Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » तरकारीमा विषादी 'उच्च' सचेत रहौं: विज्ञ खान अयोग्य भेटिए नस्ट गरिने

तरकारीमा विषादी 'उच्च' सचेत रहौं: विज्ञ खान अयोग्य भेटिए नस्ट गरिने

'विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला'ले एक महिना अवधिमा जाँच गरेका १ सय ८७ कृषि उपजमध्ये २६ वटा वस्तुमा मानव स्वास्थ्यका लागि घातक रासायनिक विषादी प्रयोग गरिएको फेला पारेको छ ।
दैनिक साढे तीन करोड रुपैयाँ हाराहारीको कारोबार हुने मुलुककै सबैभन्दा ठूलो तरकारी बजार, कालिमाटीमा एक महिनाअघि स्थापित प्रयोगशालाले फलफूल र तरकारीमा विषादी अवशेष शीघ्र पत्ता लगाउने उपकरण 'स्पेक्टोफोटोमिटर' ले परीक्षण गर्दा २६ तरकारी/फलफूल 'खान अयोग्य' देखिएको हो ।

कृषि विकास मन्त्रालय मातहतको बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माका अनुसार प्रयोगशालाले जाँचेका कुल उपजमध्ये मानव स्वास्थ्यलाई हानि पुर्‍याउने विषादीको अवशेष केही आलु, भेडेखुर्सानी, पीरो खुर्सानी, हात्तीसुढे खुर्सानी, बोडी, पालुंगो, काउली, गाँजर, गोलभेडा, प्याज, साग, केरा र लिची गरी २६ उत्पादनमा भेटाइएको हो ।

ती उत्पादनमा ४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष देखिएको छ । बाली बिरुवामा विषादी हालेपछि निश्चित समयसम्म उक्त विषादीको सक्रिय तत्त्वहरू रहन्छन् । यसैलाई विषादीको अवशेष भनिएको हो । आइतबार मात्रै प्रयोगशाला चलाउन मन्त्रालयले पारित गरेको कार्यविधिले 'इनहिबिसन रेसीओ' (रुकावट प्रतिशत) ४५ प्रतिशतभन्दा बढी भएका उपजलाई खान अयोग्य भनेको छ । कुल १ सय ८७ मध्ये रुकावटदर ३५ देखि ४५ प्रतिशत भएका उपज ६ वटा भेटिएका

छन् । पहेंलो रङको रुकावट प्रतिशत मानिने यस वर्गमा परेका तरकारी तथा फलफूल उपजलाई ४ देखि ५ दिनसम्म चिसो अनि तातो पानीमा राखेर मात्रै खान योग्य मानिन्छ । त्यसैगरी हरियो रङको संकेत गर्ने ३५ प्रतिशतभन्दा कम रुकावटदर भएका उपज १ सय ५५ छन् (विस्तृत तालिकामा) । निर्देशनालयका अनुसार क्षेत्रगत आँकडाअनुसार, प्रयोगशालाले जाँचेका उपजमध्ये विषादी अवशेष अत्यधिक प्रयोग गर्नेमा काभ्रे जिल्ला पहिलो स्थानमा छ ।

त्यहाँबाट कालिमाटी ल्याइएका ३८ वटा कृषि उपजको नमुना जाँच्दा ८ वटामा अत्यधिक विषादी पाइएको छ । काभ्रेपछि भारत र अन्य मुलुकबाट आयत गरिएका उपजमा विषादीको अवेशष मात्रा धेरै छ । ११ वटा विदेशी नमुनामध्ये ४ वटा नमुना खान अयोग्य छन् । भक्तपुरका २६ वटा उपजको नमुना परीक्षण गर्दा ४ वटा नमुना अयोग्य भेटिएका छन् । चौथो स्थानमा काठमाडौं र धादिङ परेका छन् । काठमाडौंका २६ र धादिङका ३३ उपजको नमुना जाँच्दा ३/३ वटा उपज अयोग्य भेटिए । त्यस्तै बाराको १, मकवानपुरका १३, चितवनका ८ र पर्साका २ वटा नमुना जाँच्दा एक/एक उपजमा विषादी भेटिएको छ ।
निर्देशनालयबाट खटाइएका प्राविधिकले एक महिना अवधिमा जाँचेका कुल १ सय ८७ नमुनामध्ये ४२ वटा खुद्रा व्यापारी र १ सय ४५ वटा थोक व्यापारीको पसलबाट लिइएको थियो । परीक्षण प्रतिवेदनले ४५ प्रतिशतभन्दा धेरै विषादीको अवशेष भएका उपजमा धादिङको जोगीमाराको करेला, खानीखोलाको भन्टा, काभ्रे पाँचखालको भेडे खुर्सानी, पनौती तथा बारा र भारतबाट आयत गरिएको आलु, भक्तपुर ठिमीको चिनियाँ बन्दा, नगदेशको हरियो प्याज, मकवानपुर कुलेखानीको बन्दागोभी, काठमाडौंको वाफलको सिमी र थानकोटको गोलभेडा देखाएको
छ । विषादीमा अत्यधिक मात्रामा अर्गेनो फस्फेट र कार्वोमेट समूहका रासायनिक विषादीको मात्रा बढी छ । यिनले मानिस र पशुको स्नायु प्रणालीमा हुने एसिटायल कोलिनइस्टरेज इन्जाइमको क्रियाकलापलाई अवरोध गर्छ । विषादीका कारणले मानिस वा जनावरमा हुने इन्जायम कोलिनस्टरेजको उत्पादन तथा सञ्चालनमा विषादीले गर्दा रोकिने प्रक्रिया वा दरलाई नै रुकावट प्रतिशत भनिएको हो ।

साताअघि मात्रै प्रयोगशाला चलाउने कार्यविधि बनेकाले निर्देशनालयले किसान, बिक्रेता, आपूर्तिकर्तालाई सावधानी गराएको छ । धेरै मुनाफा आर्जन गर्ने लालसा राखेर तरकारीमा अत्यधिक कृषक र बिक्रेतालाई सचेत गराउँदा पनि नमाने बिक्री रोक लगाउने कार्यविधिले भनेको छ । ताइवानबाट ल्याइएको नौ लाख रुपैयाँ लागतको स्पेक्ट्रोफोटोमिटर राखिएको प्रयोगशालामा रहेका चार जना प्राविधिक (उपसचिव) ले थोकबजारमा बिक्रीमा राखिने तरकारी र फलफूलको नमुना हरेक दिन लिएर विषादीको अवशेष जाँच्न थालेका छन् । कृषि विभागका महानिर्देश युवकध्वज जिसीका अनुसार, मुलुकमा भित्रिने विषादीको ८५ प्रतिशत तरकारीबालीमा प्रयोग हुन थालेपछि 'विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला' सञ्चालनमा ल्याइएको हो । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कृषि सचिव जयमुकुन्द खनालले यस आर्थिक वर्ष प्रयोगशाला विस्तार गर्ने कार्यक्रम बजेटमा नभए पनि आवश्यक परे चाँडै क्षेत्रीय बजारहरूमा राख्ने मन्त्रालयको योजना रहेको बताए ।
सचेत रहौं: विज्ञ
अतुल मिश्र
काठमाडौं- विषादीको मात्रा बढी भएका फलफूल र तरकारीबाट जोगिन विज्ञहरूले सुझाएका छन् । उनीहरूका अनुसार विषादीको अवशेष रहेका तरकारी र फलफूलले पाचन प्रणाली, रगत, मृगौला, कलेजो, आँखा, मुटु, नशामा जटिल रोग देखिने गरेको छ ।
खाद्यवस्तुमा विषादीको अवशेषको अधिकतम सीमा निर्धारणदेखि बोटबिरुवामै विषादी प्रयोगलाई नियमन गर्ने उद्देश्यले विषादी ऐन र नियमावली ल्याइए पनि कार्यान्वयन कमजोर देखिएको उनीहरूले बताए ।
'तरकारीमा हुने विषाक्त रसायनले मानव र पशु शरीर प्रभावित हुन्छ,' वीर अस्पताल लिभर युनिट प्रमुख डा. अनिलकुमार मिश्रले भने, 'रसायनयुक्त खाद्य पदार्थको दीर्घकालीन उपयोगले विभिन्न अंगमा नकारात्मक असर पर्छ ।' यस्तो तरकारीले दीर्घकालमा असर गर्ने भएकाले तत्काल लक्षण नदेखिन सक्छ ।
'सामान्यतः कुनै तरकारी र फलफूललाई केही समय पानीमा राखेर छोड्दा विषादीको मात्रा घट्छ । दुई चार थोपा भेनेगर हालिएको पानीमा रातभर राख्दा पनि फलफूल र तरकारीमा विषादीको मात्रा केही कम हुन सक्छ,' त्रिवि केन्द्रीय विभागका रसायनशास्त्री विनयकुमार झाले भने ।

खान अयोग्य भेटिए नस्ट गरिने
राजु चौधरी
काठमाडौं- सरकारले विषादी भेटिएका तरकारी जफत गरी नष्ट गर्ने भएको छ । 'विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि' जारी भैसकेकाले यस्ता तरकारी जफत गर्ने बाटो खुलेको हो । यसअघि तरकारीमा विषादी फेला पर्दा पनि व्यवसायीलाई चेतावनी मात्र दिएर छाड्न सरकार बाध्य थियो ।
'बजारमा अत्यधिक मात्रामा विषादी भएका तरकारी ल्याइने गरको छ,' बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक तथा विषादी दु्रत परीक्षण सञ्चालन समितिका सदस्य डिल्लीराम शर्माले भने, 'अब जिल्ला प्रशासन कार्यालयको सहयोगमा विषादी भएका तरकारी जफत गरी नष्ट गरिनेछ ।'
उनका अनुसार यसअघि कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारीमा विषादी प्रयोग भएको भेटिए पनि ऐन/कानुन नभएका कारण व्यवसायीले छुट पाउने गरेका थिए । शुक्रबारदेखि कालिमाटी तरकारी बजारमा भित्रिने तरकारी सवारीसाधनमै परीक्षण गरेर विषादी भेटिए जफत गरी नष्ट गर्ने तयारी सरकारले गरेको हो । तर अन्य स्थानमा भने तरकारी परीक्षण गर्ने मेसिन छैन । 
'साताअघि हामीसँग कारबाही गर्ने कुनै अधिकार थिएन, जसले गर्दा व्यवसायीलाई चेतावनी दिँदै छोडेका थियौं,' उनले भने, 'अहिले कार्यविधि बनेको छ । अब दोषीलाई कारबाही हुन्छ ।'
खाद्यान्नलगायतका वस्तुको परीक्षण भइरहे पनि तरकारीको न्यून हुने गरेको छ । अनुगमनको जिम्मेवारी पाएका निकाय पनि मौन बस्ने गरेका छन् ।

'तरकारीमा विषादीबारे ७/८ वर्षदेखि आवाज उठ्दै आएको थियो,' उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष म्ााधव तिमिल्सेनाले भने, 'जिम्मेवार निकाय यसमा अत्यन्तै चनाखो रहनु पर्छ ।' संयुक्त बजार अनुगमन निर्देशिकाका अनुसार तरकारीमा विषादी प्रयोग भए/नभएको कृषि विभागले हेर्नुपर्छ ।
उपभोक्ता अधिकारकर्मीका अनुसार कृषि विभाग सक्रिय नहुँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग/वाणिज्य विभागले पनि अनुगमन गर्न सक्छ ।
तर जिम्मेवारीबाट पन्छिन खोजेको आरोप उनीहरूको छ । 'तरकारीमा अनुगमन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि गर्न सक्छ, किनभनेे खाद्यसँग प्रयोगशाला छ,' तिमिल्सेनाले भने, 'तर सम्बन्धित निकायले सजिलै पैसा आउने ठाउँमा मात्र अनुगमन गरेको देखिन्छ ।'
उपभोक्ता हित संरक्षणमञ्च नेपालका महासचिव ज्योति बानियाँले विषादीयुक्त तरकारी स्वास्थ्यका लागि जोखिमपूर्ण रहेकाले सरकार गम्भीर हुनुपर्ने बताए । 'सरकारले विभिन्न ठाउँबाट नमुना संकलन गरेर परीक्षण गरी विषादीयुक्तलाई नष्ट गर्नुपर्छ,' उनले भने ।
यता वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले तरकारीमा विषादीको प्रयोगबारे कृषि विभागले हेर्नुपर्ने जनाएको छ । 'तरकारीमा विषादी प्रयोग भए/नभएको प्राविधिक विषय भएकाले कृषि विभागले अनुगमन गर्नुपर्छ,' आपूर्ति व्यवस्थापन विभागका बजार अनुगमन निर्देशक पुरुषोत्तम सुवेदीले भने, 'हामीसँग परीक्षण गर्ने प्रयोगशाला छैन ।' प्रयोगशाला नभएकाले अनुगमन प्रभावकारी नभएको दाबी उनले गरे ।

'वाणिज्यले तरकारीमा अनुगमन गर्न नमिल्ने भन्ने होइन, सामान्य किराना पसलमा अनुगमन गरेर मूल्य सूची राख्न निर्देशन पनि दिने गरेका छौं,' उनले भने, विषादी प्रयोग भए/नभएको प्राविधिक विषय भएकाले छुट्याउन सक्दैनौं । हामीले अनुगमन गरे पनि जिम्मा कृषिलाई दिने हो ।' उनले बजारमा देखिएको समस्या समाधान गर्न अन्तर निकाय समन्वय जरुरी भएको बताए । तरकारीको गुणस्तरसँगै मूल्य र तौलबारे पनि अनुगमन हुने गरेको छैन । थोक र खुद्रा बजारको मूल्य अन्तर ठूलो भए पनि कुनै सरकारी निकायले यसमा ध्यान दिएको छैन । सरकारले बजार अनुगमनमा विभिन्न निकायबीच समन्वय गरेर उपभोक्ता ठगिने क्रम घटाउन संयुक्त बजार अनुगमन संयन्त्र बनाइएको छ । संयन्त्रलाई ५१ खाद्य पदार्थ र वस्तुका साथै २१ वटा सेवाको पनि अनुगमन गर्ने अधिकार छ । तर समन्वय र संयुक्त अनुगमन भने हुन सकेको छैन । लत्ता कपडामा, स्पेयर पार्टस, औषधिको अवैध आयातलगायतका बारेमा गुनासो आए पनि अनुगमन खासै गरिएको छैन ।

साभार : कान्तिपुर 
प्रकाशित मिति: २०७१ श्रावण २

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !