Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » , » च्याउबाट समृद्धि

च्याउबाट समृद्धि

जो जापानबाट च्याउमा विशेषज्ञता हासिल गरेर मुलुकको समृद्धि टेवा पुर्‍याउन चाहन्छन् । हरित क्रान्तिका असरहरु न्यूनीकरण गर्न अहरित क्रान्तिको योजना बनाइरहेका छन् । 
-जयकान्त राउत, वैज्ञानिक, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)

सप्तरीको महदेवा गाविसको निम्न वर्गीय किसान परिवारमा जन्मिएका हुन्, जयकान्त राउत । बुवा श्वेताम्बर राउत प्राथमिक विद्यालयका शिक्षक थिए । तीन दाजुभाई र एक बहिनी सहितको परिवारको लालनपालन उनको त्यो जागिरले थेग्न सक्दैन्थ्यो । आर्थिक अभावका कारण धेरै विकल्पहरुका ढोकाहरु खुल्ला थिएनन् । हालैको एक अपरान्ह नेपालीपत्रसँग कुराकानीका क्रममा जयकान्त सप्तरीको महदेवादेखि जापानको चिवा विश्वविद्यालय र नास्टसम्मको वरिष्ठ वैज्ञानिक सम्मको जीवन डायरी पल्टाउँदा नोस्टाल्जिक बने । "यो सबै परिश्रमको जगमा खडा गरेको प्रगति हो," ४१ वषर्ीय उनी भन्छन्, "नत्र त्यो ग्रामीण निम्नवर्गीय किसानको छोरा यो उचाइमा पुग्न सहज थिएन ।"

अरु निम्न वर्गीय किसानका बालबालिकाझैं जयकान्त पनि बाल्यकालमा खेतीपातीमा क्रियाशील हुन्थे । गाउँले दौतरीहरुसँग स्थानीय जिता नदीमा पौडी खेल्थे । आँपको बगैँचा डुल्ने उनको अर्को दिनचर्या हुन्थ्यो । तर, अरुभन्दा फरक बुवा शिक्षक हुनुको बेनफिट उनले मज्जाले उपयोग गरे । "आर्थिक रुपमा सबल नभए पनि बुवा शिक्षक भएकाले घरमा राम्रो शैक्षिक वातावरण बन्यो," उनी सम्झन्छन््, "त्यसैले हामी सबै भाइबहिनीले पढ्न पायौं ।" गाउँमा उनको परिवारभन्दा बढी धनीहरु पनि थिए, तर उनीहरुका बालबच्चाले राम्रो पढ्न सकेनन् । किनभने, जयकान्तका घरमा जस्तो उनीहरुको घरमा शैक्षिक वातावरण बनेन । श्वेताम्बरले आर्थिक अभावका बीच पनि आफ्ना सबै सन्ततिलाई पढाए । आफ्नै खुट्टामा उभिन सक्ने गरी टेको हालिदिए ।
सानो छँदा प्रोफेसर बन्ने सपना देखेका जयकान्तलाई जेठो भएकाले बढी परिश्रम गर्नुपर्‍यो । उनले वि.सं. २०४५ सालमा लक्ष्मी बल्लभ नरसिंह मावि वमनगमाकट्टीबाट दोस्रो श्रेणीमा एसएसली उत्तीर्ण गरे । उच्च शिक्षाका लागि उनी राजविराज गए । त्यहाँको राजविराज क्याम्पसमा आइस्सी पढ्न थाले । लगन र परिश्रमका कारण उनले फस्ट डिभिजनमा आइएस्सी सके । आइएस्सी सकेलगत्तै थप उच्च शिक्षा हासिल गर्न आर्थिक अवरोध बाधा बन्न थाल्यो । तर, उनी अभावसँग सम्झौता गर्ने पक्षमा थिएनन् । त्यसैले उपायहरुको खोजी जारी राखे । भनिन्छ, 'जहाँ इच्छा त्यहाँ उपाय ।'

बिएस्सी गर्ने उपाय खोज्दै ३५ रुपैयाँ लिएर घरबाट बिराटनगरका लागि निस्किए । भन्छन्, "त्यो मैले चालेको साहसिक कदम थियो । ३५ रुपैयाँ आउने जाने भाडा मात्र पुग्थ्यो । तर, कसरी बस्ने खाने मैले केही सोचिनँ ।" बिराटनगर पुगेपछि उनी गाउँकै साथीको सम्पर्कमा पुगे । जो ट्युसन पढाएर बिएस्सी पढिरहेका थिए । जयकान्तले आफ्नो समस्या उसलाई सुनाए । उनले जयकान्तलाई पनि ट्युसन पढाएर पढाइ खर्च जुटाउने व्यवस्था मिलाइदिए । जयकान्तले बिएस्सी पढ्ने बाटो भेट्टाए । त्यो ट्युसन पढाइबाट उठ्ने पैसा उनको बिएस्सी पढ्न लागि टेक्ने आधार बन्यो । ट्युसन पढाउँदै महेन्द्र मोरङ क्याम्पसमा बिएस्सी इन्ट्रान्सका लागि तयारी थाले । इन्ट्रान्समा उनको नाम तेस्रो नम्बरमा निस्कियो । "त्यसपछि छात्रवृत्ति पाउने सम्भावना बढ्यो । आँट बढ्यो," उनी सम्झन्छन्, "स्कलरसीप पनि पाएँ ।" त्यसपछि उनको बिएस्सी पढाइ सहज बन्यो । उनी क्याम्पसको होस्टलमा बसेर अध्ययन गर्न थाले । त्यहीँबाट जयकान्तले सेकेण्ड डिभिजनमा बिएस्सी सके । "फेरि एमएस्सीको चिन्ता सुरु भयो," उनी भन्छन् । तर, उनी थाकेका थिएनन्, आँट भरिइरहेको थियो । घरबाट हरेक समयमा बुवाको पत्र आउँथ्यो । जसमा उनलाई अगाडि बढ्न ऊर्जा दिने शब्दहरु पोखिएका हुन्थे । "बुवाले पत्र पठाएर मलाई उत्साहित पारिरहनुहुन्थ्यो," उनी भन्छन्, "अभिभावकले ढाडस दिएपछि स्ट्रोङ भइँदोरहेछ ।" उनले विराटनगरकै पोष्ट ग्राजुयसन क्याम्पसबाट एमएस्सी गरे । त्यसपछि पिएचडीका लागि उनले तत्काल सम्भावना देखेनन् । बरु, घरपरिवारको आर्थिक अवस्था सुधारका लागि जागिर खाने निधो गरे ।

आर्थिक पक्ष सबल बनाउने सपनाले उनलाई २०५५ सालमा तेह्रथुम पुर्‍यायो । दांगपाको कालिका माविमा बिएस्सी टिचरका रुपमा माविलाई पढाउन थाले । त्यति नै बेला उनको च्याउसँग मित्रता गाँसियो । "तेह्रथुम बस्दा च्याउको तरकारी खाएँ," उनी भन्छन्, "जंगलमा उमि्रएको च्याउ ल्याएर तरकारी बनाउँथेँ ।" त्यसले उनलाई आकषिर्त गर्‍यो । तर, त्यतिञ्जेल उनलाई थाहा नै थिएन भविष्यमा च्याउमा नै विशेषज्ञता हासिल गरुँला भन्ने । उनी च्याउका बारेमा धेरैभन्दा धेरै जान्न उत्सुक थिए । उनको मास्टर्स पढ्दाका सहयात्रीहरुले त्यहाँबाट उनलाई काठमाडौं बोलाए । ५ वर्ष पढाएको ठाउँ छाडेर उनी काठमाडौं आए । सन् २००३ मा काठमाडौं झरेका जयकान्त सूर्य विनायकको माउष्ट एभरेष्ट कलेजमा बायोलजी पढाउन थाले । काठमाडौं आएपछि उनले च्याउका बारेमा इन्टरनेटमा अध्ययन गर्न थाले ।

बिस्तारै काठमाडौंबाट विदेश जाने हृवीम चल्न थाल्यो । उनलाई पनि त्यो हृवीमले छोयो । भाइ जापानको टोकियो विश्वविद्यालयमा रहेकाले उनलाई जापान घुम्ने अवसर प्राप्त भयो । च्याउका बारेमा जान्न उत्सुक जयकान्तले त्यहाँका ल्याबहरु भिजिटमा पनि च्याउकै बारेमा बुझे । उनको च्याउप्रतिको अनुराग देखेर त्यहाँका प्रोफेसरले पिएचडी गर्न सुझाए । "मलाई साथीहरु पिएचडी गर्न आग्रह गरे," उनले भने, "भिजिटका क्रममा भेटेका प्रोफेसरहरुले समेत आग्रह गरे ।" तर, जयकान्त आफ्नै पैसाले पिएचडी गर्न सक्ने अवस्थामा थिएनन् । त्यसैले उनले त्यो प्रस्तावलाई स्वीकार्न सकेनन् । र, नेपाल फर्किए । उनले त्यहाँका केही ल्याबमा आफ्नो बारेमा कुरा राखेर फर्किएका थिए ।

सन् २००६ मा उनले त्यसको परिणाम पाए । उनलाई भिजिटिङ रिसर्चरको रुपमा निम्ता आयो । जयकान्त पुनः जापान गए । "चिवाले मलाई भिजिटिङ रिसर्चरका रुपमा डाक्यो," उनी भन्छन्, "१ वर्ष रिसर्चरका रुपमा काम गरेँ ।" उनले त्यही बेला आफ्नो पिएचडीका लागि बेस पनि खडा गरे । सन् २००८ मा त्यही विश्वविद्यालयमा छात्रवृत्तिमा पिएचडीका लागि नाम निकाले । त्यही वर्ष उनको पिएचडी अध्ययन सुरु भयो । सन् २०११ मा उनले हर्टी कल्चर -च्याउ) मा आफ्नो पिएचडी सके ।
पिएचडी सकेपछि उनी नेपाल फर्किने तयारी गर्न थाले । धेरैले उनलाई जापानमा आकर्षक जागिरको लोभ देखाए । नेपाल फर्किएर भविष्य बर्बाद हुन्छ भन्दै डर देखाए । "साथीहरुले पैसा नभएर केही गर्न सकिँदैन । नेपालमा संक्रमणकाल छ । भविष्य किन बर्बाद पार्छस् भने," उनी जापानबाट नेपाल फर्किने निर्णयबारे साथीहरुले दिएका प्रतिक्रिया सुनाउँछन् । तर, जयकान्तले पिएचडी गर्दा बिताएका तीन वर्षमा धेरै सेमिनार, अन्तरक्रियाहरुमा भाग लिएका थिए । जहाँ आफ्नो जन्मभूमिको नाम सुन्न पाएनन् । "मलाई कन्ट्रीको प्रोफाइल बढाउनुपर्छ भन्ने लाग्न थाल्यो," उनी भन्छन्, "नेपालजस्तो विविधताले भरिएको देश त्यस्ता सेमिनारहरुमा निल हुन्थ्यो । यसले मलाई घोच्यो ।" यसबाहेक मुलुक नबनेसम्म व्यक्ति मात्र बनेर केही हुँदैन भन्ने उनलाई लाग्न थाल्यो । उनले मुलुकसँग जोडिएको मानसम्मानको महत्वलाई महसुस गरे । "यसले परिवार, समाज र देशप्रति बढी सेन्टिमेन्टल बनायो," उनी भन्छन्, "धेरै काम भएको ठाउँमा काम गर्नुभन्दा काम नभएको ठाउँमा काम गर्नुको महत्व बढी हुन्छ । म त्यही गर्न चाहन्थेँ ।" उनले बाहिर काम गरेर पोलिसी तहमा पुग्दा पाइने सम्मानभन्दा मुलुकभित्रै त्यो तहमा पुगेपछि पाइने सम्मानको महत्व पनि राम्रोसँग बुझेका थिए । जसका कारण उनी सन् २०११ मा नेपाल फर्किए ।

नेपाल फर्किएपछि जयकान्त एक वर्ष बेरोजगार बनेर बरालिए । तर, अर्को वर्ष उनले भनेकै ठाउँमा जागिर पाए । जहाँ बसेर उनी मुलुकको समृद्धि र विकासमा योगदान पुर्‍याउन चाहन्थे । सन् २०१२ मा उनले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान -नास्ट) मा वैज्ञानिकमा रुपमा काम गर्ने अवसर पाए । अहिले नास्टमा वरिष्ठ वैज्ञानिकका रुपमा कार्यरत छन्, उनी । नास्टमा रहेर उनले नेपालमा च्याउसम्बन्धी सबै रिसर्चका कामहरु हेरिरहेका छन् । उनको अध्ययनमा नेपालमा च्याउको सम्भावना एकदमै धेरै छ । "नेपालमा तराई, हिमाल र पहाडका फरक-फरक किसिमको हावापानी छ," उनी भन्छन्, "त्यो विविधताअनुसार धेरै प्रकारका च्याउहरु उत्पादन गर्न सकिन्छ ।" च्याउका बारेमा अध्ययन गर्न देशका थुपै्र ठाउँ घुमिसकेका छन्, उनी । "अहिले मुलुकका ४० जिल्लामा व्यावसायिक च्याउ खेती हुन्छ," उनी भन्छन्, "७० जिल्लामा च्याउखेती भइरहेको छ ।" अध्ययनअनुसार नेपालमा १ हजार १ सय २१ किसिमका जंगली च्याउ भेटिएका छन् । जसमध्ये १ सय ४७ खान योग्य, ७३ मेडिसिनमा काम लाग्ने तथा ६५ जति विषालु प्रकृतिका छन् । 'आधुनिक च्याउखेती प्रविधि' शीर्षकको पुस्तक समेत लेखिसकेका राउत च्याउमार्फत् अहरित क्रान्ति गर्न चाहन्छन् ।

'के हो अहरित क्रान्ति ?' प्रश्न थपियो । 'हरित क्रान्तिका नाममा उत्पादन बढाउने लालसामा प्रयोग गरिएका विषादीहरुले गर्दा जमिनको उर्वराशक्ति घट्यो । रोगहरु बढे । खाद्यान्न र तरकारीहरुमा प्रयोग गरिएका विषादीहरुले मानिसहरुको स्वास्थ्यमा समस्या उत्पन्न गर्‍यो,' उनी भन्छन्, 'त्यसैले अहिले विश्व अग्र्यानिक खेतीतर्फ आकषिर्त छ । हरित क्रान्तिको विकल्पमा अहरित क्रान्तिमार्फत् उत्पादन र स्वास्थ्यलाई प्रभावकारी बनाउनु हो ।' उनी अहरित क्रान्तिका लागि नेपालजस्तो कृषिप्रधान देशमा च्याउ प्रमुख अस्त्र हुने बताउँछन् । "कृषिजन्य उत्पादन धान, गहुँ, मकैजस्ता उत्पादनबाट बोक्रा, पराल र नल खेर जान्छ । त्यसलाई बाल्छौं । फाल्छौं," उनी कारण खुलाउँछन्, "ती सबै कुराहरुबाट बहुमूल्य च्याउ उत्पादन गर्न सकिन्छ ।" उनी च्याउ खेतीबारे राष्ट्रिय नीति नै बनाएर च्याउ खेतीलाई व्यावसायीकरण गर्न सकिए त्यसले धेरै क्षेत्रमा राम्रो प्रभाव पार्न सक्ने बताउँछन् । "आर्थिक समृद्धि, रोजगारी वृद्धि, प्रोटिनको अभावबाट हुने कुपोषण न्यूनीकरण, वातावरण प्रदूषण रोकथाम, निर्यातमार्फत् विदेशी मुद्रा आर्जनजस्ता फाइदाहरु लिन सकिन्छ," उनी थप्छन् । च्याउखेती महिलामैत्री भएकाले यसमार्फत् सामाजिक रुपान्तरणमा समेत टेवा पुर्‍याउन सकिने विश्वास उनको छ । पछिल्लो समयमा नेपालमा च्याउखेतीतर्फ आकर्षण उत्साहप्रद रहेको बताउने यी वैज्ञानिक यसको बजार विस्तार र च्याउ खेतीसँग सम्बन्धीहरुको नेटवर्किङ निर्माणका क्षेत्रमा काम गर्नेतिर पनि अग्रसर भइरहेका छन् ।
साभार: नेपालीपत्र 

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !