Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » बढ्दैछ ‘कृषि’ क्रान्ति

बढ्दैछ ‘कृषि’ क्रान्ति

जागिरे भएको भए आफुले गरेको उत्पादन खाएर, बेचेर, त्यसैबाट पैसा कमाएर सधै आफ्नै घर–आगनमा परिवारसँग रमाउन कहाँ पाईन्थ्यो ? हदै भएको भए हवल्दार सम्म हुन्थेँ होला, काठमाडौंमा कतै डेरामा खुम्चिनुपथ्र्यो,’
प्रमोदकुमार टन्डन, (नेपाल वातावरण पत्रकार समूह)

त्यस्तै ७–८ वर्ष जति अघि उत्तरी मकवानपुरको घर्तिखोलाका युवा प्रकाश विष्टलाई गाउँकै काका पर्नेले अह््राए, ‘८–१० रोपनी खाली जग्गा खोजिदिनु प¥यो एक जना साथीको लागि ।’ प्रकाशले जग्गा किन चाहिएको रहेछ भनेर बुझे । अमेरिकामा बसोबास गर्दै आएको एक जना नेपालीले आफु र आफ्नो परिवारलाई पुग्ने तरकारी आफै अर्गानिक उत्पादन गरेर त्यतै खाने बस्ने सोख पुरा गर्न जग्गा खोजेको रहेछ । त्यो व्यक्तिको सोख सुनेर उनी झसङ्ग भए । सबैले एकपटक पुगे के के न गर्छु भनेर सपना देख्ने अमेरिका पुगेर सबै थोकमा सम्पन्न भैसकेको मानिसको आफैले उत्पादन गरेको तरकारी खाएर बस्ने सोखले उनको तेस्रो आँखा खोल्यो । ‘अमेरिकामा लाखौं कमाउनेले भाडामा जग्गा लिएर तरकारी रोप्ने सपना देखिरहेका छन् तर तरकारी खेतीकै प्रख्यात ठाउँका स्थानीयलाई यतातिर ध्यानै छैन ।’

त्यो मानिसको सोखले प्रकाशलाई यति धेरै छोयो कि उनले सरकारी जागिर खाने मानषिकता तत्कालै त्यागे । अनि सुरु गरे व्यावसायीक तरकारी खेती । थाहा नगरपालीका वडा न. ६, घर्तिखोलामा उनले गरि आएको भन्दा व्यावसायीक रुपले आलु, काउली, बन्दा, मुला, टमाटर, भेडे खुर्सानी, गाजर, धनियाँ खेती गर्न थाले । अन्यत्र तरकारी खासै नहुने जेठ देखि कात्तिक सम्मको बेला दामन–घर्तिखोला–पालुङ क्षेत्रमा मनग्ये बेमौसमी तरकारी खेती हुन्छ । जनजिविकाको लागि मात्रै भन्दा पनि धेरै ठाउँ छुट्टाएर व्यावसायीक हिसावले तरकारी खेती गर्न तालिम गोष्ठि र कार्यक्रम छुटाएनन् उनले । सगोलको घरको ३५–३६ रोपनी जग्गामा खेती गर्दा २०६५ साल तिर वार्षिक आम्दानी ४–५ लाख रुपैंया हुन्थ्यो । अहिले व्यावसायीक खेतीको आम्दानीले समग्र जग्गा ७० रोपनी भन्दा बढि भैसकेको छ । त्यस्तै वार्षिक आम्दानी ८ लाख रुपैंया पुगेको छ । जसबाट करिव ६ लाख रुपैंया बचत हुन्छ ।

‘सिजनको मात्रै भर नपरेर बाह्रैमास चक्रिय प्रणालीमा व्यावसायीक रुपले गर्न सक्यो भने तरकारीबाट मनग्ये आम्दानी गर्न सकिँदो रै’छ’ विष्टले भने ‘व्यावसायीक सोचले गर्नु प¥यो, कृषिबाटै मासिक ३५–४० हजार कमाउन गाह्रो छैन । १५–२० हजारको लागि विदेशीनु पर्दैन ।’ ५ वर्ष भयो उनका भाई–भाई भिन्न भएको । साँहिला भाई उनी सिजनमा मात्रै नभएर बाह्रैमास व्यावसायीक तरकारी खेती र पशुपालन गर्छु भनेर दम्कीबजार भन्दा मास्थिर सरे । घर निर्माण, तरकारी खेती, बाख्रापालन, बाख्रा फार्म, रेन्बो ट्राउटको सुरुवात सबै गर्दा अहिले सम्म नयाँ ठाउँमा करिव २० लाख रुपैंया खर्च भैसकेको उनी बताउँछन् । जम्मा ८ रोपनीमा गरि आएको व्यावसाय संचालन सबै तरकारी खेतीबाट गरेको आम्दानीबाट भएको थियो ।

हाल उनी एक्लैले वार्षिक १२ देखि १३ टन अर्थात् ३–४ लाख रुपैंयाको काउली, १० देखि १२ टन अर्थात् १.५–२ लाख रुपैंयाको आलु र अरु गरि ५ देखि ६ टन अर्थात् डेढ लाख रुपैंया भन्दा बढिको तरकारी बिक्रि गर्दै आएका छन् । सबैभन्दा राम्रो काउली, बन्दा र सोझा मुला पोखरा पुग्दछन् । पोखरासँगै बुटवल, नारायणघाट, विरगंज र काठमाडौं सम्म उनको तरकारी पुग्दछ । जिल्ला कृषि विकास कार्यालयबाट पाईने सबै प्रकारका तालिमका अलावा उनले ट्राउट माछा, कन्ये च्याउ र बाख्रा पालनको समेत प्राविधिक तालिम लिईसकेका छन् । २०६७ मा आफु सँगै युवाहरुको जमातलाई कृषिमा व्यावसायीक रुपमा आवद्ध गर्न लेकाली कृषक समूह गठन गरेर संस्थागत चेतना विस्तारमा लागेका छन् । एक छोरि सहित ३ जनाको परिवार खुसीमा रमेको छ । कुनै बेला सेनामा भर्ना हुने सपना साँचेका ३४ वर्षिय विष्ट भन्छन् ‘जागिरे भएको भए आफुले गरेको उत्पादन खाएर, बेचेर, त्यसैबाट पैसा कमाएर सधै आफ्नै घर–आगनमा परिवारसँग रमाउन कहाँ पाईन्थ्यो ?’

‘हदै भएको भए हवल्दार सम्म हुन्थेँ होला, काठमाडौंमा कतै डेरामा खुम्चिनुपथ्र्यो,’ उनले भने ‘शहरमा २–४ दिन नाकाबन्दी भए पैसा भएर पनि खान पाईन्न तर यहाँ बाहै्रमास बाहिरबाट केही नआए पनि सबथोक पाईन्छ । त्यो पनि आफैले उत्पादन गरेको अर्गानीक ।’ उनले बाख्रापालन सुरुवात गरे सँगै बारीका कान्ला र यत्तिकै खेर गैरहेको भू–भागमा ५०० गाँज अमृसो लगाएका छन् । एउटा अमृसोका गाँजबाट कम्तीमा ५ ओटा कुचो बन्छ भने घाँस बाख्रालाई आहारा बन्छ । उनले आलु, अदुवा, प्याजको भण्डारण र विउको लागि २५ टन क्षमताको प्राकृतिक कोल्ड स्टोर बनाएका छन् । जसको लागि जिल्ला कृषि विकास कार्यालयबाट २ लाख ५० हजार, प्लान नेपालबाट १ लाख ५० हजार, दामन गाविसबाट ६० हजार र २० प्रतिशत बराबरको जनश्रमदान प्राप्त भएको छ । घर्तिखोला क्षेत्र रेन्बो ट्राउटको लागि सबैभन्दा उयिुक्त क्षेत्र छ भन्ने थाहा पाएपछि उनले एक वर्ष अघि तालिम लिएर रेन्बो ट्राउट पालन सुरु गरेका छन् । त्यस्तै बाख्रापालन पनि भर्खर सुरु छ ।

अमेरिकामा मेसिनरी जीवन बिताईरहेको एक जना मानिसको ‘नेपालमा आएर आफुलाई चाहिने तरकारी आफै उत्पादन गरेर खाने’ सोखबाट प्रेरणा लिएर सामान्य खेतीकिसानी सुरु गरेका उनी दामन–पालुङ देखि मकवानपुरमै प्रख्यात कृषक भैसकेका छन् । रेन्बो ट्राउट र बाख्रापालनको व्यवस्थापन पश्चाद् स्थानीय उत्पादनकै परिकारमा आधारित कटेज स्थापना गर्ने उनको सोँच छ । अहिले सम्मको उपलव्धीबारे उनी भन्छन्, ‘हिँजो आफ्नो परिचय दिँदा, कृषक हुँ भन्दा सबैले नाक खुम्च्याउँथे, अचेल खोजीखोजी सफल युवा कृषक भन्दै घरमै आएर गरेको काम हेर्छन् । ३३–३४ वर्षका कोही खाडि मूलुकमा मासिक १५–२० हजारको लागि रगत–पसिना एक गर्दै होलान् । मैले आफु हुर्केको कृषि परिवेशलाई व्यावसायीक मात्र बनाएको हो । त्यो बापत घरमै बसेर इज्जत र रकम दुबै कमाएको छु ।’

उच्च शिक्षा अध्ययन गर्न नपाएकोमा उनलाई कुनै गुनासो छैन । ‘धेरै पढेको भए त्यै अनुसारको जागिरको दौडमा कहाँ हराउथेँ होला, यसरी कृषि पेशालाई इज्जतिलो र गतिलो पेशा भनेर चिनाउन र चिनिन पाउन्नथेँ’ उनले भने ‘मलाई यसैमा सन्तुष्टि छ ।’ कृषि सेवा केन्द्र शिखरकोट मकवानपुरकाअनुसार दामन–पालुङ उपत्यकामा कृषिकै लागि दत्तचित्त भएर लाग्ने युवा करिव ३० जना छन् । त्यस मध्ये प्रकाश विष्ट जस्ता व्यावसायीक रुपमै लाग्ने हरु करि १५ जना छन् । ‘प्रकाश विष्ट जस्ता व्यावसायीक र कृषिमा नेतृत्वदायी भूमिका खेल्ने युवाका कारण दामन–पालुङका युवा कृषिमै आकर्षित छन्’ केन्द्रका जेटिए मधुसुधन आचार्यले भने ‘अँझै यस्तै व्यावसायीक युवा थप १५–२० जना भए उपत्यकाको कृषि प्रणाली नै फेरिने थियो ।’
उनले व्यावसायीक र नेतृत्वदायी भूमिकामा कम युवा देखिए पनि सेवा केन्द्रमा आउने र सरसल्लाह लिएर नियमित धेरथोर तरकारी खेती गर्ने युवाको संख्या उपत्यकामा उल्लेख्य भएको बताए । वार्षिक करिव ३० करोडको तरकारी निर्यात हुने यस दामन–पालुङका भित्रि भागहरु घर्तिखोला, बज्रबाराही क्षेत्रमा पनि युवाहरु कृषिमै सक्रिय रहेका छन् ।

इजरायलको थोपा सिंचाई प्रविधि नेपालमा
देशमा गरेर खान असहज हुँदै गएपछि २०६० सालमा आँखा चिम्लेर विदेश हान्निएका हेटौडाका श्रीकृष्ण अधिकारी अचेल कृषि पेशामा सक्रिय छन् । कामको लागि इजरायल पुगेका उनी त्यहाँ बालुवामा तरकारी उब्जनी गर्ने काममा लागे । माटो भन्दा बालुवा खुकुलो हुने हुँदा जरा स्वतन्त्र रुपमा बढ्न पाउने र थोपा सिंचाई प्रविधिबाट पानीको समान वितरण हुँदा तरकारी गजबको उत्पादन हुने रहेछ त्यहाँ ।
नेपालमा फालाफाल जमिन यत्तिकै बाँझिएको देखेका उनलाई बालुवामै तरकारी फलाएको कुरो मनन योग्य लाग्यो । ८ वर्ष इजरायल बस्दा उनले धन त कमाए नै तर त्यो भन्दा धेरै कमाए ज्ञान र सीप । ४ प्रतिशत मानिसले मात्रै कृषि पेशा गर्ने इजरायलले त्यसको उत्पादन देशमा खपत गरेर युरोप र अमेरिकामा समेत निर्यात गर्छ । त्यै कामको लागि नेपालीहरु पुग्छन् ।

माटो नै नभएको ठाउँमा ४५ डिग्री भन्दा बढि तापक्रममा बालुवामा तरकारी खेती फस्टाउनुमा प्रविधि, लगानी र व्यावसायीकरण सबै हुनुपर्ने उनले सिके । फलस्वरुप उनी २०६८ मा नेपाल फर्केसँगै इजरायलको थोपा सिंचाई प्रविधि नेपालमा सुरुवात गरे । उनले हाल थोपा सिंचाई प्रविधिलाई विस्तार गर्ने र जडान गरिदिने कामसँगै आफैले तरकारी खेती पनि गर्दै आएका छन् । थोपा सिंचाइमा पानीको स्रोतबाट पाईपको माध्यमबाट हरेक बोट सम्म पानी एकै समयमा समान रुपले सिंचाई गर्न सकिन्छ । यसका अलावा ठूलो टनेल बनाएर हरेक ड्याममा प्लाष्टिकले छोपिन्छ । ‘यसो गर्दा तरकारीको बिचमा झार उम्रन पाउन्न । बोटमा पानी राख्ने र झार गोड्ने जनशक्ती चाहिन्न’ ३३ वर्षे यी युवा भन्छन् ।

थोपा सिंचाई प्रणालीको विकास १९६० मा इजरायलबाट भएको हो । यस प्रणालीमा प्लाष्टिक पाईपबाट विरुवाको जरामा थोपा–थोपा गरेर पानीको आवश्यकता पुरा गरिन्छ । यसबाट विरुवाको निर्वाध वृद्धि विकास हुन्छ । त्यस्तै विरुवालाई आवश्यक मलखाद सिंचाईकै माध्यमबाट दिईन्छ । यसले मलखाद, सिंचाई र गोडमेलको झमेला हुन दिन्न । टनेल निर्माण सहित थोपा सिंचाई प्रविधि जडान गर्न प्रति हेक्टर जमिनमा १५ हजार रुपैंया लाग्छ । जसबाट ६–७ वर्ष सम्म काम चल्छ । इजरायलबाट फर्के पछि अधिकारीले तरकारी खेतीसँगै यो प्रविधिको विस्तार गर्ने क्रममा देशभरका ६०० भन्दा बढि कृषकलाई थोपा सिंचाई प्रविधि जडान गरिदिएका छन् ।

त्यसबाट कृषकको तरकारी उत्पादन भैरहेको छ भने विदेशमा गए सरह स्वदेशमै जिविकोपार्जन पनि भैरहेको छ । इजरायलमा मासिक करिव १ लाख रुपैंया तलबमा काम गरेर फर्केका उनी हाल बालाजु बाईपास नजिक घर बनाएर त्यसको आसपास थोपा सिंचाई प्रविधिबाट खेती र कृषकहरुको मागअनुसार थोपा सिंचाई प्रविधि जडान गरि इजरायलको सरह कमाई गरिरहेका छन् । ‘आम्दानी भन्दा पनि थोपा सिंचाई प्रविधि विस्तार र इजरायलको सिकाई यहाँ उतार्न लागि परेको छु’ उनले हाकाहाकीसँग भने ‘१०–१५ रोपनी जग्गा लिएर व्यावसायीक रुपमा खेती गर्न आँट्नेले २०–२५ हजार रुपैंयाको लागि विदेश भौतारिईरहनु पर्दैन ।’


थोपा सिंचाईका फाईदाहरु
*- पानी कम हुने क्षेत्रमा, भिरालो जमिन, बलौटे माटो भएको जमिन, पहाडी तथा तराई क्षेत्रमा प्रयोग गर्न सकिने ।

*- थोरै पानीबाट धेरै जमिनमा सिंचाइ गर्न सकिने । यसबाट ३० देखि ७० प्रतिशत सम्म पानीको बचत हुन्छ ।

*- झारपात तथा किराको प्रकोपमा कमि आउँछ ।

*- पानीसँगै आवश्यक मलखाद आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । जसका कारण मलखाद एवं औषधी खर्चमा बचत हुन्छ ।

*- थोपा सिंचाईको प्रयोगबाट उत्पादनमा ३० देखि १०० प्रतिशत सम्म वृद्धि हुन्छ ।

*- गुणस्तरिय तथा स्वस्थ उत्पादन हुनुका साथै वातावरणीय प्रदुषणबाट बचाउँछ ।

*- पानी, समय, उर्जा तथा कामदारको खर्चमा बचत हुन्छ ।

थोपा सिंचाईका लागि उपयुक्त तरकारी : गोलभेँडा, खुर्सानी, भेंडे खुर्सानी, काउली, बन्दा, प्याज, भिण्डी, भण्टा, लौका, फर्सि, करेला, काँक्रो, मटरकोसा, सागपात, आलु, अदुवा, बेसार, लसुन इत्यादि ।

थोपा सिंचाईबाट हुने पानीको बचत र उत्पादन वृद्धि
बिरुवाको नाम     पानीको बचत (प्रतिशतमा)            उत्पादन वृद्धि (प्रतिशत)
गोलभेँडा                       ४२                                                      ६०
भिण्डी                          २५                                                      ३५
आलु                          ४०–६०                                                २०–३०
भाण्टा                        ४०–६०                                                २०–३०
उखु                              ५०                                                       ९९
अनार                           ४५                                                       ४५
बदाम                           ४०                                                       ४२
अंगुर                            ४८                                                       २३
काँक्रो                           ५६                                                        ४८
खुर्सानी                        ६८                                                        २८
काउली                         ६८                                                        ७०
केरा                             ४५                                                        ५२
आँप                         ३०–४०                                                   ६०–७०
थप जानकारीको लागिनेपाल थोपा सिंचाई प्रा लि, कलंकी ०१-४०३७१९२

फालिएको मिनरल बोतलबाट थोपा सिंचाई 
नेपालमा कति मिनरल वाटरको बोतल दिनमा प्रयोग हुन्छ । यसको जानकारी सायदै कसैलाई थाहा होला । जे भए पनी पानि पीइसके पछि धेरै मान्छेहरुले फाल्ने गर्छन र यसले एउटा फोहोरको रुप लिनु बाहेक यसको पुन : प्रयोग अरु केहिमा भएको पाइदैन । तर यो बोतललाई घरको कौशीमा गमला,ब्याग,काठको बाकस आदिमा लगाईएका फलफुल,तरकारीहरुमा पुन प्रयोग गरि थोपा सिंचाइको रुपमा उपयोग गर्न सकिन्छ । बोतलको तल वा पीधको भागमा सियोले ५/६ वटा साना साना प्वाल बनाउने अनि बोतलमा पानि हाल्ने,पानी हाली सकेपछि बिर्कोले बोतल बन्द गर्ने,त्यस पछि सो बोतललाई गमला,ब्याग जहाँ फलफुल,तरकारी लगाईएको छ त्यहाँ करिब ३ इन्च जति गाडिने गरि बोतललाई गाड्नु होस् ।यस पछि बिरुवाले नियमित आफुलाई चाहिने मात्रामा पानी लिने गर्छ,यसो गर्दा न पानीको ओभर फ्लो हुने चिन्ता न बिरुवामा दैनिक पानि हाली राख्ने झन्झट। यो बिधि सहर अनि गाउँमा उत्तिकै प्रभाबकारी हुन्छ जहाँ पानीको अभाब छ ।

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !