Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » नेपालमा विज्ञानको अनुसन्धान र प्रविधि विकास

नेपालमा विज्ञानको अनुसन्धान र प्रविधि विकास

नेपालमा विज्ञान र प्रविधि मन्त्रालय तथा विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान भए पनि संरचना प्रभावकारी छैनन् भन्ने त प्रतिफल प्राप्त नभएबाटै स्पष्ट हुन्छ। विज्ञान र प्रविधिको योगदान देशको अर्थतन्त्र र विकासमा कति छ भन्ने पनि कसैलाई थाहा छैन। यी निकाय प्रभावकारी हुन नसक्नुको मूल कारण सापेक्ष संरचनात्मक सुधारको अभाव हो। यस्तै राज्यको नीतिगत अस्पष्टता र विज्ञानलाई नबुझ्ने तथा कम महत्व दिने सोच अर्को पक्ष हो।
विज्ञान मन्त्रालय संरचना विहीन प्रसासनिक केन्द्र जस्तै छ भने विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान सेमिनार, गोष्ठी, पुरस्कार वितरण र सवेक्षर्णलाई नै विज्ञान ठानेर प्रबर्धनात्मक कार्यमा मात्रै व्यस्त छ। खै अनुसन्धान? खै संरचना विकास? खै प्रविधिमा विज्ञानको रूपान्तरण?

हामीले अहिले बुझ्ने विज्ञान विश्वविद्यालय र स्कुलका पाठ्यक्रममा मात्र सीमित छ भन्दा अत्युक्ति नहोला। आज हामीले वैज्ञानिकहरूको उत्पादनलाई विश्वविद्यालयको मुख्य लक्ष्य त मानेका छौ तर ती वैज्ञानिकले देश विकासमा योगदान दिनसक्ने गरी अनुसन्धानका संरचना बनाएका छैनौ। त्यसैले आज हजारौ नेपाली वैज्ञानिक विदेशिएका छन्। हाम्रा वैज्ञानिकले विदेशमा गरेको आविष्कारको चर्चा गर्छौ तर तिनको योगदान नेपालमा होइन अरू देशमा भएको छ भन्ने बिर्सिन्छौ। मुलुको विकास गर्ने हो भने हामीले नयाँ संविधानमा विज्ञानलाई महत्व दिँदै नयाँ नीति र आवश्यक नया संरचनाको निर्माण गर्नैपर्छ। दुई विशाल छिमेकी राष्ट्रको सहयोग र सहकार्यमा नेपालले पनि विज्ञानको विश्वव्यापीकरणलाई पछ्याउँदै नयाँ संरचना तयार गर्नुपर्ने हुन्छ। अनिमात्र नेपाली जनताले पनि विज्ञानको महत्व बुझ्ने र यस्को योगदान थाहा पाउनेछन्। यहाँ आगामी दिनमा नेपालमा गर्न सकिने विज्ञानको अनुसन्धान र प्रविधि विकासका केही सम्भावना र आवश्यक संरचनाको चर्चा गर्न खोजिएको छ।

बायोटेक्नोलोजी सेन्टर

जैविक प्रविधि विकास गर्न सकिने सम्भावना भएको हाम्रो मुलुकमा एक बायोटेक्नोलोजी सेन्टर आवश्यक छ र जनता र हाम्रो नेताहरूले के बुझ्नु जरुरी छ भने जैविक प्रविधि जडीबुटीको प्रशोधन, रुखबिरुवा को औषधिजन्य प्रयोगमात्र होइन। बरु तेस्ता बायोएक्टिभ मोलिक्युलहरू उत्पन्न गर्ने जिनहरुको पहिचान र जेनेटिक इनजिनियरिङ र क्लोनिङ प्रविधिको विकास पनि हो। अन्य वनस्पति र जीवाणुमा ती औषधि जन्य पदार्थ उत्पादन गर्न सक्ने जडीबुटीको जिनको प्रसारण गरी सरल प्रविधिबाट कम लागतमा औद्योगिक उत्पादन गर्न सक्ने प्रविधि विकास गर्नसके हाम्रो देश उत्कृष्ट जैविक प्रविधि अनुसन्धान र विकास गर्नसक्ने मुलुक बन्नेछ।

नेपाल हरियाली युक्त छ। यहाँ कैयौँ झार उम्रन्छन्, कुहिन्छन् वा सुक्छन्। वर्षैभर उम्रिरहने यस्ता झार सेलुलोजको स्रोत भएकोले यिननलाई बायोइथानोलको उत्पादनको स्रोतका रुपमा उपयोग गर्न सकिन्छ। जीवाणु प्रयोग गरी एकचरणीय उत्पादन (वन स्टेप फरमेन्टेसन) प्रविधि विकास गर्नसके कम लागतमा अनेक झारबाट बायोइथानोलको उत्पादन गर्न सकिन्छ। बायोइथानोललाई पेट्रोलियमको विकल्पमा उपयोग गर्ने प्रविधि विकास गर्नसके यो वैकल्पिक ऊर्जा स्रोत हुनसक्छ र केही वर्षभित्रै हाम्रो अर्थतन्त्रमा सकारात्मक योगदान पुग्नेछ।

हाम्रा वातावरणीय समस्याको निदान गर्न बायोटेक्नोलोजी अर्को बाटो हुनसक्छ।औधोगिक तरल फोहोर पदार्थका कारण नदी प्रदूषण भएको यथार्थ हो। तर सूक्ष्मजीवको प्रयोगबाट यस्तो प्रदूषण नियन्त्रण गर्न सकिने उपयुक्त प्रविधि बायोरीमेडिएसन गर्न सकिन्छ भन्नेतिर ध्यान जानु जरुरी छ। त्यस्तै जीवाणुको प्रयोगबाट ऊर्जा उत्पादन गर्न र खेतीमा प्रयोग हुने जैविक विषादि उत्पादनको नौलो प्रविधि विकास गर्न सकिने अनुसन्धानमा जोड दिनुपर्छ। त्यस्तै हाम्रा परम्परागत रुपमा फर्मेन्टेसन गर्न प्रयोग हुने इस्ट ब्याक्टेरिया र फन्जाइहरुको पहिचान, तिनको स्टाटरका रूपमा उत्पादन गरी निर्यात गर्नसक्ने अनुसन्धानमा जोड दिनुपर्छ। त्यस्तै तातो पानीका कुण्डहरूका ६० देखि १०० डिग्री सेल्सियससम्म बाँच्न र बढ्न सक्ने सूक्ष्मजीवको पहिचान गरी तिनको औद्योगिक उत्पादन जस्तै औषधिजन्य पदार्थ, एन्जायम र इथानोल उत्पादन गर्न सकिने प्रविधि विकासका अनुसन्धानमा जोड दिनुपर्छ। बायोटेक्नोलोजी क्षेत्रअन्तर्गत कृषि अनुसन्धान परिषदअन्तर्गतका र हाल छरिएर रहेका हन्य सरकारी संरचनासमेत अटाउने गरी नीति बनाउन सके हाम्रो देश उत्कृष्ट जैविक प्रविधि अनुसन्धान र विकास गर्नसक्ने मुलुक बन्नेछ।

रोग नियन्त्रण केन्द्र (सेन्टर फोर डिजिज कन्ट्रोल)

भौगोलिक विविधता भएको हाम्रो देशमा चिसोदेखि गर्मी मौसमसम्म पाइन्छ र हिमाली भेगको चिसो स्थानदेखि तराईको गर्मी छेत्रमा पनि बसोबास छ। जलवायु परिवर्तनका कारण आज यी स्थानमा कतिपय नयाँ रोग देखा पर्न थालेका छन्। चिसो तापक्रममा नबाँच्ने ब्याक्टेरिया र भाइरसले समेत आज मौसम अनुकूल बाँच्ने क्षमता विकास गरेका छन् । कतिपय रोगको संक्रमण असमयमा देखिने र रोगनिको नभई मर्ने समस्या व्याप्त हुनथालेको छ। साथै विभिन्न रोगमा कीटाणुले एन्टिबायोटिक प्रतिरोधि क्षमता विकास गरेका कारण बजारमा उपलब्ध कुनै पनि एन्टिवयोटिकले काम नगर्ने खतरा बढ्दै गएको छ। यस्ता प्रतिरोधी व्याक्टेरियाको विश्वव्यापी प्रसारण रोक्न अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोलको ढाँचामा हाम्रो देशमा पनि सेन्टर फर डिजिज कन्ट्रोल, नेपालको संरचना तयार गर्नु आवश्यक छ। त्यसका विभिन्न प्रयोगशालामा वैज्ञानिकहरुले काम पाउनेछन्। फलस्वरूप, अनुसन्धानबाट नयाँ औषधि उत्पादन, प्रविधि विकास र रोगहरूको पहिचान गर्ने उपयुक्त पद्धति विकासमा योगदान पुग्नेछ।

खोप तथा जीवाणु अनुसन्धान केन्द्र (भ्याक्सिन र भाइरस रिसर्च सेन्टर)

फैलने संक्रमक रोगको रोकथामका लागि प्रयोग हुने खोप (भ्याक्सिन) आज हामी विदेशबाट मगाएर प्रयोग गर्छौ। तर तिनको प्रभावकारिता बारे प्रश्न उठ्ने गरेको छ।ढुवान र भण्डारणका क्रममा चिसो कायम राख्न शीतशृंखला (कोल्डचेन)के समेत उपयुक्त व्यवस्था गर्नेगरेको छैन भन्ने सुनिन्छ। त्यसैले कम लागतमा आफ्नै प्रविधिले त्यस्ता भ्याक्सिन्को स्वदेशमै उत्पादन गर्न सके यस्ले अर्थतन्त्रमा ठूलो योगदान पुर्याउनेछ। अतः यससम्बन्धी अनुसन्धान गर्न र नयाँ नयाँ भाइरसका रोगको संक्रमण देखिँदा प्रभावकारी रोकथाम गर्न सघाउ पु¥याउन एउटा भ्याक्सिन र भाइरस रिसर्च सेन्टर तत्काल स्थापना गर्न सके देशमै यससम्बन्धी वैज्ञानिकले काम गर्ने वातावरण बन्नेछ।

आणविक ऊर्जा अध्ययन केन्द्र (न्युक्लियर इनर्जी रिसर्च सेन्टर)

हाम्रो देशमा युरेनियमलगायत अन्य बहुमूल्य धातुका खानी छन् भनेर हामी सयौँ वर्षदेखि भन्दै आएका छौँ, तर त्यस्ता पदार्थका उत्खनन गर्ने प्रशोधन गर्ने र उपयोग गर्ने प्रविधि हामीसँग छैन। यससम्बन्धी अनुसन्धान, अन्वेषण र उत्खनन गर्न र उपयोग गर्न एउटा न्युक्लियर इनर्जी रिसर्च सेन्टरको स्थापना गर्न जरुरी छ। त्यस केन्द्रमा त्रिभुवन विश्वविद्यालयलगायत भारत, अमेरिका र चीनसँग सहकार्यमा वैज्ञानिकले काम गर्न सके र हाम्रा दुई छिमेकीसँग भएको अनुभवबाट फाइदा लिनसके हामी पनि न्युक्लियर इनर्जीलगायतका छेत्रमा अग्रणी राष्ट्र बन्नेछौँ।

बायोसेक्युरिटी तथा बायोलोजिकल सेफ्टी रिसर्च सेन्टर

रासायनिक हतियारमाथि प्रतिबन्ध लागे पनि कैयौँ मुलुकमा जीवाणुको प्रयोग जैविक हतियारको हुनसक्ने नयाँ खतरा छ। यस्ता जीवाणु वा बिषाणुलाई घातक हतियारका रुपमा प्रयोग गर्न, उत्पादन गर्न र लुकाउन ठूलो संरचना आवश्यक पनि पर्दैन। सामान्य प्रयोगशालामा समेत भण्डारण गर्न सकिन्छ। भविष्यमा यस्ता जैविक आक्रमणबाट जोगिने उपाय अवलम्बन गर्न तत्सम्बन्धी नीति बनाउनु आवश्यक हुन्छ। नेपाली जनतालाई सुरक्षित राख्न र नेपाली सेनालाई समेत यसबारेमा सुसूचित राख्न एउटा बायोसेक्युरिटी तथा बायोलोजिकल सेफ्टी रिसर्च सेन्टरको आवश्यकता छ।

भविष्यमा यीबाहेक अनेकौं केन्द्र र अनुसन्धान प्रयोगशाला खुल्दै जाने हो र सरकारी लगानी एवं बजेट पर्याप्त हुने हो भने हाम्रो देशमा पनि वैज्ञानिकले काम पाउनेछन्, अनुसन्धान गर्नेछन् र अनुसन्धानलाई प्रविधि विकासमा रुपान्तरण गरी जनतामा प्रविधिको हस्तान्तरण गर्नेछन्। यस्ता अनुसन्धानबाट उपलब्धिका रूपमा आउने प्रविधिलाई औधोगिक व्यावसायिक प्रविधिमा पनि विकास गर्न सकिनेछ भने देशमा तीव्र औद्योगीकरणसमेत हुन सक्नेछ।

आज विश्वका विकसित मुलुकलाई नियाल्दा के देखिन्छ भने ती राष्ट्रहरू लोकतन्त्रसँगै जनताको जीवनस्तर उकास्ने र जीवनलाई सुखी बनाउने काममा निरन्तर लागेका छन् । आशा गरौ अब नेपालमा पनि असल प्रजातन्त्र, दिगो प्रणाली भएको लोकतान्त्रिक संविधान बन्नेछ र विज्ञान तथा प्रविधिको नयाँ नीति एवं संरचना बन्नेछन्। अनि देश विकास, आर्थिक प्रगति र समृद्धिको बाटोमा लम्कनेछ।

साभार: नागरिक
प्रकाशित मिति: २०७०-मंसिर-२०

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !