Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » , » कोरियाको सीपले नेपालमा करोडपती बनेका सफल युवा । भिडियो सहित

कोरियाको सीपले नेपालमा करोडपती बनेका सफल युवा । भिडियो सहित

भारतीय सेनाको जागिर छाडी कमाउनकै लागि कोरिया छिरे । सुरुका केही वर्ष पैसाकै लागि मरि मेटे । उनलाई लाग्यो, अब यतै सीप सिकेर नेपाल फर्केर केही काम गर्नुपर्छ । दक्षिण कोरियाको ठूलो बंगुर फार्ममा उनले काम गरे । फर्केर खेती किसानी नै गर्ने सोचमा थिए उनी, अर्थात् स्याङ्जाको कोल्मा ओरस्टेका छ्यामबहादुर थापा ।
नेपाल फर्कने बेलामा बंगुर फारमका मालिकसँग उनले सल्लाह मागे ।

“हाम्रो देशमा बंगुर पाल्नेलाई राम्रो मान्दैनन, म गाउँ गएर बाख्रा पाल्छु ।” यो सुनेर ती मालिक मज्जासँग हाँसे र भने, “छ्याम तिमीले व्यवसाय नै गर्ने हो भने बंगुर पाल बाख्रा हैन ।” छ्यामले कारण सोधे । उत्तर सहज थियो । “एउटा बाख्रा एक वर्षमा बढीमा दुई पटक ब्याउँछ, बढीमा एक बेतमा दुईवटा पाठापाठी पाउँछ । एउटा बोको वा खसी एक वर्षमा धेरै भए ३० किलो हुन्छ । लगानी अनुसार प्रतिफल लिन गाह्रो पर्छ । उता एउटा बंगुर एक वर्षमा तीन पटक ब्याउँछ । एक बेतमा कम्तिमा आठवटा बच्चा पाउँछ । एउटा बच्चा छ महिनामा ८० देखि एक सय किलो हुन्छ, ल तिमी नै भन नाफा के गर्दा हुन्छ ?”

बंगुर फारमका मालिकको भनाइबाट प्रभावित भएका छ्याम जसै नेपाल फर्के उसै लेखनाथको रिठेपानीमा जग्गा किनेर दुईवटा बगुंरबाट ब्यवसाय थाले । विदेशमा पाँच वर्षसम्म सिकेको सीप उनले भरपुर प्रयोग गरे । एक पछि अर्को सफलता मिल्दै गयो, अहिले उनको फारममा साना ठूला गरी एक हजार आठ सय बंगुर छन् ।
उनको रहर यतिमै पुगेको छैन, फारमको क्षमता दुई हजारको छ, अबको तीन महिना भित्रमा उनले फारम पूर्ण क्षमतामा संचालनमा ल्याउनेछन् । भन्छन्, त्यसपछि बल्ल नियमित रुपमा राम्रो कमाइ हुने आशा लिएको छु । लेखनाथ २ रिठ्ठेपानीमा १३ रोपनी जग्गा किनेर २०६३ सालबाट पोखरा लाइभस्टक प्रालि संचालनमा ल्याएका हुन् । अहिले वरिपरी ५० रोपनी भन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती पनि गर्दै आएका छन् ।
सुरुका केही वर्ष काम मन्द गतिमा भए पनि अहिले भने उनीहरु आफ्नो ब्यवसाय अझै बढाउने सुरुमा लागेका छन् । दुईवटा माउबाट काम थालेको हो, अहिले एक सय ८० भन्दा बढी माउ छन्, दुई सय भन्दा बढी माउ पुर्उने लक्ष्य हो, त्यति गर्न सकियो भने माग पुरा गर्न सकिन्छ होला, छ्याबहादुरले भने । फारममा छिरेर अवलोकन गर्दा लाग्छ, यो अस्पताल नै हो कि जस्तो ।

एकतिर प्रसुति कक्ष छ, जहाँ गर्भवती माउले बच्चा जन्माउँछन् । छाउराका लागि अलग्गै कक्ष, गर्भवती भएलगत्तै राख्ने अर्को कक्ष, भाले र वयस्कलाई राख्ने अर्को कक्ष । उमेर र अवस्था अनुसार बंगुरलाई आहर चाहिन्छ र त्यही अनुसारको आराम र तापक्रम पनि । जस्तै गर्भवती माउलाई खुल्ला स्थानमा छाडिदियो भने असर पर्ने भएकाले चल्लन नमिल्ने साँघुरो स्थानमा राख्नुपर्छ र खाना पनि अरु बेला भन्दा पौष्टिक दिनुपर्छ ।
अहिले ठूला/ठूला आठवटा खोर छन् । भूकम्पपछि बजारमा मासुको माग घटेको छ । दैनिक तीन/चारवटा बंगुर, थप चारवटा खोर बनाएर दुई हजार भन्दा बढी बंगुर पाल्ने योजना उनीसंग छ । त्यसका लागि खोर बनाउने काम सुरु भइसकेको छ । अहिले दिनमा दुई/तीनवटा भन्दा बढी बंगुर बजार पठाउन सकिंदैन, दिनमा १० वटा भन्दा बढी बंगुर बजार पठाउन सकेको खण्डमा आम्दानी राम्रो हुने उनले बताए ।

अहिले सबै खर्च कटाएर मासिक सरदर डेढ लाख रुपैयाँ आम्दानी हुन्छ । अहिले बंगुर फार्ममा उनीहरुले तीन करोड रुपैयाँ भन्दा बढी लगानी गरिसकेका छन् । छ्यामले भने, ठूलो लगानी हामीले गरिसकेका छौं, अब बंगुरको संख्या थपे पनि लगानी त्यति धेरै थप्नु पर्दैन्, राम्रै कमाइ हुने आशामा छौं । कोरियाको प्रविधिको प्रयोग गर्दै उनले आधुनिक खोरमा योर्कसायर, लेनरेस, ड्युरोक र ह्यामसायर गरी चार जातका बंगुर पालेका छन् ।

बंगुरको स्वास्थ्यमा पनि उनीहरु बढी नै सचेत छन् । जन्मेलगत्तै आइरन, ४० दिनमा जुकाको औषधि, दुई महिनापछि स्वाइनफ्लुको औषधि, त्यपछि खोरेतको सुरइ र टेपवर्मको औषधि दिए पनि बंगुर पूर्ण रुपमा रोगमुक्त हुन्छ । बजारमा बंगुरको मासु स्वस्थकर हुन्न भन्ने हल्ला बढी चलेको हुन्छ, हामी यसमा सचेत भएकाले हाम्रो उत्पादनमा कुनै शंका गर्नु पर्ने ठाउँ छैन, उनले भने ।

स्थानीय बजारमा मात्र बंगुर र बंगुरको मासु बेच्दै आएका उनले पोखराकै पर्यटकीय क्षेत्रमा भने मासु पुर्‍याउन सकेका छैनन । विदेश निर्यात त कुरै छाडौं । एउटा बंगुर सात महिनामा सरदर एक सय किलोको पुगेपछि मासुका लागि उपयुक्त हुन्छ । धेरै उमेर र तौलको बंगुर मासुको लागि उत्तम नहुने र पाल्न पनि बढी खर्चिलो हुन्छ । बजारमा खसी, कुखुराको जस्तो निश्चित भाउदर बंगुरको मासुको नभएको उनीहरुले बताएका छन् ।
घरायसी रुपमा फ्याकिएको खाना खुवाएर पालिएका बंगुर र यसरी अत्याधुनिक तरिकाले पालिएका बंगुरबीच तुलना हुनै सक्दैन, छ्यामले भने । काटेको मासु प्रतिकिलो तीन सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।
मासु बिक्रीको लागि उनीहरुले बुद्धचोकमा अत्याधुनिक वधशाला संचालन गरेका छन् । सुरुमा परम्परागत रुपमै काटिए पनि टुक्रा पार्नका लागि स्लाइस मेसिनको प्रयोग गरिन्छ । आवश्यकता अनुसारका टुक्रा पार्न, हड्डी र मासु छुट्याउनका लागि कोरियाबाटै झिकाइएको मेसिन प्रयोग गरिएको छ ।

राष्ट्रपति पुरस्कारले हौस्यायो
यी मेहनती र उद्यमशील किसान छ्यामबहादुर थापाले हालै मात्र राष्ट्रपति उत्कृष्ठ किसान पुरस्कार पनि हात पारे । कास्की जिल्लाका उत्कृष्ठ पाँचमा छनोटमा परेका उनी पश्चिमाञ्चल क्षेत्रमात्रै नभएर नेपालकै पाँच उत्कृष्ठमा छानिएर एक लाख रुपैयाँ नगद पुरस्कार पनि हात पारे ।
भन्छन्, “लेखनाथका कुनामा मैले काम गरेको कसैले थाहा पाएका छैनन जस्तो लाग्थ्यो, मिडियाले प्रचार गरिदिएका छन् । अहिले त पुरस्कार नै हात लाग्यो, म त निकै हौसिएको छु ।” यी उत्कृष्ट किसानको फारमबाट मासुका साथै फारमबाट बर्सेनी दुई हजार भन्दा बढी पाठापाठी बिक्री हुने गरेका छन् । जन्मेको ४० दिनपछि एउटा पाठाको चार हजार पाँच सय रुपैयाँ पर्छ । पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्मका मानिस पाठापाठी किन्न आउने उनले बताए ।

आफ्नै दाना उद्योग
बंगुर निकै खन्चुवा पशु भनेर चिनिन्छ । तर छ्याम यसलाई नकार्छन् । पौष्टिक तत्व कम भएको खाना दिए बंगुरले जति पनि खान्छ । तर भिटामिन र प्रोटिनको मात्र मिलाउन सके थोरै दानाले पनि बंगुर अघाउँछ् ।
नेपालमा बंगुरका लागि उत्कृष्ठ दाना नपाइने भएकाले बारीमै फलेका तरकारी, साग, कुखुराको आन्द्रा मिसाइ पकाएर खुवाए । अहिले भने कच्चा पदार्थ बाहिरबाट ल्याएर फारमभित्रै दाना उद्योग संचालन गरेका छन् उनले । मकै, गहुँ भट्मास, सिद्रालगाउयतका सामग्रीबाट बनाएको दाना आफूले पालेका बंगुरलाई पु¥याएर अन्यत्र बेच्ने समेत गरेका छन् । बंगुरको मल प्रयोग गरेर नजिकैको जग्गामा अर्गानिक खेती लगाउने योजनामा थापा छन् । दाना पकाउन र पानी तताउन उनले बंगुरकै दिसाबाट गोबरग्यास बनाएका छन् ।
अहिले सो फारममा १६ जना कामदार छन् । भारतीय सेनामा भर्ती भएको चारवर्षपछि छाडेर कोरिया छिरेका ४७ वर्षे छ्याम थापालाई र भाइ राजुको साथ छ । उद्यमशीलता र सिपका कारण अहिले स्वदेशमा नै उदाहरणीय काम गरेकोमा सन्तुष्ट छन् ।

बंगुरमा कृत्रिम गर्भधारणको तयारी
नेपालमा गाईभैसीमा कृत्रिम गर्भाधारण गरिए पनि बंगुरमा भने प्रचलनमा छैन । छ्यामबहादुर थापाले संचालन गरेको पोखरा लाइभस्टक प्रालिले अब यसको तयारी थालेको छ । गुणस्तरीय उत्पादनका लागि कृत्रिम गर्भाधारण प्रणाली प्रभावकारस् हुने उनको सोच छ ।
एक गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा कृत्रिम गर्भाधारणका लागि प्रयोगशाला कक्ष निर्माण भइरहेको छ । केही सामान पनि विदेशबाट आइसकेको उनले बताए । अमेरिकाबाट ल्याएको बंगुरको बिर्य यहीका पोथीमा प्रयोग गरी हाइब्रिड जातको बंगुर उत्पादन गरी त्यसैको बिर्य निकालेर कृत्रिम गर्भाधारणको लागि प्रयोग गरिने छ । यसका लागि ५० लाख भन्दा बढी लगानी हुन्छ ।

आधुनिक बधशाला
ठूलो ज्यानको बंगुर मार्न नेपालमा निकै पुरानो प्रविधि प्रचलनमा छ । घनले टाउकोमा हान्ने वा भालाले पेटमा रोपेर मार्ने । यसो गर्दा मासुको गुणस्तरमा कमी त आउँछ । त्यति मात्र नभएर बंगुरलाई निकै सास्ती पनि हुन्छ । आफू मर्नु अघि त्रासमा भएको पशुको मासु पनि गुणस्तरको हुँदैन ।
अनि पशु अधिकारको पनि कुरा आउँछ । छ्यामले भने अब आफ्नै फारमभित्र स्लटर हाउस बनाउँदैछन् । जसमा मेसिनले नै बंगुरको बध गर्नेछ । रगत बगेर सकिएपछि शरिरको सरसफाई मेसिनकै सहारमा हुनेछ । यसका लागि चिनिया मेसिनको लागि अर्डर पनि भइसकेको छ । स्लटर हाउस बनेपछि प्लाष्टिक प्याकिङ र ससेज बनाउने तयारीमा समेत उनी छन् ।

  • साझा सवालमा छ्याम थापासँग गरेको कुराकानीको भिडियो 

लिंक: https://youtu.be/kaazhw234jE



  • नेपाल टुडेले छ्याम थापासँग गरेको कुराकानीको भिडियो 




लिंक: https://youtu.be/7jXJW7IWRNY

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !