Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » ५ महिनामै पौने ३ अर्बको तरकारी आयात

५ महिनामै पौने ३ अर्बको तरकारी आयात

भारतबाट मात्रै चालू आर्थिक वर्षको ५ महिनामा झन्डै ३ अर्ब रुपैयाँको तरकारी आयात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ को ५ महिनामा २ अर्ब ६९ करोड ६८ लाख रुपैयाँको तरकारी आयात भएको हो । यो गत वर्ष सोही अवधिको तुलनामा २४ दशमलव ७ प्रतिशतले बढी हो । गत वर्ष २ अर्ब १६
करोड रुपैयाँको तरकारी आयात भएको थियो । ३ अर्ब रुपैयाँको आयात गरेर मुलुकले करिब १० करोड रुपैयाँको तरकारी सोही अवधिमा निर्यात गरेको छ । जसले स्वदेशमै उत्पादन हुन सक्ने वस्तुमा समेत परनिर्भरता बढ्दै गएको देखाउँछ ।

भारतबाट भन्सार नतिरी आउने र चीनको समेत जोड्ने हो भने तरकारीमा खर्चिएको रकम दोब्बर बढी धेरै हुने विश्लेषक बताउँछन् । 'अहिलेको तथ्याङक भनेको भन्सार रेकर्ड -मूल्यांकन) मात्रै हो । सबै गरेर भारतबाट मात्रै करिब ५/६ अर्ब रुपैयाँभन्दा बढीको आयात हुन्छ,' अर्थविद् केशव आचार्यले भने, 'क्वारेन्टाइनबाहेक चोरी नाका र भन्सारबाटै आयात हुने तरकारीको लेखाजोखा छैन । तरकारीमा परनिर्भरता बढ्दो छ ।'
हाउजिङ व्यवसायका कारण खेती गर्ने जमिन मासिएकाले तरकारी उत्पादन कमी भएको उनले बताए । सँगै विदेसिनेको संख्यामा आइरहेको वृद्धिले पनि कृषिमा जनशक्तिको अभाव हुन थालेको छ । परम्परागत तरकारी खेती हुने पहाडमा पनि रेमिट्यान्सको प्रभाव परेर बसाइ सर्ने क्रम देखिएको आचार्य बताउँछन् । जसले उत्पादनभन्दा खपतलाई बढाएको छ ।

भन्सारका अनुसार सबैभन्दा धेरै तरकारी सुनौली/बेलहिया नाकाबाट आयात हुने गर्छ । तथ्यांकअनुसार भारततर्फ निर्यात भने करिब ९ करोड ८७ लाख रुपैयाँको भएको छ । कृषिप्रधान मुलुक भनिए पनि उत्पादन व्यवस्थित नहुँदा बर्सेनि आयात बढ्दै गएको व्यवसायी बताउँछन् । 'मुलुक कृषिप्रधान भए पनि कृषि मजदुरको अभाव छ । कृषिमा लागे पनि बिदेसिने प्रचलन बढ्दो छ,' कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका एक अधिकारीले भने, 'जसले गर्दा तरकारीमा पनि विदेशीकै भरमा बाँच्नुपरेको छ ।' उनका अनुसार हिजोआज कालिमाटीमा आउने तरकारीमध्ये २८ प्रतिशत भारतबाट आउँछ । '४ वर्षअघिसम्म कालिमाटी बजारमा १५ प्रतिशत मात्रै भारतको तरकारी हुन्थ्यो,' उनले भने । कालिमाटी तरकारी बजारले राजधानीमा हुने तरकारीको माग ७० प्रतिशत पूर्ति गर्छ ।

समितिका निर्देशक अर्जुनप्रसाद अर्यालले तरकारीको माग र खपत बर्सेनि बढेकाले मुलुक परनिर्भर हुनुपरेको बताए । 'मुलुकमा तरकारी उत्पादन व्यवस्थित नहँुदा चाहिने बेला अभाव भएको छ,' उनले भने, 'त्यसैले भारतबाट तरकारी आयात बढेको हो । भारतबाट आउने तरकारी प्रायः अफ सिजनका हुन्छन् ।' प्रत्येक महिना विभिन्न थरीका तरकारीको माग रहेकाले व्यवस्थित उत्पादनको आवश्यक रहेको उनको भनाइ छ । निर्देशक अर्यालका अनुसार उपत्यकामा स्थानीय उत्पादनबाट माग पूर्ति गर्न नसक्दा कालिमाटी तरकारी बजारले समेत भारत, तिब्बतबाट समेत तरकारी आयात गरेको छ । गत वर्षको तुलनामा मुलुकमा तरकारी उत्पादन केही वृद्धि भए पनि मागअनुसार अभाव भएको बल्खु कृषि तथा तरकारी बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले बताए । 'तरकारीको खपत बर्सेनि बढ्दै गएकाले आयात पनि त्यही अनुसार बढेको छ,' उनले भने ।
कृषि मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रभाकर पाठकले भारतीय र नेपाली उत्पादनमा देखिने मूल्यको फरकले आयात बढेको बताए ।  'भारतमा धेरै मात्रामा तरकारी उत्पादन हुन्छ । जसले तरकारी सस्तो पनि छ । तर हाम्रो उत्पादन थोरै छ । तुलनात्मक रूपमा तरकारी महँगो पर्छ ,' प्रवक्ता पाठकले भने, 'जसले गर्दा आयात बढेको हो ।' उनले भारतका किसानले कृषिमा अनुदान पाउने गरेकाले पनि भारतीय तरकारी सस्तो भएको बताए । यसले के देखाउछ भने नेपालमा तरकारी खेतीको सम्भावना र अवसर प्रसस्त  रहेको छ ।

साभार : कान्तिपुर 
प्रकाशित मिति: २०७० माघ १३

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !