Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » व्यावसायिक खेतीमा गोल्छा अर्गनाइजेसनको लगानी

व्यावसायिक खेतीमा गोल्छा अर्गनाइजेसनको लगानी

फलाम, खाद्यान्नलगायतका वस्तु उत्पादक र उद्योग र आयात–निर्यात व्यापारमा संलग्न गोल्छा अर्गनाइजेसनले यसै वर्षदेखि व्यावसायिक रूपमा प्राविधिक र अत्याधुनिक खेतीमा लगानी गर्ने भएको छ । कम्पनीका निर्देशक राजकुमार गोल्छाले यो वर्ष ५० बिघा जमिन भाडा लिएर व्यावसायिक रूपमा आधुनिक तरकारी खेती सुरु गरिने बताए ।

२ वर्षभित्र एक हजार बिघा
‘हामीले अत्याधुनिक व्यावसायिक खेतीमा लगानी सुरु गरेका छौँ,’ अर्गनाइजेसनका निर्देशक राजकुमार गोल्छाले भने, ‘यो वर्ष ५० बिघा जमिन भाडामा लिएर धानखेती गर्दैछौँ, अनुकूल अवस्था भए दुई वर्षभित्र एक हजार बिघामा खेती गर्ने लक्ष्य राखेका छौँ ।’ अनियन्त्रित प्लटिङ र युवाहरूको विदेश पलायनका कारण नेपालका खेतीयोग्य जमिन धेरैजसो बाँझा छन्,’ गोल्छाले भने, ‘उत्पादन पर्याप्त आइरहेको छैन । हामीले चलनचल्तीको अन्नबाली धानबाटै खेती सुरु गरेका छौँ ।’

दुईजनाको लगानी साझेदारी
गोल्छाका अनुसार अरिहन्त फार्मस् प्रालि नामक कम्पनीबाट खेती गरिनेछ । कम्पनीमा अन्य दुई युवा उद्यमी गिरिश लुनियाँ र सोमनाथ अधिकारी पनि साझेदार छन् । ‘बढ्दो वैदेशिक रोगजगारीका कारण नेपालमा खेतीका लागि पर्याप्त श्रमशक्ति छैन,’ उनले भने, ‘त्यसैले हाम्रो खेती पूर्णत: यान्त्रिक हुनेछ । जमिन खनजोत गर्ने, गोडमेल गर्ने, धान रोप्ने, काट्ने र दाइँ गर्नेसम्मका प्रक्रिया यान्त्रिक विधिबाटै गरिनेछन् ।’ यो वर्ष ५० बिघा खेतीका लागि कम्पनीले सम्पूर्ण उपकरण भित्र्याइसकेको बताएको छ । खेती बढेसँगै थप उपकरण आयात गरिने कम्पनीले जनाएको छ ।

हाललाई मोरङ र सुनसरी
हाललाई मोरङ र सुनसरीमा खेती गरिने उनले बताए । सुरुमा धान, गहुँ, मसुरो, सूर्यमुखी र चनाको खेती गरिनेछ । साथै आँप, लिची र कागतीखेतीका लागि पनि तयारी भइरहेको छ ।

अर्गानिक खेती दोस्रो चरणमा
‘अर्गानिक खेती गर्ने सोचाइ तत्काल छैन, किनकि अहिले उत्पादन बढाउनुपर्ने खाँचो छ,’ उनले भने, ‘नेपालमा अर्गानिक खाद्य सामग्रीको माग र बजार पनि कम छैन । त्यसैले अर्गानिक उत्पादन हामी दोस्रो चरणमा मात्र सुरु गर्नेछौँ ।’

मापदण्डअनुसार मात्र विषादी र मल
गोल्छाका अनुसार अहिले बजारमा पाइने अन्न, दाल, फलफूल र हरियो तरकारीमा कति रासायनिक मल र विषादी प्रयोग गरिएको छ भन्ने जानकारी कसैलाई हुने गर्दैन । स्वयं किसान पनि बताउन सक्तैनन् । धेरैजसो किसानको प्राविधिक ज्ञानमा पहुँच छैन । सरकारी प्राविधिकको गाउँगाउँमा पहुँच छैन । त्यसैले अधिकांश उपभोक्ताले विषाक्त खानेकुरा पनि प्रयोग गरिरहेका हुन सक्छन् । गोल्छाको कम्पनीले कृषि प्राविधिकसँगको सल्लाहअनुसार मात्र मापदण्डबमोजिमको रासायनिक मल र विषादी प्रयोग गर्नेछ । उपभोक्तालाई प्रयोग गरिएको विषादी र रासायनिक मलले मानव स्वास्थ्यलाई हानि नगर्ने ग्यारेन्टी पनि दिइने गोल्छाको दाबी छ ।
कम्पनीले पहाड र हिमाली भेगमा पनि खेती गर्ने सोचाइ रहेको उनले बताए । ‘खाद्यान्न उत्पादन बढाउनु राष्ट्रिय आवश्यकता भएको छ, कुनै वेला हामी खाद्यान्न निर्यात गथ्र्यौं,’ गोल्छाले भने, ‘नेपाल अति धेरै सम्भावना भएको मुलुक हो । यहाँका सबैजसो ठाउँमा सबै मौसममा २४सै घन्टा काम गर्न सकिन्छ । बाँझो खेती धेरै छ, तर उपयोग छैन ।’

हदबन्दी कानुन लचिलो बनाउन आग्रह
गोल्छा र उनको कम्पनीका लागि नेपालको जमिनको हदबन्दीसम्बन्धी कानुनमा अप्ठेरा छन् । उनको कम्पनी खेतीका लागि जमिन खरिद गर्न चाहन्छ । कानुनअनुसार खरिद गर्न त जति पनि सकिन्छ तर बेच्न ११ बिघा मात्र पाइन्छ । व्यवसाय घाटामा गयो र जमिन बेच्नुपर्‍यो भने कानुनले दिँदैन । त्यसैले संगठित र व्यावसायिक रूपमा अत्याधुनिक खेती गर्ने कम्पनीलाई जमिन खरिद–बिक्री गर्न नियम कानुन लचिलो बनाउन उनको आग्रह छ । राजकुमारको अग्रसरतामा गोल्छा अर्गनाइजेसन यस वर्ष अत्याधुनिक खेतीमा प्रवेश गरेको भए पनि यो नै पहिलो होइन । २२ वर्षअघि स्वर्गीय महेन्द्र गोल्छाले सुनसरीको अमाही बेलाहामा व्यावसायिक खेती सुरु गरेका थिए ।
साभार: नयापत्रिका 

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !