १२ सयका दरले अस्ट्रिचका चल्ला पालिरहेका छन् । बेरोजगार युवा र कृषकलाई उद्यमी बनाउने र अस्ट्रिचको उत्पादन बढाउने उद्देश्यले ‘कन्ट्रयाक्ट फार्मिङ’मा सहभागी गराएको  अस्ट्रिच नेपाल प्रालिका सञ्चालक सीपी शर्माले बताए ।
“एक्लै गरेर केही हुँदैन, अवसरको खोजीमा रहेका युवालाई पनि यसमा आबद्ध गराएर जानुपर्छ भनेर यो अवधारणा अघि बढाएका हौं,” शर्माले भने, “यो अवधारणामा अस्ट्रिच पालेर आयआर्जन गर्न चाहने युवालाई लक्षित गरेर सूर्यपुरामा ८० बिघा जग्गाको व्यवस्थापन भइसकेको छ । त्यसमा काम गर्ने जाँगर भएका जो कोही सहभागी हुनसक्छन् ।” २ जना मिलेर गरेको फार्मबाट १ जनाले वार्षिक २० लाख सजिलै कमाउन सक्ने शर्माको दाबी छ ।

‘कन्ट्रयाक्ट फार्मिङ’मा वार्षिक १२ सय चल्ला पाल्न चाहनेले पछि फिर्ता हुने गरी ६० लाख रुपैयाँ धरौटी राख्नुपर्ने सर्त प्रालिको छ । यसमध्ये १० लाख फार्म निर्माणमा खर्च गरिन्छ । प्रालिले कृषकलाई निःशुल्क तालिम पनि दिने गरेको छ । शर्माका अनुसार १२ सय अस्ट्रिच पाल्ने एउटा फार्मले ३ वर्षमा १ करोड २० लाख रुपैयाँ कमाउन सक्छ ।

०६५ सालमा रुपन्देहीको मधवलियामा १५ सय चल्लाबाट सुरु भएको अस्ट्रिच नेपाल प्रालिले अहिले मधवलियाको मुख्य फार्ममा ५ हजार माउ, सूर्यपुरामा ८ सय माउ र ५ हजार चल्ला तथा दाङमा १ हजार माउ अस्ट्रिच पालिरहेको छ । प्रालिले सन् २०१९ सम्ममा वार्षिक ८० हजार अस्ट्रिच उत्पादन गरी वार्षिक सय टन मासु बिक्री गर्ने लक्ष्य लिएको सञ्चालक शर्मा बताउँछन् । आफ्नै दाना प्रशोधन उद्योग र अन्तर्राष्ट्रिय मापदण्डको वधशाला निर्माण गर्ने तयारी पनि प्रालिले गरिरहेको छ ।
साभार: कारोबार डेली

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !