Receive all updates via Facebook. Just Click the Like Button Below

Powered By Blogger Widgets

Home » , » ह्याचरीमा तीन अर्व रुपैयाँ लगानी?

ह्याचरीमा तीन अर्व रुपैयाँ लगानी?

नवलपरासी। चितवन छाडेर २० किलोमिटरजति पार गर्दै महेन्द्र राजमार्गलाई छाडेर नारायणीको किनार पछ्याउँदै केही भित्र पुगेपछि एउटा ठूलो कम्पाउन्ड अगाडि रोकिन्छ - ल्यान्ड क्रुजर। त्यसमा हामी छौं र हामीलाई यात्रामा लैजाँदैछन् गुणचन्द्र विष्ट।

गाडीका सौखिन उनी अविनाश समूहका अध्यक्ष हुन् र हामीलाई आफ्नो ह्याचरीतिर लैजाँदै छन्। कुनै भव्य रिसोर्टको सम्भावना रहेको नारायणी किनारमा रहेको उनको एउटा महत्वकांक्षी प्रोजेक्ट हेर्दैछौं हामी।

गेट खुल्यो। अगाडि पानी जमेको बाटो रहेछ। बाटोमाथि ढकनी झै जालि राखिएको थियो। चर्को गर्मीमा वातानुकुलित यात्रामा रहेका हामी चढेको गाडी पानी पार गर्दै हिड्यो। टायर जमिनको पानीमा रहँदा हामी चढेका गाडीको माथिको भागमा स्प्रे भइरहेको थियो। यो भाग कट्दा बा १२ च ३१६६ नम्बरको गाडी भिजिसकेको थियो।

‘बायो सेक्युरिटीका लागि यसको प्रयोग भएको हो,’ हामी अनौठो मानिरहँदा गुणचन्द्र विष्टले सुनाउँदै थिए। २८ विगाहमा फैलिएको कम्पाउन्डभित्र हामी छिरिसकेका छौं। यहाँ छन् लामा लामा कुखुराका खोरहरु। हामी गाडीबाट उत्रियौं। त्यसपछि गाडीमाथि जसरी स्प्रे भएको थियो हामीमाथि पनि हुने रहेछ।


गुगल म्यापबाट लिइएको तस्वीर

सतहमा पानी टेक्दै करिब ५ मिटर दुरी पार गर्दा हामीमाथि अटोमेटिक प्रविधिबाट स्प्रे भइरह्यो। टाउकोदेखि पैतालासम्म हामीलाई स्प्रे गरिएको थियो।

एउटा ह्याचरीको कम्पाउन्डभित्र गाडी र हामीलाई ‘शुद्ध’ बनाइँदै थियो। त्यसपछि पालो रह्यो कुखुरा पालन भएको ठाउँ छिर्ने र चल्ला उत्पादनको प्रकृया हेर्ने।


‘त्यहाँ हात डुबाएरमात्र अगाडि जानुस्,’ ढोका नजिकै राखिएको बाटा देखाउँदै विष्टले भने।
हामी हात डुबाउँदै भित्र छिर्‍यौं। ‘अस्पतालको आइसीयु छिरेभन्दा चर्को भयो त!’

‘लगाएको लुगामाथि एउटा सबैले प्रयोग गर्ने गाउन र त्यही मिल्काइएको जुत्ता लगाएर कहीँ हुन्छ?’ अस्पतालका आइसीयुमा रहेको चलनलाई व्यङ्ग्य गर्दै उनले भने, ‘यहाँ त कामदारले छिर्ने बेलामा नुहाएर भित्रको लुगा लगाएरमात्र काम गर्न पाउँछन्।’

हामीले आज जति प्रकृया पूरा गरेर यहाँ पुगेका छौं त्यो सबै कामदारले हरेक दिन पूरा गर्नुपर्छ। यहाँ आउने कामदारले कुखुरा र चल्लाको संगत गर्दा नुहाएर मात्र भित्र छिर्न पाउँछन्। ‘बायोलोजिक सुरक्षाका चरणहरु हामीले जीवनमा पहिलो पटक पार गरिरहेका थियौं।’

अटोमेसन संरचना  

कुखुराको हरेक खोरअगाडि ठूला र अग्ला भकारीहरु। ती भकारी हुन् कुखुराको दानाका लागि। यहाँ ट्रकबाट ल्यइएका दाना सोझै भकारीमा राखिन्छ। र, कम्प्युटरको कमाण्डबाट कुखुराको खोरभित्र पठाइन्छ। दाना र पानी पाइप मार्फत् कुखुरा रहेकै ठाउँमा पुग्छ। दाना पानीको व्यवस्थापन कम्युटराइज्ड नै छ। कुखुरालाई दाना र पानी हाल्न मानिसले हात लगाउनै नपर्ने रहेछ यहाँ।

हामी एउटा खोरको ढोकाबाट भित्र छिर्‍यौं। भित्र बेपत्ता हावा चलेको थियो। चल्ला हुर्काउँदै गर्दा आवश्यकताअनुसारको तापक्रममा हावा भित्र पठाउने र निकाल्ने प्रविधिको प्रयोग यहाँ भइरहेको थियो।

अन्डाबाट कुखुराको चल्ला उत्पादन गर्ने मेसिन यहाँ चौविसै घन्टा चलिरहन्छ। कुखुरा हुर्काउनदेखि अन्डाबाट चल्ला कोरल्न समेत ‘इन्भायरोमेन्ट कन्ट्रोल सिस्टम’ प्रयोगमा छ। र हरेक एक/एक घन्टाको अन्तरालमा अन्डाहरु एउटाबाट अर्को भागतिर ढल्किरहने गर्छ। ठूला ठूला केसमा राखिएका अन्डाहरु वातानुकुलित मेसिनभित्र राखिएका थिए जसलाई कम्प्युटराइज्ड सिस्टमबाट संचालन गरिने रहेछ।

अटोमेसनले ल्याएको परिवर्तन

यहाँ उत्पादन हुने चल्ला मानिसले नछोइ नै तयार भएर निस्किन्छ। अटोमेसन प्रयोग भएपछि २ लाख कुखुरा उत्पादनका लागि ६० जना कामदार भए पुग्छ। जवकि पुरानै तरिकाले उत्पादन गर्ने हो भने ४ सय मानिस यसमा खटिनुपर्छ।

‘यहाको क्षमताअनुसार दिनको डेढ लाख अन्डा चाहिन्छ,’ उनले सुनाए। पूर्ण रुपमा संचालन आउने हो भने वर्षमा ६ करोड अन्डा कोरल्न सक्ने रहेछ यसले। कुखुरा उत्पादनमा यहाँ प्रयोग हुने नयाँ प्रविधिले एउटा अन्डा उत्पादनमा हुने खर्चको आठ गुना बढ्ने रहेछ।

‘लगानी त बढ्छ तर त्यसले चल्ला बढी उत्पादन गर्छ र गुणस्तर पनि राम्रो हुन्छ,’ उनले भने। तत्कालका लागि ठूलो खर्च भए पनि दीर्घकालमा यसबाट राम्रो मुनाफा निसक्ने भएपछि विष्ट तातेका रहेछन्।

ह्याचरीमा अहिलेसम्मकै ठूलो लगानी 

यहाँभित्र करोडैका धेरै प्रविधिहरु प्रयोगमा छन्। सबै कम्प्युटराइज्ड भएकाले महँगा हुनु स्वभाविक नै हो। ह्याचरीमा ३ सय करोड अर्थात् ३ अर्ब रुपैयाँ!

‘इन्भेस्टमेन्ट बैंकसँग लोनको प्रकृया अघि बढ्दा राष्ट्र बैंकका कर्मचारीहरुले नै पत्याएका रहेनछन्। कुखुरापालनमा पनि यत्रो खर्च हुन्छ र भन्ने रहेछ उनीहरुमा,’ विष्टले भने, ‘यहाँ देखेपछि यो उद्योग के हो भन्ने थाहा पाए।’

यहाँ ६ महिनाअघि विश्वकै उत्कृष्ट पिटरसाइमका मेसिन प्रयोगमा ल्याइएको छ। ‘बेल्जियममा उत्पादन हुने यी स्वचालित मेसिनहरु भारतका केही फार्ममा मात्रै जडान भएका छन्,’ उनले भने।

यसकारण सस्तो र आत्मनिर्भर

गुणचन्द्र विष्टले जतिखेर चितवनमा ह्याचरीको थालनी गरे त्यतिखेर ७५ प्रतिशत चल्ला भारतबाट नेपाल भित्रन्थ्यो। बाँकी काठमाडौंमा उत्पादन हुन्थ्यो। पोल्ट्री व्यवसायमा मानिसहरु थिए तर न्युन।

‘थोरै कुखुरा पाल्ने अनि महँगो बनाएर बेच्ने चलन थियो,’ उनले विगत कोट्याए। नयाँ प्रविधि भित्र्याएर ह्याचरीलाई अगाडि बढाउन धेरैले धक मान्थे। तर, १२ वर्ष ओशोको कम्युनमा बसेर सन्यासी बनेका उनले त्यो परम्परालाई खण्डित गरे। काठमाडौंमा मात्र सीमित रहेको पोल्ट्री र ह्याचरी चितवनमा गजबले फस्टायो।


नयाँ प्रविधिको प्रयोग गर्दै उनले विश्वकै उत्कृष्ट मेसिनहरु नेपाल भित्र्याए। त्यसैको प्रतिफल हो – कुखुराको मासुमा आत्म निर्भरता र सस्तो मोल। यिनी पोल्ट्री व्यवसायी महासंघको अध्यक्षसमेत बने।

आफूले प्रयोग गर्ने प्रविधि अरुलाई पनि ल्याउन उक्साए। ‘धेरैलाई मैले सिकाएँ,’ उनले भने, ‘प्रतिस्पर्धा होला भन्ने चिन्ता मलाई थिएन जतिसक्यो जानुन् भन्ने थियो।’ त्यसैले उनले धेरैलाई यो व्यवसायको क्लास नै लिएर सिकाए। चितवन ह्याचरीको ‘हव’ बन्नुको मियो उनै रहे।

वातावरण मैत्री अभ्यास

उनका कुरा सुन्दै र ह्याचरी फार्म हेर्दै हामी एउटा ठूलो हलभित्र छिर्‍यौं। यहाँ सबै अटोमेटिक प्रविधि रहेछ। हामी अगाडि परेपछि ढोका खुल्यो। हामी अघि बढ्दै गएपछि बिजुली वत्ती पनि बल्दै गयो। त्योभन्दा पनि अनौठो त बाहिर ४१ डिग्री सेल्सियको तातो रहँदा भित्र चिसो।

कोरलिएका चल्ला यहाँ भेला पारिँदै थियो। काम गर्नेलाई सहज होस् भनेर उनले यहाँ ठूला कुलर र पर्याप्त हावा भित्रने र बाहिर निस्कने व्यवस्था मिलाएका रहेछन्। ‘म र एकजना पिटरसाइमको इन्जिनियरले डिजाइन गरेका हौं,’ उनले सुनाए। नयाँ प्रविधिका मेसिनको प्रयोगसँगै उनले इन्जिनियरहरुले तयार गरेका डिजाइनलाई आफ्नै सक्रियतामा मोडिफाइ गराएर काम गर्ने वातावरण सहज बनाएका रहेछन्।

चार क्षेत्र नम्बर १ खेलाडी

सबैभन्दा ठूलोमध्येको एक नेपाल ग्याँस विष्टकै कम्पनी हो। ग्याँस उद्योगमा यिनको बिजनेस १ नम्बरमै छ। त्यसबाहेक पोल्ट्री र ह्याचरीमा पनि यिनको सामुन्ने अरु कमजोर नै छन्। पूरा सञ्चालनमा नआउँदा पनि यहाँ दैनिक १ लाख चल्ला उत्पादन हुन्छ।

लेयर्स उत्पादनमा दोस्रो स्थानमा रहेको फार्म भन्दा दुई गुणा बढी क्षमता छ उनको ह्याचरीको।


ब्रोइलर कुखुरा उत्पादन गर्ने दोस्रो ठूलो पोल्ट्री फार्म भन्दा चार गुणा ठूलो छ उनको कम्पनी। ब्रोइलर चल्ला उत्पादनमा उनको कम्पनी अर्को वर्ष दोस्रो भन्दा आठ गुणा ठूलो हुँदैछ। दैनिक २ लाख अण्डा उत्पादन गर्ने क्षमता छ अविनाश ह्याचरीको।

अण्डा उत्पादनका लागि चितवनमै अविनाशको सात विघामा फैलिएको अर्को फार्म छ। कुखुराले अण्डा पारेपछि त्यसलाई कलेक्शन गर्ने, तौलअनुसार ग्रेड छुट्टयाउने र प्याकेजिङसम्म सबै अटोमेटेड छ।

‘पैसा कसले कमाएको छ वा छैन भन्ने सेकेन्डरी कुरा हो। राज्यमा योगदानको हिसाबले हामी धेरैमा नम्बर वान छौं,’ उनले भने, ‘व्यापार र दलाली गरेर पैसा कमाएर जति धनी भए पनि म मान्दिन। उद्योग गरेर कमाउनु ठूलो कुरा हो।‘

यो ह्याचरीमा अविनाश समूहको लगानी ६० प्रतिशत छ।

हिम्मत, हौसला र सफलता 

त्यसो त विष्टलाई यो व्यवसायबाट टाढिन मन नलागेको होइन। ‘एक पटक साझेदारले छाडेपछि यो व्यवसायबाट हात झिक्न चाहेको थिएँ,’ उनले सुनाए, ‘तर पछि मैले यसलाई अत्याधुनिक फार्म बनाएर दक्षिण एसियाकै नमुना बनाउने अठोट लिएँ र बन्यो पनि।‘

त्यही दौरान उनले नेपाल ग्याँस पनि किने। ग्यास व्यवसायमा आउन उनले समृद्धि ग्याँस दर्ता समेत गरेर राखेको थिए। जतिखेर उनले नेपाल ग्याँसमा हात हाले त्यहाँको अवस्था सुधार नै नहोला कि जस्तो थियो।

‘झन्डै लगिदे गाँड भन्दा थपिदे गाँड भनेको जस्तो भयो,’ उनले भने, ‘नेपाल ग्याँस सेतो हाती थियो। कम्पनी संचालन घाटामा थियो तर फिक्स्ड डिपोजिटमा भएको रकमले कर्मचारीले बोनस खान्थे। कम्पनीको खर्च अस्वभाविक थियो। मैले डेढ वर्षमा सुधार गरेँ र एक्सपान्सन समेत गरेँ। अहिले हाम्रो क्षमता १० हजार टन पुग्दैछ। त्यो पनि अत्याधुनिक र स्वचालित बनिसकेको छ।‘

फेरिएको सोच

उनको ह्याचरीबाट हामी उनकै गाडीमा चितवनतिर फर्किँदै छौं। उनले व्यवसायिक जीवनका किस्सासँगै जीवन र जगतमाथि ओशोका प्रसंगहरु पनि पस्किँदै थिए। ३ सय  करोड रुपैयाँमा यो क्षेत्रमा भएको लगानी र प्रविधिको बेजोड प्रयोगले हामीलाई पोल्ट्री र ह्याचरीमाथिको सोच बदलिसकेको थियो। अरु व्यवसायले झै नाकाबन्दी र भूकम्पको मार उनको यो क्षेत्रले पनि बेहोर्‍यो। त्यतिमात्र हो अरु थलिएर बसे यिनी जुटिरहे।


फर्किँदा उनी सुनाउँदै थिए – सबैभन्दा ठूलो दाना उद्योगबाट छिटै उत्पादन हुनेबारे। तर, उनी संलग्न दाना उत्पादन गर्ने उद्योगले उत्पादन गर्ने सबै दानाले पनि उनको यो प्रोजेक्टलाई धान्न नसक्ने रहेछ। पूर्ण रुपमा संचालनमा नआइसकेको र अझै नयाँ प्रविधि जोडिने क्रममा नै रहेको यो उद्योगमा विष्टको महत्वकांक्षा देख्दा हामी पनि उत्साही नभइ रहन सकेनौं।
साभार: विजमान्डु 

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ । धन्यवाद !