Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » कोरियाबाट नेपाल फर्कि सफल उद्यमी बन्नेहरुको आत्मकथा

कोरियाबाट नेपाल फर्कि सफल उद्यमी बन्नेहरुको आत्मकथा

नेपालीहरु विदेशीने क्रम तीब्र छ । बैधानिक तवरले विदेशिनेहरुको कारण त्रिभुवन विमानस्थलमा दैनिक पाइला राख्ने ठाउँ हुदैन । यसरी दैनिक हजारौंको संख्यामा विदेश पलायन भएका युवाको कमाई र सीपको केही प्रतिशत मात्रै नेपालमा प्रयोगमा आएको तथ्यांक देखिएको छ ।

नेपालको अर्थतन्त्रको मुख्य हिस्सा नै रेमिटयान्सले धानिरेहको बेला भने अब युवाहरु विदेश गएर पैसा मात्रै कमाउने नभई त्यहाँको सीप र श्रमलाई नेपाली धर्तीमा प्रयोग गर्दा विदेशमा भन्दा बढी कमाउन सकिने प्रमाणित गर्न थालेका छन् ।

प्रसङ्ग हो दक्षिण कोरियाको । जहाँ हजारौं युवाहरु ईपीएस प्रणालीमार्फत वर्षेनि जाने गरेका छन् । कोरियामा नेपाली युवायुवतीले मासिक करिब डेढ लाखसम्म कमाउने गरेका छन् । अधिकांश युवाले मेसिनले झै दिनरात गरेर कोरियामा कमाएको पैसा नेपालमा घरखर्चमै सिद्धिने गरेको देखिन्छ ।

तर पछिल्लो समय केही युवाको कोरियन कमाई र सीपलाई नेपालमा प्रयोग गरी लाखौं कमाउने गरेको एउटा गुणात्मक (क्वालीटेटीभ स्याम्पलींग मेथड) नमूना छनौट पद्धतिले देखाएकोछ । कामदारको रुपमा कोरिया गई स्वदेश फर्केर सफल मान्छे बन्न सफल भएकाहरुले शुक्रबार काठमाडौंमा आफ्नो सफलताको कथा सुनाए ।

उनीहरुको सत्य कथाले प्रस्ट पार्दथ्यो की कोरियन कमाई र सीपको संयोजनले नेपालमै लखपती बन्न सकिन्छ । यसरी कोरियाबाट फर्की नेपालमा सफल उद्यमी तथा सफल मान्छेको रुपमा स्थापित भएकाहरुलाई दक्षिण कोरियाको मानवसंसाधन विकास (एचआरडी)को इपीएस कोरिया सेन्टर, ग्वार्कोले सम्मान समेत गरेको छ ।

सेन्टरका निर्देशक लि दोङ सिर्क र ईपीएस नेपाल प्रमुख डिल्ली बास्तोलाले प्रमाणपत्रसहित ५ जना सफल उद्यमीलाई सम्मान गरेका हुन् । कोरियामा सिकेको सीप, मिहनेत, इमान्दारिता र कमाईलाई नेपालमा प्रयोगगरी सफल उद्यमी बनेर उदाहरणीय काम गरेकोमा उनीहरुलाई सम्मान गरिएको निर्देशक सिर्क बताउँछन् ।

सफल उद्यमीको रुपमा सेन्टरले आयोजना गरेको आत्मकथा लेखन प्रतियोगितामा उत्कृष्ट पोखराका हरिप्रसाद धमाल (प्रथम), काठमाडौका मिनोद मोक्तान (द्धितिय), काठमाडौंका नवराज भण्डारी (तृतीय) र नवलपरासीका रामकान्त अर्याल (तृतीय) भएका छन् ।

यसैगरी समाजिक योगदानतर्फ भैरहवाका गम्भीर गुरुङ सम्मानित भएका छन् । सफल उद्यमीहरुको आत्मकथाले दक्षिण कोरियामा भन्दा नेपालमै ५० हजारप्रति महिना बढी आम्दानी गर्न सफल प्रमाणित गरेको छन् ।

यस्तो थियो कोरियाबाट नेपाल फर्कि सफल उद्यमी बन्नेहरुको आत्मकथाको मुख्य अंश
भैरहवाका गम्भीर गुरुङ ९ वर्ष दक्षिण कोरिया कामगरी नेपाल फर्केका हुन् । उनी कोरियाबाट फर्केपछि भैरहवामा बोर्डिङ स्कुल र काठमाडौमा कृषि क्षेत्रमा लगानी गरेका छन् । गुरुङ भन्छन्, “मैले कोरियामा कमाएको पैसा र सीपलाई स्वदेशमा लगाए जसले मलाई अहिले कोरियाको भन्दा बढी कमाई र इज्जत दिएको छ ।”गुरुङले सञ्चालन गरेको फ्युचर लाइट बोर्डिङ स्कुलमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारका सन्ततीलाई छात्रवृति प्रदान गरेका छन् ।

गुरुङले कोरियामा कामगरी नेपाल फर्केकाहरुको सहकार्यमा नेपाल कोरिया विकास परिषद पनि गठनगरी सामाजिक काम गरेका छन् । ३ वर्ष दक्षिण कोरियामा एयरलायन्समा लन्ड्री काम गरेका गुल्मीका होमनाथ भट्टराईले ट्राभल एजेन्सी र गोरखामा गाई फर्मको व्यवसायमा लगानी गरेका छन् ।

कोरियाबाट सिकेको सिप र पुँजी उपयोग गरी व्यवसायी गर्दा राम्रो आम्दानी हुने गरेको अनुभव भट्टराईको छ ।“कोरियामा मासिक १ लाख ५० हजार रुपियाँ कमाई हुन्थ्यो”, उनी थप्छन्, “यहाँ व्यवसायबाट मासिक २ लाख जति नाफा हुन्छ ।”विदेशमा कामदार भएर तल्लोस्तर पदमा वस्नुपर्दथ्र्याे, यहाँ मालिक भएर काम गर्न पाउँदा आनान्द भइरहेको भट्टराई बताउँछन् ।

भट्टराई काठमाडौको ठमेलमा जे भिल नेपाल ट्राभल र ट्रेकिङ एजेन्सी छ । गोरखामा जग्गा लिजमा लिएर गाई फर्म सुरु गरेका छन् । “सन् २००७ देखि व्यवसाय लगानी सुरु गरेको हुँ”, उनी भन्छन्, “मेरा ग्राहक पनि कोरियन नै हुन् ।” भूकम्पछि भने पर्यटक घटेकाले व्यापार केही खस्केको उनी बताउँछन् । गुल्मीकै रामकान्त अर्याल नवलपरासीमा पोल्ट्री फर्म र रियलस्टेट व्यवसाय गरेका छन् ।

उनले रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत कोरियामा ५ वर्ष काम गरे । “कोरियाको कमाईलाई व्यवसायमा लगानी गरे” उनी थप्छन्, “कमाई राम्रो छ ।”कोरियामा गार्मेन्ट काम गरेका काठमाडौंका नवराज भण्डारीले झोला उद्योग खोलेर रोजगारी सृजना गर्नुका साथै राम्रो आम्दानी गरेका छन् । उद्योगबाट ३० जनाले रोजगारी पाएका छन् ।

“काठमाडौको कालोपुलमा सनराइज ट्रेडर्स झोला व्यवसाय ४० लाखबाट सुरु गरेको थिएँ, अहिले वार्षिक कारोबार नै डेढ करोड रुपियाँ पुग्छ”, १० वर्ष कोरिया बसेका भण्डारी भन्छन्, “यो दक्षिण कोरियाको सिप र पुँजीको उपज हो ।”झोला उद्योगमा ताइवानको कच्चा पदार्थ प्रयोग गर्ने गर्छन् । “केही स्पेशल झोलाको अर्डर आउछ” भण्डारी भन्छन्, “त्यसले व्यापार झन् बढाउँछ ।” कोरियाभन्दा यहाँ राम्रो कमाई हुने गरेको उनी बताउँछन् ।

पोखराका हरिप्रसाद धमाल उच्च गुणस्तरका बाथ टव, झयाल र ढोका उत्पादन उद्योग खोलेका छन् । “उद्योगबाट राम्रो कमाई हुन थालेको छ” ४ वर्षदेखि पोखरामा व्यवसाय गरेका धमाल भन्छन्, “अझै विस्तार गर्ने योजनामा छु । वार्षिक कमाई ५०–६० लाख रुपियाँ हुन्छ ।”भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि कोरियाबाट कच्चा पदार्थ ल्याउने तयारी रहेको धमाल बताउँछन् ।

“विनाशकारी भूकम्पका कारण भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्छ भन्ने सोच विकास भइसकेको छ” उनी भन्छन्, “त्यही कारण डाँडाका भूकम्प प्रतिरोधात्मक घर बनाउने योजना छ । मिनोद मोक्तान पनि काठमाडौमा रेष्टुरेन्ट, इन्स्टीच्युट र समाजसेवा व्यवसाय गरेका छन् ।

कोरियामा गार्मेन्टमा ६ वर्ष काम गरेर फर्केका भैरहवाकै उमेश थापा लाटोमगरले भैरहवामा कोरियन कलेक्सन हुदैं अहिले रेन्बो कलर हाउस सन्चालन गरेका छन् । कोरियामा कमाएको रकम मध्ये शुरुमा २५ लाख लगानी गरेर व्यवसाय गरेका उनले भने, “कोरियाले मेहनत र इमान्दारीता सिकायो । म अहिले जे छु सन्तुष्ट छु । २, ४ जनालाई रोजगारी पनि दिएको छु


ईपीएसद्धारा ५ उद्यमी सम्मानित
दक्षिण कोरियाको मानव संशाधन विकास (एचआरडी)को ईपीएस कोरिया सेन्टरले आत्मकथा लेखन प्रतियोगितामा उत्कृष्ट ५ जना उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । शुक्रबार सेन्टरका निर्देशक लि दोङ सिर्कले प्रमाणपत्रसहित ५ जना उद्यमीलाई सम्मान गरेका हुन् ।

कोरियाबाट फर्केपछि आफूलाई स्वदेशमा स्थापित गराउन सफल ५ उद्यमीको आत्मकथा लेखनबाट छनोट गरी सम्मान गरेको हो । “कोरियामा गएर पैसा कमाउने मात्र होइन, स्वदेशम सीपलाई स्थापित गर्नुपर्छ,” निर्देशक सिर्कले भने, “यो नेपाली कामदारले गरेका छन् ।”  पोखराका हरिप्रसाद धमाल (प्रथम), काठमाडौंका मिनोद मोक्तान (द्वितीय, काठमाडौंका नवराज भण्डारी (तृतीय) र नवलपरासीका रामकान्त अर्याल (तृतीय) भएका छन् । सामाजिक योगदानतर्फ भैरहवाका गम्भीर गुरुङ सम्मानित भएका छन् । 

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !