चितवनको नारायणी नगरपालिका १२ जगतपुरमा प्रांगारिक मल कारखाना सञ्चालनमा आएको छ । १० करोडको लगानीमा 'युनिक बायोटेक अग्र्यानिक प्रालि' ले कारखाना सञ्चालनमा ल्याएको हो । ०६८ बाट कम परिमाणमा धुलो प्रागंरिक मल तथा जैविक विषादी उत्पादन गर्दै आएको उक्त कारखानालाई स्तरोन्नतिका लागि कृषि मन्त्रालयले गत वर्ष मेसिन र औजारका लागि १ करोड ८४ लाख रुपैयाँ अनुदान दिएको थियो । मेसिनरी खरिदमा ५० प्रतिशत सरकारी अनुदान पाएको कारखानाले स्तरोउन्नतिसँगै उत्पादन क्षमता बढाएको हो ।२६ सय मेटि्रकटन क्षमता रहेको कारखानाले वाषिर्क ५० हजार मेटि्रकटन मल उत्पादन गर्ने क्षमतामा पुगेको युनिक बायोटेकका प्रबन्धक वासुदेव आचार्यले बताए । ४० लाखको लगानीमा सुरु कारखाना करोडमा पुगेको उनले बताए । विभिन्न जिल्लाका ७ जना मिलेर सञ्चालनमा ल्याएका हुन् ।
रासायनिक मलले माटोको उर्वराशक्ति ह्रास, उत्पादन घट्दै गइरहेको, कृषक तथा उपभोक्ताको स्वास्थ्यमा पनि प्रतिकूल असर परिरहेकाले त्यसलाई निरुत्साहित पार्न सरकारी सहयोगमा सञ्चालनमा ल्याइएको सञ्चालक हरिप्रसाद मरहठ्ठाले बताए । सरकारले प्रांगारिक मल उत्पादन गर्ने कारखानालाई मेसिन तथा औजार खरिदमा ५० प्रतिशत अनुदान दिने नीतिअनुरूप दुईपटक गरी यो कारखानालाई १ करोड ८४ लाख उपलब्ध गराएको उनले बताए ।
कारखानाले प्रांगारिक दानेदार मल उत्पादनका लागि चीनबाट करिब ४ करोडको लागतमा अत्याधुनिक मेसिन भित्र्याएको उनले बताए । प्रांगारिक मल बनाउन कच्चा पदार्थका रूपमा गोबर, पिना, हड्डी, गहुँत, असुरो, वनमारा आदि प्रयोग हुने गरेको उनले बताए । उनकाअनुसार, यस वर्ष १० हजार टन मल उत्पादन गर्ने र आगामी वर्षबाट ५० हजार टन उत्पादन गर्ने योजना छ । धुलो मल उत्पादन गरेको कारखानाले गोरखा, कास्की, लमजुङ, तनहुँ, धादिङ, सिन्धुली, रौतहट, सर्लाही, धनुषालगायत देशका २६ जिल्लामा बजार विस्तार गरेको उनले जनाए ।
सरकारले नसकेको मलको आपूर्ति यसले गर्ने जनाइएको छ । 'मलको प्रयोगले खेतीयोग्य जमिनको उर्वरा शक्ति बढाउन सकिन्छ,' कृषि विज्ञ डा. विष्णु थापाले भने, 'त्यसका लागि यसको निरन्तर प्रयोग गर्नुपर्छ ।' ३ वर्ष निरन्तर यसको प्रयोग गर्दा उत्पादन राम्रो हुने उनले बताए । प्रांगारिक मललाई किसानले रुचाएको उनले दाबी गरे ।
प्रांगारिक मलको प्रयोगले माटोको अम्लियपन घटाउने माटो व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गाप्रसाद दवाडीले बताए । 'खेतीयोग्य जग्गमा रासायनिक मल प्रयोग गर्दा माटोमा अम्लियोपन बढेको छ,' उनले भने, 'त्यसैले यस्ता कारखाना सञ्चालनमा सरकारले अनुदानको नीति लिएको छ ।' देशभरिमा १७ यस्ता उद्योग सञ्चालनमा छन् ।
हरियो मलबाट मनग्ये आम्दानी
पर्सा (कास)- गादी ७ का अगुवा किसान नयनकुमार शर्मा चापागाईंले हरियो मल -ढैंचा) बेचेर आम्दानी गरिरहेका छन् । दुई दशकदेखि उनले यसको व्यावसयिक खेती गर्दै आएका छन् । यसका लागि उपयोग नभएको बगैंचाको जग्गा सदुपयोग गरेका छन् । अधिकांश बगैंचाधनीले बाँझो राखेकामा उनले सदुपयोग गर्न सकिने सन्देश दिएका छन् । ५ बिघा बगैंचामा खेती गरेका छन् । उत्पादित ढैंचामध्ये अधिकांश बिक्री हुन्छ । नबिकेको मलका रूपमा प्रयोग गरिरहेका छन् । उनी जिल्लाकै प्रथम र एक मात्र हरियो मल उत्पादक किसान बनेका छन् । अहिले माग अत्यधिक छ । जिल्ला कृषि कार्यालयका कृषि प्राविधिकमार्फत उनको मोबाइलमा मलको 'अर्डर' आउँछ ।छिमेकी बाराबाट माग आइरहेको छ । बिउ छरेपछि ४० देखि ४५ दिनमा तयार हुन्छ । यसलाई काटेर आवश्यकताअनुसार अन्य खेतमा हाल्न सकिन्छ । सोत्तर बनाएर लाभ लिन सकिने चापागाईं बताउँछन् । 'प्रतिकट्ठा ५० देखि ६० किलोसम्म उत्पादन हुन्छ,' उनले भने, 'प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्ममा बिक्री हुन्छ ।' मल उत्पादन गर्न प्रतिकट्ठा १ देखि डेढ किलोसम्म बिउ छर्दा पर्याप्त हुन्छ ।
कृषि प्राविधिक सहायक उर्मिला श्रेष्ठले मल किसानका लागि अत्यन्त उपयोगी हुने बताइन् । 'लेग्युमेनेसी' परिवारको झारको गिर्खामा 'राइजोबिम' नामक ब्याक्टेरिया हुने र यसले वायुमण्डलमा भएको नाइट्रोजन माटोमा सञ्चित गर्ने काम गर्छ । नाइट्रोजनले उत्पादन बढाउन भूमिका खेल्ने उनले बताइन् ।
साभार: कान्तिपुर


0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !