Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » , » एउटा कृषि फारम : जहाँ छिर्न टिकट काट्नुपर्छ

एउटा कृषि फारम : जहाँ छिर्न टिकट काट्नुपर्छ

भाद्र १९, २०७२- नेपालमा कृषि पर्यटनको सम्भावना देख्नुभएको छैन भने ताथली आउनुहोस् । यहाँ यस्तो व्यावसायिक कृषि फारम छ, जहाँ छिर्न टिकट काट्नुपर्छ । गेटमै बोर्ड राखेर यसको सूचना झुन्ड्याइएको छ । शुल्क छ– व्यक्तिगत सय, समूहगत ५ सय रुपैयाँ

यसमा कृषिसम्बन्धी अवलोकनकर्ता, विद्यार्थी र अनुसन्धानकर्ताहरू प्राय: आइरहन्छन् । प्राय: शनिबार विद्यार्थीको भीड लाग्छ । सत्तरी रोपनी जग्गामा तीन वर्षअघि खुलेको पौरखी कृषि फारमले आगन्तुकलाई यसरी लोभ्याउन केही नयाँ काम गरेको छ । तीमध्ये एउटा हो– घाँस खेती ।

तपाईंलाई पनि घाँस किन्नु छ ? कि घाँसको बिरुवा ? अध्यक्ष सुसन कर्माचार्यका अनुसार यहाँको घाँस किन्न सोलुखुम्बुबाट समेत आइपुग्छन् । उपत्यकाका जिल्लाहरूका साथै रसुवा, नुवाकोट, धादिङ, काभ्रे, सिन्धुपाल्चोकका पशुपालक किसान यसका मुख्य ग्राहक हुन् ।

एकदेखि ३५ रुपैयाँ गोटासम्ममा बिक्ने घाँसको बिरुवाबाटै यो फारमले बर्सेनि १० लाख रुपैयाँभन्दा बढी कमाउँछ । प्रबन्धक भानु पराजुलीका अनुसार ५५ रोपनी जग्गामा ४० प्रजातिका आयातित घाँस लगाइएको छ । तिनमा सीओ–थ्रि नेपियर, मुलाटो, अम्रिसो, भटमासे, ग्रिनलिप, निमारो, खन्युलगायत छन् ।

‘सुरुमा अन्यत्रका गाईपालन हेर्न गयौं । मान्छे आउँदा गाई आसले कराएको देख्यौं’, सञ्चालक सुदर्शन पराजुलीले भने, ‘त्यही भएर घाँस खेती गर्न प्रेरित भएका हौं । यसबाट आफ्ना गाईलाई पोसिलो आहार पुग्नुका साथै राम्रो आम्दानीसमेत भइरहेको छ ।’

यसमा अहिले दुध दिने १३ वटा गाई, १० वटा कोरली, हजार वटा लोकल ब्रिड कुखुरा, २० माउसहित ५२ बाख्रा पालिएका छन् । तीन रोपनीमा थोपा सिंचाइ प्रविधिको र ९ रोपनीमा अग्र्यानिक खेती गरिएको छ । सञ्चालक ओमबहादुर बस्नेतका अनुसार वर्षको १५ हजार केजीभन्दा बढी तरकारी उत्पादन हुन थालेको छ ।

राजधानीका सक्रिय युवाको समूहले बनाएको पौरखी सामुदायिक कृषि सहकारीद्वारा सञ्चालित यो फारममा ३६ जनाको करिब एक करोड रुपैयाँ लगानी छ । यसको प्रबद्र्धनमा सरकारका विभिन्न निकाले आर्थिक सहयोगसमेत गर्दै आएका छन् ।


यस ठाउँमा खेती गर्न पानी थिएन । उपेन्द्रप्रसाद पराजुलीको दस रोपनी जग्गा प्राय: बाँझिन्थ्यो । बेलामा वर्षात् भयो भने जेनतेन खान पुग्थ्यो । त्यसबाट दिक्क भएका उनी ताथली छोडेर कोटेश्वर बसाइँ सरे । ८६ वर्षको उमेरमा बल्ल उनले त्यही जग्गा हराभरा देख्न पाए । ‘चाहे गर्न सकिने रहेछ’, उनले भने, ‘हाम्रो गाउँ यस्तो बन्छ भन्ने मैले त चिताएको पनि थिइनँ ।’ उनको १० सहित गाउँका अरूले त्यसरी नै छोडेका जग्गा बटुलेर भाडामा लिई पौरखीले कृषिमा हात हालेको हो । तीन वर्ष नहुँदै उसले तीन रोपनी जग्गा किनिसकेको छ ।

ताथली पानीको मूल धेरै भएको ठाउँमा पर्छ । तर, ती सबै यस गाउँभन्दा तलतल पर्छन् । ‘खानेपानी आयोजना जति आए पनि अन्यत्रै केन्द्रित थिए’, स्थानीयबासीसमेत रहेका सुदर्शन सुनाउँछन्, ‘खानेपानीका लागि समेत धारामा पानी आउँदैन थियो । कुवाबाट ल्याउनुपथ्र्यो ।’

पौरखीले तलका मुहानबाट संकलन गरेर मोटरले पानी तानेको छ । पाँच लाख लिटर क्षमताको पक्की ट्यांकी बनाइएको छ । त्यसमा आकाशे पानीसमेत संकलन गरिन्छ । अब सिंचाइका लागि कुनै समस्या छैन । यसलाई पर्यटकीय गन्तव्यकै रूपमा विकास गर्न चाँडै ‘होम स्टे’ सञ्चालन गर्ने कर्माचार्यले जानकारी दिइन् ।
साभारः कान्तिपुर 

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !