Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » बोत्तल कागज बटुलेर करोडपति ! सफलताको कथाः

बोत्तल कागज बटुलेर करोडपति ! सफलताको कथाः

आफ्नै देशमा सम्भव छ सफल व्यवसाय

खाली बोत्तल, कागज, फलामका टुक्रा भन्दै साइकल डोर्‍याउनेहरुको मेहेनत देखेर उनी प्रभावित थिए । भारतीय मूलका नागरिकहरु काठमाडौंका गल्ली गल्ली डुलेर खाली बोत्तल, कागज र फलामका टुक्रा सङ्कलन गर्थे । के जाडो के गर्मी कुनै मौसमले पनि फरक पार्दैनथ्यो उनीहरुलाई । बिहान सबेरैदेखि राति अबेरसम्म साइकल डोर्‍याइरहेका भेटिन्थे । तर, त्यो काममा उनी कोही पनि नेपाली देख्दैनथे ।

त्यो काम, जसलाई हेयको दृष्टिले हेरिन्थ्यो । र, अहिले पनि हेरिन्छ । तर, काठमाडौंको ताहाचलबाट शिक्षा संकायमा स्नातक गरेका धादिङका रामहिरा पाठकलाई त्यो काम तल्लोस्तरको हो भन्ने लागेन । बरु उनलाई लाग्यो, यो काममा पैसा नहुने भए किन मान्छेहरु भारतदेखि आएर रातदिन खटिरहेका छन् ? साँझ बिहान केही नभनी किन खाली बोत्तल, कागज, फलामका टुक्रा भन्दै घोक्रो सुकाइरहेका छन् ? पक्कै केही छ ।

स्नातक गरिसकेका रामहिराले जागिर नखोजेका होइनन् । झुत्रा कागज सङ्कलनको काममा प्रवेश गर्नुभन्दा अघि करिब पाँच महिना काठमाडौंमा धुइँधुइँति जागिर खोजे । बिहान उठेर पत्रिकाका सूचना हेर्नु र जागिरका लागि विभिन्न कार्यालयहरु धाउनु उनको दैनिकी नै बनेको थियो । जागिरको खोजीमा भौतारिँदा भौतारिँदा चप्पलका लोता कैयन पटक छिने । खल्तीमा भएको दुई चार सय पनि कार्यालयहरु धाउँदा नै सकियो । जागिर खोजेर हार खाए उनले ।

जागिरबाट हार खाएपछि प्रतिज्ञा गरे, अब म जिन्दगीमा जागिर नै खान्न । आफ्नै केही काम गर्छु । तर, के काम गर्ने आफैंले ? उनीसँग कुनै ठोस विकल्प थिएन । उनका मनमा अनेकौं व्यवसायिक सोचहरु आउँथे । तर, पैसाको अभावमा ती हरेक सोच धेरैबेर टिक्दैनथे । छिट्टै सेलाइहाल्थे । । ती हरेक सोचलाई लगानीको भूतले तर्साइदिन्थ्यो । हातमा पैसा नभएपनि उनी कल्पनाका ठूला ठूला महल ठड्याउँथे । ठूला ठूला व्यवसाय सञ्चालनका सपना बुन्थे ।

उनले आइए पढ्दाताका ट्युसन पढाउने र चुंगिकरको कार्यालयमा करिब एक वर्ष काम गर्ने अवसर पाएका थिए । ०४६ को जनआन्दोलन सफल भएसँगै चुंगिकरको कार्यालय बन्द भयो । त्यसपछि उनी बेरोजगार बने । र, जागिरको खोजीमा भौतारिए । कसैले उनलाई पत्याएनन् । त्यसपछि उनी यस्तो काममा होमिए जुन काम न उनका बाउ बाजेले गरेका थिए । न टोल, छरछिमेक र चिनेजानेका कसैले नै ।

उनको गाउँमा मात्र होइन, उनको सम्झनामा भएअनुसार तत्कालिन अबस्थामा कुनै नेपालीले पनि नगरेको काम थियो त्यो । उनको दाबी छ, म नै एकमात्र नेपाली थिएँ खाली बोत्तल, कागज, फलामका टुक्रा सङ्कलनको काममा लाग्ने व्यक्ति । उनी भन्छन्, त्यो काममा तराइ मधेश मुलका नेपाली त पछि आएका हन् ।

भारतीय नागरिकहरु खाली बोत्तल, कागज, फलामका टुक्रा भन्दै गल्ली गल्ली चहार्थे । तर, उनी त्यो काममा नेपाली देख्दैनथे । उनलाई लाग्थ्यो, के नेपालीले चाहिँ गर्नै नहुने काम हो र यो ? एकातिर जागिर नपाएको पीडा अर्कातिर अन्य व्यवसायका लागि लगानी जुटाउन नसक्ने अबस्था । त्यहिकारण उनले तिनै भारतीय नागरिकहरुले गरिरहेको काम रोज्ने निर्णय गरे ।

एउटा थोत्रो साइकल किने । अनि झुत्रा कागज सङ्कलनको काममा लागे । स्नातक गरेका रामहिराको दैनिकी अब झुत्रा कागज सङ्कलनको काममा बित्न थाल्यो । बिहानै उठ्नु अनि साइकल डोर्‍याएर झुत्रा कागज खोज्दै बजार डुल्नु उनको नियमति काम हुन थाल्यो । दिउँसभरी कागज संकलन गर्थे र बेलुकी साइकलमा बाँधेर टंकेश्वरस्थित गोदाममा पुग्थे । मासिक दुई सय रुपैंयाँमा कागज थुपार्ने गोदाम लिएका थिए उनले ।

केही काम नपाएको झोकमा कागज सङ्कलनको काम गरे पनि त्यसको विस्तृत आइडिया भने थिएन । पोखरीमा हाम फालेपछि धेरथोर पौडिहालिन्छ भन्ने मान्यतामा उनले कागज सङ्कलनको काम शुरु गरेका थिए ।

निकै कागज सङ्कलन भएपछि भारतीय ठेकेदारहरु आउँथे र कागज किनेर लैजान्थे । झुत्रा कागज सङ्कलन गर्न मात्र गाह्रो थियो सङ्कलन गरेपछि विक्रीका लागि समस्या थिएन ।

साइकल डोर्‍याएर कागज बटुल्दै हिँड्दा उनीसँगै पढेका साथीहरु चाहिँ जिस्क्याउथे । चिनेजानेका मान्छे अछुत व्यवहार गर्थे । टोल छरछिमेकका मान्छे उनलाई देखेर जिब्रो टोक्थे । यो मान्छेको कस्तो मति बिग्रेको होला, बिए पास गरिसकेको मान्छेको बुद्धि किन यस्तो आएको होला भनेर कुरा काट्थे । मानौं उनी दिमाग खुस्किएर झुरा कागज बटुल्दै हिँडेका छन् उनले यो दुनियाँमा गर्नै नहुने काम गरेका छन् ।

एकदिन उनी गोरखापत्र संस्थानको कार्यालय पुगे । प्रकाश नाम गरेका व्यक्ति प्रशासन फाँटमा थिए । झुरा कागजको टेण्डर खुलेको कुरा उनले प्रकाशबाट जानकारी पाए । तर, टेण्डर भनेको के हो भन्ने कुरा नै थाहा थिएन उनलाई । के हो टेण्डर भनेको ? उल्टै प्रकाशलाई प्रश्न गरे ।

झुरा कागज खोज्दै बजारमा हिँड्ने नेपाली त्यसअघि प्रकाशले पनि नभेटेका कारण हुन सक्छ रामहिरालाई सकेको सहयोग गरे । रामहिराका नाममा टेण्डर पर्‍यो । अब टंकेश्वर गोदाममा कागजको भोलुम बढ्न थाल्यो ।

त्यही क्रममा एकजना भारतीय नागरिकले उनीसँगै मिलेर झुरा कागजको काम गर्ने इच्छा देखाए । जसलाई सहजै स्विकारे रामहिराले । एक्लै भन्दा पार्टनरसिपमा भयो भने काम गर्न सहज होला भन्ने सोचका साथ ती भारतीयलाई आफ्नो पार्टनर बनाए । त्यसपछि साँच्चै उनलाई काममा सहज भयो । भारतीय नागरिकसँगको पार्टनरसिपपछि कागज सङ्कलन र विक्रीका नयाँ नयाँ स्थान पत्ता लाग्यो । झुरा कागज सङ्कलन र विक्रीको व्यवसायले राम्रै गति लिन थाल्यो ।

उनी झुरा कागज सङ्कलनका लागि विभिन्न प्रेस र कार्यालयहरु पुग्थे । नेपाली अझ त्यसमा पनि पहाडी समुदायको मान्छे त त्यो पेशामा लागेकै थिएनन् । त्यसैले मान्छेहरु उनलाई हिन्दी भाषामा बोलाउँथे,भैया इदर आओ इदर आओ । उनलाई चाहिँ हाँसो उठ्थ्यो । र, भन्थे- म हिन्दी बुझ्दिन नेपाली मात्रै बुझ्छु ।

केही समय पार्टनर रहेका भारतीय पछि अलग भए । अलि उमेर गएका थिए । त्यसैले म नसक्ने भएँ म भारततिरै जान्छु भनेर बिदा भए । केही नजान्दै कागज सङ्कलनको काममा लागेका रामहिराले भारतीयसँगको सङ्गतपछि धेरै कुरा जानिसकेका थिए । जसले गर्दा त्यो व्यवसाय छोड्ने भन्ने कुरै थिएन । व्यवसायिक रस राम्रैसँग भिज्न थालिसकेको थियो ।

आफू मात्रै दौडिएर व्यवसाय फस्टाउँदैन भन्ने लाग्यो उनलाई । त्यसपछि कागज सङ्कलनका लागि मान्छे राख्ने निर्णयमा पुगे । मासिक तलबमा १५, २० जना राखे । तर, ती मान्छे एक डेढ महिनाभन्दा बढी टिकेनन् । कागज खोज्दै बजारमा जान लाज माने । विभिन्न बहाना बनाएर ती सबैले पालैपालो काम छोडे ।

पुराना कागजको अर्डर निकै आउँथ्यो । तर, अर्डर पूरा गर्न नसक्ने अबस्थामा थिए उनी । नेपालमा कागज बटुल्ने मान्छे पाएनन् त्यसपछि भारतको बिहार गएर केही मान्छे ल्याए । तिनलाई राम्रै कमिशन दिए । काममा लाग्न प्रेरित गरे । उनीहरुका आधारभूत आवश्यकता पूरा भएपछि काममा निकै खटिए ती मान्छे ।

गोदाममा पुराना कागजको ओइरो लाग्यो । तर, कागज उठाउने मान्छे आएनन् । तिर्नुपर्ने पैसा पनि तिरेनन् । अब उनी समस्यामा परे । बिहार पुगेर काम गर्ने मान्छे खोजेर ल्याउनु पनि कागज किन्नेहरु नआउनु पनि । दोहोरो समस्या आइपर्‍यो ।

गोदामको कागज बिक्रीका लागि उनी जनकपुर पुगे । जनकपुरको एभरेष्ट पेपर मिल्समा गएर कुरा गरे । एभरेष्ट मिल्सका सञ्चालकले कानुनी रुपमा दर्ता भएको कुनै व्यवसायिक संस्थाबाट मात्रै कागज लिन सकिने बताएपछि उनी काठमाडौं फर्किएर गौरब सप्लायर्स नामको व्यवसायिक फार्म खोले । पुराना, झुुत्रा कागज सङ्कलन र विक्रीको काम अब उनी गौरब सप्लायर्समार्फत् गर्न थाले । एभरेष्ट पेपर, भृकुटी कागज लगायतका उद्योगमा पुराना कागज विक्री गरिरहेका उनलाई पछिल्लो पटक एम के पेपर मिल्सबाट एउटा प्रस्ताव आयो । पार्टनरसिपको प्रस्ताव । त्यसपछि उनी एम के पेपर मिल्समा जोडिए ।

पुराना कागज सङ्कलन र विक्री वितरणको काम गौरव सप्लायर्स मार्फत हुन थाल्यो भने कागज पुन: प्रसोधनको काम एम के पेपर मिल्सबाट । अब भने पुराना कागजको खपतका लागि ग्राहक खोज्दै हिँड्नुपर्ने झञ्झट हट्यो ।

पुराना कागज सङ्कलनका लागि साइकल डोर्‍याएर बजार डुल्ने रामहिरा पेपर मिल्सका मालिक बने । त्यसपछि छपाइ सम्बन्धि कामका लागि छुट्टै प्रेस खोले । थोत्रा कागज सङ्कलन गर्ने, त्यसलाई प्रशोधन गरेर फेरि नयाँ कागज बनाउने अनि आफ्नै प्रेसमा छपाइ गर्ने । फेरि कापी, पुस्तकका रुपमा तिनलाई बजारमा पठाउँने अनि फेरि उसैगरी गौरब सप्लायर्समार्फत् एम के पेपर मिल्समा पठाएर नयाँ कागज बनाउने । एक किसिमको चक्रिय व्यवसायमा परिणत भयो कुनैबेला थोत्रो साइकलबाट शुरु भएको उनको झुत्रा कागजको व्यवसाय ।

झुत्रा कागजसँगै थोत्रा प्लाष्टिक र प्लाष्टिकजन्य सामग्रीहरुको सङ्कलन पनि गथ्र्यो गौरव सप्लायर्सले । पछि तिनै प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थको पुनः प्रशोधन गर्ने उद्योग नै खुल्यो, प्लाष्टिक उद्योग प्रा.लि. । जुन उद्योगबाट अहिले प्लाष्टिक तथा प्लाष्टिकजन्य भाँडाहरु उत्पादन भइरहेका छन् ।

रामहिराको प्रत्यक्ष लगानीमा सञ्चालित अर्को व्यवसायिक संस्थाको नाम हो, संकलन एवं व्यवस्थापन केन्द्र कबाडी प्रा.लि.। फलाम तथा फलामजन्य पदार्थहरु बजारबाट सङ्कलन गरेर प्रशोधनका लागि अन्य उद्योगमा पठाउने काम गरिरहेको छ यो कम्पनीले । देशका नाम चलेका डण्डी उद्योगहरुमा यही कम्पनीमार्फत कच्चा पदार्थ आपूर्ति भइरहेको छ ।

कबाडी सामानहरु सङ्कलनका लागि विभिन्न कलेक्सन सेन्टरहरु छन् रामहिराका । मुख्य केन्द्र बल्खुमा छ भने अन्य शाखाहरु उपत्यकाका विभिन्न स्थानहरुमा । चार पाँचवटा गाडी र दर्जनौं साइकल कबाड सामानहरुको ओसारपसारमा दैनिक रुपमा परिचालित छन् । मासिक करिब १५ सय टन थोत्रा कागज र हजार टन फलामका टुक्रा सङ्कलन हुन्छ उनको कम्पनीमा ।

एउटा थोत्रो साइकलबाट शुरु भएको व्यवसाय अहिले करोडौंमा पुगेको छ । कागज उद्योग, प्लाष्टिक उद्योग, गौरव सप्लायर्स, कबाडी उद्योग लगायतमा गरी अहिले सयौंले रोजगारी पाएका छन् । जतिबेला उनी रोजगारीका लागि भौतारिन्थे त्यतिबेला सायदै सोचेका थिए होलान्, म सयौंलाई रोजगारी दिने अबस्थामा पुग्नेछु भनेर ।

कबाड व्यवसायमा लागेको भन्दै सुरुवातीका दिनमा उनले थुप्रैको अपहेलना सहे भने पछिल्लो समयमा अपहेलनाको शिकार उनका छोरा भए । काठमाडौंको एक नाम चलेको स्कुलमा पढ्थे उनका छोरा । तर, बुवाले कबाड व्यवसाय गरेको भन्दै उनलाई सबैले कबाडी कबाडी भनेर बोलाउन थाले । त्यसपछि छोरा त्यो स्कुल जानै मानेनन् ।

सबै व्यवसायीहरुका आ-आफ्नै संस्था थिए । व्यवसायिक हकहितका लागि भनेर थुप्रै संघ संस्था खुलेका थिए । ०५१/०५२ सालतिर उनलाई पनि कबाड व्यवसायीहरुको संस्था खोल्न मन लाग्यो । तर, कार्यसमितीको संख्या पुर्‍याउन नै हम्मे पर्‍यो उनलाई । कारण यो व्यवसायमा नेपाली नागरिक अत्यन्त कम थिए । नेपाली नागरिकता नभई जिल्ला प्रशासनमा दर्ता नहुने । त्यसैले संस्था नै दर्ता भएन त्यो पटक । केही वर्षपछि चाहिँ यो व्यवसायमा अन्य नेपाली प्रवेश गरेपछि कार्यसमितिका लागि नागरिकता पुग्यो र संस्था दर्ता भयो । अहिले उनी त्यो संस्थाको पनि अध्यक्ष छन् ।

कुनैबेला संस्था दर्ताका लागि कार्यसमिति सदस्य पुर्‍याउँन समेत हम्मे भएको यो व्यवसायमा अहिले उपत्यकामा मात्रै ११ हजार भन्दा बढि संलग्न छन् । र, ती मध्ये केही रामहिराहरु फलामका टुक्रा र थोत्रा कागजमा पनि हिरा झैं चम्किएका छन् । त्यसैले त रामहिरा भन्छन्, कुनैबेला कबाडी भनेर हेप्नेहरु मेरो सफलता देखेर अचम्मित मात्र भएका छैनन् हामीलाई पनि केही बाटो देखाइदे न भन्न थालेका छन् ।
साभार: अनलाइनखबर 

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !