Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » » ७ प्रकारका पशुऔषधि र प्राथमिक उपचार निःशुल्क

७ प्रकारका पशुऔषधि र प्राथमिक उपचार निःशुल्क

काठमाडौं, ९ वैशाख – आधारभूत उपचार नपाएर पशुपन्छी मर्दा कृषकलाई हुने क्षति न्यूनीकरण गर्न पशुपन्छी उपचार व्यवस्थित गर्ने योजना सरकारले ल्याएको छ । पशुपन्छी विकास मन्त्रालयले प्राथमिक उपचारका लागि प्रयोग हुने सात प्रकारका औषधि जिल्ला–जिल्लामा पु¥याउने घोषणा गरेको छ ।

मन्त्रालयले पशुपन्छी उपचारका लागि प्रयोग हुने क्लोरोफेनेरामाइन मिलेट नामक एन्टिएलर्जिक औषधि, ज्वरो निको पार्ने मेलोक्सिकम र पारासिटामोल, पखाला लागेको निको पार्ने कोट्रिमोक्साजोल र मेट्रोन्डाजोल झोल÷ट्याब्लेटलगायत औषधि सित्तैंमा उपलब्ध गराउने व्यवस्था मिलाउन लागेको छ ।

पशुले विषालु घाँस खाएको वा अन्य कुनै विष खाएको निको पार्ने एट्रोपिन सल्फेट इन्जेक्सन (विष निवारण) र कब्जियत निको पार्ने लेक्जेटिभ÷पार्गोटिभ म्यानेसियम सलफेट पनि अब निःशुल्क उपलब्ध हुनेछ । बाह्य परजिवी किर्ना, जुम्रा आदि नियन्त्रणमा प्रयोग हुने औषधि पनि अब कृषकले किन्नुपर्ने छैन ।

हाल निःशुल्क वितरण हुँदै आएको प्राथमिक उपचारका लागि उपयोग हुने पोभेडिन, टिन्चर आयोडिन, टिन्चर बेन्जोइन, कपास, ब्यान्डेज, घाउ निको पार्ने क्रिम, टर्पेन्टायन तेल, फिटकिरी र बोरेक्स पाउडरलगायत घाउ ड्रेसिङमा प्रयोग हुने औषधिको मात्रा पनि बढ्ने भएको छ ।  हाल कतिपय औषधि निःशुल्क पाइने भए पनि जिल्ला पशु सेवा कार्यालयमै नपुग्ने र सेवा केन्द्रसम्म निकै न्यूनमात्र पुग्ने समस्या छ । पशुपन्छीको कम्तिमा प्राथमिक उपचार निःशुल्क गर्न सके पनि मृत्युदर कम हुने र कृषकको घाटा कम हुने विश्वास मन्त्रालयको छ ।

पशुपन्छी मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौड्यालले हाल उपलब्ध घाउ खटिरा निको पार्नेलगायतका औषधिको मात्रा बढाउने र थप औषधिको पनि मात्रा बढाएर जिल्लामा पठाउने गरी बजेट तयारी भइरहेको बताए । मन्त्रालयले औषधिका लागि बजेट बढाउने र स्थानीयस्तरमा गाउँ विकास समितिबाट कृषिलाई उपलब्ध हुुने स्रोतको समेत औषधि खरिद गर्ने व्यवस्था मिलाउने उनले जानकारी दिए ।

मन्त्रालयले विगतमा तराईमा दुई लाख, पहाडमा साढे दुई लाख र उच्च पहाडमा तीन लाख रुपैयाँका दरले वार्षिक रूपमा पशुपन्छीको औषधिका लागि जिल्लालाई बजेट पठाउँदै आएको छ । अबदेखि पशुको घनत्वका आधारमा निःशुल्क परामर्श तथा प्राथमिक उपचारका औषधि उपलब्ध गराउने योजना रहेको प्रवक्ता पौड्यालले बताए । “दुर्गम गाउँमा पशु स्वास्थ्य शिविर चलाउने र शिविरमा पनि निःशुल्क सेवा उपलब्ध गराएर स्वास्थ्य केन्द्रसम्म पहुँच नभएको क्षेत्रमा पनि सेवा पु¥याउने योजना छ,” उनले थपे ।

निःशुल्क औषधि पर्याप्त मात्रामा उपलब्ध हुनु कृषक र पशु प्राविधिकलाई पनि खुसीको कुरा हुने स्थानीय तहमा कार्यरत पशु प्राविधिक बताउँछन् । “सेवा केन्द्रमा हाल उपलब्ध हुने निःशुल्क औषधि निकै कम मात्रामा उपलब्ध हुने समस्या छ,” पशु सेवा केन्द्र तेतरिया मोरङका पशु सेवा प्राविधिक दामोदर आचार्यले भने, “कतिपय कृषक ‘औषधिबिनाको सल्लाहमात्र दिने भए तिमीहरू कार्यालयमा किन बसेको ?’ पनि भन्छन् ।”

निःशुल्क उपलब्ध औषधि
घाउ ड्रेसिङ गर्ने : पोभेडिन, टिन्चर आयोडिन, टिन्चर बेन्जोइन, कपास, ब्यान्डेज, घाउ निको पार्ने क्रिम, टर्पेन्टायन तेल, फिटकिरी र बोरेक्स पाउडरलगायत
ज्वरो निको पार्ने औषधि : मेलोक्सिकम, पारासिटामोल
एन्टिएलर्जिक : क्लोरोफेनेरामाइन मिलेट
छेरौटीको औषधि : कोट्रिमोक्साजोल, मेट्रोन्डाजोल झोल/ट्याब्लेट
बहुउपयोगी : एट्रोपिन सल्फेट इन्जेक्सन (विष निवारण)
कब्जियत निको पार्ने (लेक्जेटिभ/पार्गोटिभ) : म्यानेसियम सलफेट
बाह्य परजिवी किर्ना/जुम्रा नियन्त्रणमा प्रयोग हुने औषधि

पशुपन्छीको संंख्या
किसिम    संख्या (लाखमा)
गाईगोरु    ७२
भैंसी    ५१
भेडाबाख्रा    ११०
कुखुरा    ४५०
जम्मा    ६८३

स्रोतः पशुपन्छी विकास मन्त्रालय

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !